बढनदीको पुलसम्म..
बुद्धमणि ढकाल
केनटुकी, अमेरिका
डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा ” तपाईंहरु भोलि भांगटार आउनुहोस” भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै जसो लोग्ने मानिस दालिम र बक्कुली पुगे | बक्कुली स्कूलको प्रांगणमा भेला भएर त्यो बिशाल जुलुस कवैपानीतर्फ जाने फीडर रोडमा अगाडी बढीरहेको थियो | तर त्यो बढनदि खोलामाथिको झोलुंगे पुल पुग्दा थाहा भयो, त्यहाँ ओछ्याइयेका काठका फलेकहरु उक्कायेका रहेछन अनि पारी पाटी सेना र पुलिस हतियार बोकेर तैनाथ बसेका रहेछन | पुलमा खुट्टासम्म हाल्न नसक्ने भएपछि जुलुस त्यहीं रोकियो | यसै मौकामा पारी तैनाथ पुलिसले पुलको लठारो काटेर छिनालीदिए | पुल एकापाटी ढलेर कोल्टो पर्यो | यो दृश्य हेरेर जुलुस अरु उत्तेजित हुन खोज्यो तर सफलतापूर्वक पुल लडाएकोमा पुलिस र सेनालाई व्यंग्य तालिले स्वागत पनि गर्यो त्यो मानव भिडले |
पुल लडेपछी पारी जाने उपाय भएन अनि भांगतारसम्मको यात्रा पूरा भएन | कोहि भन्दैथिए – अब तल्लो पुल बाट जानुपर्छ | अर्को स्वर थियो – अलि तल खोलो फिजारिएको ठाउँबाट तर्न सकिन्छ | जुलुस फर्केर बक्कुली स्कूलको मैदानमा सभामा परिणत भयो |
भांगतारबाट साम्द्रूपजोंग्खर तिर जाने इरादा गर्दै गरेका मानिसहरु अब के गर्ने भनि अन्योलमा परेका देखिन्थे | दालिमका मण्डल तारा निदीको यो जुलुसमा फरक मत थियो | उनले आफूलाई ‘ पार्टीका केटाले’ नचाहिँदो दुख दिएको र सरकारलाई पोल पुर्याएको भनि आरोप् लाएको बताएका थिए | दर्बिलो र दूरदर्शी नेत्रित्वो नभएको गाउँले आन्दोलन त्यहींबाट टुंगिने देखियो | मानिसहरु उपलब्दी बिना आ- आफ्ना घर तिर लागे |
तारानिधिलाई पछि तिनै पार्टीले खटाएका एक्सन ग्रुपले समातेर अपहरण गरेको कुरा गाउँमा सुनेको थिएँ मैले | केहि समय पार्टीकै निगरानीमा आसामको कुनै ठाउँमा बसेपछि उनि उम्किएर दालिम पुगे | त्यस पछि तारानिधि साँची चम्चा बने | सेनालाई गाउँका मानिस समात्न सघाए ; घर-घरमा खान तलासी गर्न सेना लिएर गए | पछि देश निकाला गर्न सरकारले बनाएको फारम भर्न लगाउन पनि तारानिधिले नेतृत्व गरेका थिए रे |
तर तारानिधि किन सरकारी पक्ष्यमा गए त ? कसैले सोचेन |
करिब दुइ महिनासम्म साम्रांग बस्तीमा सरकारको कुनै निकाय रहेन | यहि मौकामा साम्रांगका केहि सरकारी भवनहरुमा आगो लगाइयो | सबैभन्दा ठूलो गल्ति स्कूलको छात्रावास तथा भान्छा घरमा आगो लगाउनु भयो | आगो लगाउनु पार्टीको नीति थियो वा केहि मानिसहरुको बदमाशी मात्र, बुझ्न सकिदैनथ्यो | कसैले सोध्ने आँट पनि गरेन, कारण सोध्नुले पार्टीको कारवाईमा परिने डर थियो | छ इन्च घटाइदिने धम्कि सबैले सुनेका थिए |
स्कूलको होस्टेलमा आगो लगाए रे भन्ने सुनेर बस्तीको तल्लो छेउबाट पनि गाउँलेहरु हेर्न आए | आधा डढेलो लागेको होस्टेलको कुरुप दृश्य हेरेर आँसु पुछ्दै गाउँलेहरु खास खुस मात्र गर्न सकेका थिए | आफैले ढुंगा, काठ, सिमेन्ट बोकेर बनाएको, आफ्नै नानीहरुले खाना खाएको त्यो भवन डढेको देख्दा मानिसहरुको मन एकातिर डर र त्रासले भरिएको थियो, अर्कोतिर चोट लागेको थियो |
डी बि राइको नेतृत्वमा रहेको पार्टीको दलबल इंडिया साम्रांगबाट भुटान साम्रांग सर्यो, सरकार नभएपछि | तर फेरी खाने र बस्नेको जोहो गर्न त्यो दल बल आसामका नेपाली बस्तीमा छरिएर बस्न थाल्यो | बिस्तारै , त्यो समूह दिशाहीन भएर भौतारीन थाल्यो: कोहि चोरी-डकैति गर्न पनि लागे |
भुटानी साहित्यको यो इ-पत्रिका पढ्न पाएर म अति हर्षित छु . भुटानका अनुभव र अमेरिकाका अनुभूति भएका कथाबारे अनुसन्धान गरिरहेकाले मित्रहरुलाई त्यस्ता रचना भए पठाइदिन अनुरोध गर्दछु. तपाईहरु पनि नेपाली डायस्पोरामा ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ मा आवद्ध भए सक्रिय हुन, नेपालीमा लेख्न र पहिछाना बनाउन सजिलो हुन्थ्यो कि !
नेत्र एटम
नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमांडू, नेपाल.