पर्चाहरू

दिल भूटानी

पर्चाहरू जुलुस लाइरहेकाछन्
भित्ताहरूमा
पोलहरूमा
रुखहरूमा
उभिएर निरन्तर निरन्तर।
कतै पूर्वबाट
साब्ड्रुङको भूत जागेर
टाँसिछोजोङ्गको सातो हलाइरहेछ।
कतै दक्षिणबाट
हासुरको लास उठेर
वाङ्गचेको हंस उडाएर लगिरहेको छ।
हो यी पर्चाहरू ब्युँतिए पछि
निरङ्कुशता आत्तिएको/हडबडिएको छ।
मिरमिरे बिहानी आउनु अघि
अन्धकार भत्काउन
कहिले टुकी बनेर उभिने छन्
कहिले राँको बोकेर उभिने छन्
कहिले मसाल बाल्दै उभिने छन्
पर्चाहरू
सडकमा
चोक-चोकमा
गल्ली-गल्लीमा
शहर-शहरमा र
बोल्नेछन् जन आवाज ।
जय गोर्खा आन्दोलन पछि
सत्याग्रह आन्दोलन पछि
धोकाधडी र गद्दारी गरिएका
सबै सम्झौताहरूलाई खारिज गर्दै
उभिने छन् पर्चाहरू।
नब्बेको आन्दोलनपछि
क्षतविक्षत भएका सपनाहरू
बटुल्दै उभिएका छन् पर्चाहरू
माग्दै सबै आन्दोलनका क्षतिपूर्तिहरू।
फेब्रुअरी पराजयपछि
चुपचाप बसेका बन्दुकहरू
पट्किन थाल्ने छन्
लगाउने छन् फेरी
बजाउने छन् शङ्ख निकाल्दै शवयात्रा
निरङ्कुशताको अन्त्येष्टिको
लस्करै उभिएर यी पर्चाहरू।
सबैलाई थाहा छ
हो, यी पर्चाहरू भित्र
वाङ्गचेको अनुहार खिचिएको छ
जसले आफ्नै जनतालाई
भोका नाङ्गा अनि
घरबार र देश विहीन बनाएको छ।

लाग्छ
जय गोर्खा र सत्याग्रह पछि
९० र फेब्रुअरी पराजय पछि
निक्कै रुष्ट छन् पर्चाहरू
सायद शहीदका सुन्दर सपनाहरू
बोकेर हिँडिरहने छन् पर्चाहरू
लोकतान्त्रिक  बिहानी नआउँदा सम्म
पर्चाहरू जुलुस लाइरहेकाछन्
भित्ताहरूमा
पोलहरूमा
रुखहरूमा
उभिएर निरन्तर निरन्तर।
जब पर्चामा लेखिनेछ
भुटान बन्द, आम हड्ताल
सडकमा बल्नेछ टायर र पुत्लाहरू
हो, यतिखेर
वाङचेले, घुँडा टेक्नेछ
पर्चाहरू यही दिनको तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *