नेपालभित्रको भूटान

मणिराम धिमाल ‘दिपित’/ टेक्सास, अमेरिका

नेपालभित्र…
एउटा सानो भूटान छ
नपत्याए पूर्व झापा र मोरङ जाऔ
त्यहाँ छुटै परिवेश छ
स—साना छाप्राहरुले
नेपालभित्रको भूटान
सजिएको छ !

त्यहाँ …..
अधुरो र अपुरो जीवन छ
आशैआशाको सास जीवन्त छ
मर्न पनि कठिन छ
बाँच्न पनि कठिन छ
तर विवशता भोग्नु पर्छ
मरेर पनि बाँच्नु पर्छ
बाँचेर पनि मर्नु पर्छ
नेपालभित्रको भूटान यस्तै छ !

नेपाल …
युद्धग्रस्त छ
एकतामा अनेकता जन्मिएको छ
भाइभाइको युद्धले थर्कमान छ
म बलियो कि तँ बलियो भनेर
धर्तीको एउटा हिन्दु राष्ट्रलाई
कुरुक्षेत्र घोषणा गरिएको छ
युद्धको परिणाम भयवह छ
शरणार्थीको जन्म देशभित्रै
दिनानुदिन जन्मिरहेको छ !!

यतिखेर म …
नेपालभित्रको भूटान र
भूटानभित्रको नेपालबाट
बाहिरिएको छु
भूगोलको एक कुनाबाट
एउटा दिग्दिगान्तको कथा
कथाभित्र मानव मुटुहरुका
भयवह तस्वीरहरु
तस्वीरभित्र भूटान र भूटानीहरुको कथा
देश र माटोको कथा
जीवन र यात्राको कथा
अनि भूगोलभित्र भूटानीको जीवन कथा
कविताका हरफहरुमा लेख्दै छु !!

यतिखेर … म
अर्कै परिवेशका सजिएको छु
मानव भीडभित्र एक्लै उभिएको छु
सर्वश्व गुमाएर आफैं हराएको छु
विगत र वर्तमान दुवैलाई धिक्कारेको छु
अनि भूगोलको कुनाबाट
चित्राङ्कित मानव पीडाहरु
कविताका हरफहरुमा खिच्दै छु
अनि नेपालभित्रको भूटान र
भूटानभित्रको नेपाललाई
सधैं सगरमाथाझैं
आफ्नो अस्तित्वमा
बाँचिरहुँ भन्न चाहन्छु !!

One Reply to “नेपालभित्रको भूटान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *