परिचय धरातलमा
डा. लक्ष्मीप्रसाद ढकाल
आम्सटरडाम, द नेदरल्याण्ड
जब परिचय खोल्न
मञ्चमा खडा हुन पुग्दछु म
कठिन, आपत् अनि दोधार
महसुस गाह्रो यतिको अर्को हुँदैन ।
भूटानी म हुँ
भूटानी म थिएँ
भूटानी म बन्दछु
तिनै अवस्थाबिच एक
छान्न म आज सक्तिन ।
हुँ कसरी म भनौँ
थिएँ भन्न म कसरी आट गरौँ
बन्दछु पनि म के आधारले भनौँ
जब आशा भन्दा निराशा
खुसीभन्दा संकोच
उमङ्गको सट्टा क्लेश
देशको परिचयले मलाई दिन्छ ।
नेपाली म हुँ
नेपाली म थिएँ
नेपाली म बन्दछु
यी अवस्थाहरुबिचमा पनि
छान्न म एक सक्तिन ।
म होइन अनि म थिएँ
भन्ने तर्क हुन सक्तैन
जब नेपाली ममा बगेको छ
जब पुर्खा नेपाली हुँ भन्दै मरे
तर नेपाली नै हुँ भन्न पनि
भाषा, संस्कृति अनि भावना
विकल्प अरू केही
अाधार म जुटाउन सक्तिन ।
डच म हुँ
खाट्टी डच म बन्दै छु
अनि बन्दछु पनि
खुलेर मेरो हृदयले भन्दैन।
कसरी भन्न पनि सकौँ
जब मेरो सुरुवातमा
अर्कै संस्कृतिको रोपण भएको छ
जब म यहाँ नजुटेको
अनि नमिलेको प्रष्ट देखिन्छ ।
मलाई डर लाग्दछ
डचको सोचाइ ममा छैन
नत ममा डच भावनाको सिर्जना नै हुन सक्ला
डच त मेरो केवल कानुनी आधार
स्थान अनि मात्र भौतिक सोच
सायद स्वीकार्न भावुक,
विवश अनि लाचार अवस्था ।
त्यसैले
मेरो परिचय धरापमा परेको
परिचय हराउँदै गएको
अनि मेरो अस्तित्वमा
प्रश्नै प्रश्न बजारिएको
चोट अनि तितो अवस्थाको
लामो यात्रा अनि आनौठो धावा
मेरो मस्तिष्क मण्डलले
लडिरहेको छ ।