पहिलो ढोका
दिल भूटानी
बेलडाँगी, झापा नेपाल
यो आगो जस्तो घामले
पोलेर सुकाएको
तिम्रो बाजेको छाला
बसिरहेको छ दुःखका धर्साहरू बोकेर
यो छाप्रो भित्रै
सम्झिरहेका छौ कि छैनौ ।
यो जीर्ण छाप्रो जस्तै उमेर बोकेर
हत्केलाका रेखाहरू हेर्दै
बूढो छाप्रो रुँगिरहेका छन्
तिमीले देखेका छौ कि छैनौ
मैले नजिकबाट देखेको छु ।
तिमीलाई काँधमा राखेर
देश छोड्दै गर्दा
सिमानामा झरेको आँसु
तिमीले देख्यौ कि देखेनौ
मैले नजिकबाट देखेको छु ।
अब त बुढो भएर तिरमिराइ सकेका छन्
सिमाना काट्ने बेला
देशतिर फर्केर टोलाएका आँखा
त्यो पनि मैले देखेको छु ।
मैले नजिकबाट देखेको छु
पर्खिनेहरूका आँखाहरू ।
देश पुग्न
कति पटक त हिँडेका पनि हुन
तर पटक पटक मेची पुलले छेक्यो
मेची पारीबाट आएको ४४ धाराले छेक्यो
पटक पटक
आफ्नो जन्मभूमिसम्म जाने धाराको बाटो छेक्यो
मैले नजिकबाट देखेको छु।
उनले सकी नसकी पिठिउँमा बोकेर ल्याएको नाति
उनलाई बेवारिस छाडेर
तेस्रो ढोकाबाट बाहिरियो
मैले त्यो पनि नजिकबाट देखेको छु ।
तर उनी भने पर्खिरहेका छन्
कहिले खोलिन्छ सम्झेर पहिलो ढोका
मैले नजिकबाट देखेको छु
पर्खिरहनेहरूको आँखा ।
तर
उनी भित्र भित्र हिँडिरहेको छ
एउटा यात्रा
पुग्न
केवल पुग्न आफ्नो देश ।