बुढो रुख र सान्नानीको इन्द्रेनी: संक्षिप्त चर्चा

समीक्षक
समीक्षक

शिवलाल दाहाल
केन्टकी, अमेरिका

भूटानको नेपाली साहित्यको सन्दर्भमा नारी लेखन्तेहरुको सङ्ख्या निकै न्यून देखिन्छ । यही न्यूनता र अभाव बिच जन्मिएकोछ बुढो रुख र सान्नानीको इन्द्रेनी (२०१५) । कवयित्री लिला निशाले एकदशक अघिदेखि नै कविता यात्रा आरम्भ गरेकी हुन् । पहिलो पाइला संयुक्त कविता सङ्ग्रह (२००३) मार्पmत कविता क्षेत्रमा देखापरेकी लिला निशाको निकै लामो सङ्घर्ष, अभ्यास र क्रियाशीलतापछि यो कृति प्रकाशित भएको छ । यस कृतिमा जम्मा ४१ वटा कविता रहेका छन् । आकारका दृष्टिले यी कविता छोटा र मझौला किसिमका छन् । उनका पन्ध्रवटा जति कविता त एक अनुच्छेदात्मक मुक्तक शैलीका छन् । यी कवितामा राज्यको निरङ्कुशताबाट लखेटिएको भूटानी समाजको अस्थिर चित्र, संक्रमणकालीन समय–सन्दर्भ र विस्थापित चैतन्य अभिव्यक्त भएको पाइन्छ ।

यो कृतिको शीर्षक एक बिम्ब हो, एक यथार्थ चित्रण । बुढो रुखले निस्ताउँदै गएको अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ भने ‘सान्नानीको इन्द्रेनी’ले अनन्त आकाङ्क्षा र अभिष्ट राख्ने नव पुस्ता । जुनसुकै समाजमा पनि अघिल्लो र पछिल्लो पुस्ता बिच जहिल्यै पनि एक किसिमको द्वन्द र अन्तर्संघर्ष चलिरहेको हुन्छ । तेस्रोदेश पुनर्वास जानेक्रममा पनि यस्तै अन्तरसंघर्ष देखियो– पुरानो र नयाँ पुस्तावीच । तिनका आकांक्षाहरु बाझे, तिनका स्वप्नाहरु मिलेनन् । मेरो बिचारमा कृतिको शीर्षकको साङ्केतिकता त्यतातिर छ । कवयित्रीबाट पुनर्वासपछिको सान्नानी र बुढारुखहरुको कथा पनि लेखिएला –अनुमान लगाउँछु, किन भने यतातिर आएर पनि उनी साहित्यिक अभियानमा लागिरहेकी छन् । धेरै नेपाली कविहरुले नेपालीहरू बसाइँ हिँड्ने, श्रम गर्न विदेशिने प्रवृत्ति र तिनको अस्थिर जिन्दगीका बारेमा लेखेका छन् । तिनका पीडा, समस्या र मूल्यहीताका बारेमा चित्रण गरेका छन् । त्यही क्रममा उभिएकी छिन् लीला निशा –समय र धनेहरुभित्र । लाग्छ यो कविता अर्का भूटानी कवि सञ्चमान खालिङ्को धनेहरु निरन्तर हिँडिरहे ! कविताको समपूरक हो । खालिङ र निशाहरु पनि धनेहरु नै त हुन् – अस्थिर ठेगाना,शोषण, भोक र अतृप्त स्वप्नाका मिथक–बिम्ब । बसाइँ सर्ने र हिँड्ने प्रवृत्ति उही भए पनि गन्तव्य भने धेरै अर्थमा फेरिएको छ । त्यसको सङ्केत माथि उल्लिखित दुवै कवितामा सजिलैसँग भेट्न सकिन्छ ।

कवितालाई वस्तृत रूप दिनुभन्दा पनि लघु आकारभित्रै अर्थको सघनता खोज्नु कवियित्रीको एक विशेषता हो । प्रकृति, जीवन–चिन्तन, भोगाइगा सन्दर्भ र समसामयिक यथार्थको चित्रण गर्ने यी छोटा कविता बिम्ब र प्रतीकमय बनेर उभिएका छन् । यस किसिमका कविता म र बोनसाई, काँडा, जीवनका प्यालाहरु, जिजीविषाका गीतहरू आदि हुन् । अन्य कविताहरुमा पनि मिथक, प्रतीक र बिम्बहरुको राम्रो प्रयोग पाइन्छ जसले कविताको सौन्दर्य र अर्थमा विशिष्टता थप्न मद्दत गरेको छ ।

अनेक कठिनाइ, हण्डर र विपत्ति खेपेकी निशाको जिन्दगीप्रति गुनासोभन्दा बढी सकारात्मक आत्मचिन्तन छ । ए जून, तिम्रै प्रतीक्षामा छन् ती आँखाहरू,क्याक्टस र काँडा जस्ता कवितामा उनको आशावादी चिन्तन देखिन्छ ।

उनका केही कविता भने प्रेमसँग सम्बन्धित छन् । भ्यालेन्टाइन डे र मेरो प्रेम, प्रेम, पोट्रेट आकृति जस्ता कवितामा प्रेमजन्य गुनासो, कुण्ठा र वितृष्णावोध अभिव्याञ्जित छ ।

भूटानी शरणार्थी शिविरमा नारीहरूका सरोकार, अधिकार र चेतना विस्तारका सन्दर्भमा निकै लामो समय काम गरेकी पात्र हुन् –लीला निशा । यद्यपि उनका कवितामा नारी चेतना अभिवृद्धि गर्ने सवालका कविता साह्रै कम छन् । नारीहरुमाथि हुने गरेका शोषण, दमन र विभेदको चित्रण तथा तिनको निराकरणका निम्ति उठाउनु पर्ने हक–हित र अधिकारको आवाजका सवालमा निशाको रचनात्मक धरातल कमजोर देखिन्छ । यसका अतिरिक्त उनका कवितामा गरिबीको समस्या, राज्यविहीनताको पीडा, संवेदनाहीन बन्दै गएको यान्त्रिक दुनिया, बिस्तारै पैदा हुँदै गरेको भर्चुल संसार र युगचेतनाका सन्दर्भहरु आएका छन् ।

नेपाली भाषामा कलम चलाउने ममता मोक्तान, तिलारुपा आचार्य, बुद्धि सम्बाहाम्फे, मञ्जु खड्का, सञ्जु गिरी जस्ता थोरै भूटानी नारी स्रस्टाहरु मध्ये लीला निशा प्रतिनिधि पात्र हुन् । त्यसो त ड्रुक लोसेल( १९७९–१९८३)का विभिन्न अङ्कमा पद्मा योञ्जन, गङ्गा प्रधान जस्ता नारी स्रष्टाका रचना पढ्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *