बुद्ध र महादेवका सारमा सुख र ग्रस नेसनल हेप्पिनेस्

लेखक
लेखक

डा. लक्ष्मीप्रसाद ढकाल  
आम्सटरडाम, नेदरल्याण्ड

दिन भरको थकाइले लखतरान भएर डेरा पुगेँ । आजको दिन धेरै चेर्को भयो । जब जब काममा चाप पर्छ, चर्को पर्छ, त्यती त्यती आफुतिर प्रश्न बज्रन थाल्छन् । अनि विभिन्न कुराको सोचतर्फ धकेलिन्छु । यस्तै सोचमा आज म एक हप्ताअघि मात्र भाग लिन पुगेको एक गोष्ठीमा थुरिन पुग्छु । कल्पनाको बहसमा रहेको क्षमताले सोच्न सक्ने स्वर्गीय आनन्द, अवर्णनीय सुख र शान्तिको दीर्घकालीन खोजीतर्फ केन्द्रित उक्त बहशको पहिलो पङ्तीमा भने अरु कुनै नभै, मसंग सामान्य परिचित, “ग्रस नेसनल हेप्पिनेस्” थियो ।
बेलुकीको साढे सात बजेको थियो । सोफामा लमतन्न ढल्की, मनमा कुरा खेलाउँदै, अफ्नैतर्क आफैं काट्दै, एक प्रकारले व्यस्त थिएँ । छिट्टै म उल्लेखित विषयमा डुब्न पुगेँ – ग्रस नेसनल हेप्निनेस्, सुख र शान्तिको दिर्गकालीन खोजीतर्फ । त्यसो त शान्तिका प्रतिक, आस्थाको केन्द्रका रुपमा परिचित गौतम बुद्धकहाँ सोध्न पुगेँछु । बुद्धले भने, आफ्नु शृस्टीको सुरुवात जहाँबाट भयो त्यहीँबाट सुख खोज्न शुरु गर । स्वर्गवाणी भएको महसुश भयो । आफ्नु सृष्टि गाउँबाट भएको अनुमोध हुँदै, गाउँतर्फ लागेँ ।
आश्चर्यचकित भएँ, लाली धप्परका डाँडामा सदासर्वदा फुल्ने सुनखरीकोसट्टा सेतो उनिउँ फुलेछ । प्रलय हुँदा सेतो उनिउँ फुल्छ भन्ने किम्बदन्ति थियो । कुमकुम पाती फुल्ने भित्तो उराँठ थियो । लाँचे र कालिजले बास गर्ने निबारोको रुखबाट कोइली कराएको सुनिन्थ्यो । चिलाउनेका रुखमा रातो च्याउ पलाएछ । हाम्रो गाउँका मगरहरुले रातो च्याउ रोगको संकेत हो भन्थे । अनौठा दृश्यहरु एकदेखि अर्को देखिन्थे । तर म किन किन बिचल्लित भएँ । बुद्धले भनेका थिए, सुख यहीँ छ । म सुखको नजिक छु तर प्राप्त हुन सकिरहेको छैन । धैर्यताले हताशपनालाई ठाउँ दिन थाल्यो । म आत्तिन थालेँ, आफैँमाथिको बहस गुमेको अभाष भयो । यस प्रकारले सुखको ढोकामा कतै नपुगिने सङ्केत भयो । पुन: गौतम बुद्धका शरणमा पुगेँ र सम्पूर्ण बयान गरेँ ।
बुद्धको जरी चडेको बेला परेछ क्यार । प्रश्नमाथि प्रश्न बज्रे । सुखको उपज, अर्थ, र परिभाषाप्रतिको प्रवचन बुद्धले सुरू गरे । उनी भन्छन्- सुख खोज्ने बस्तु होइन, सुख प्राप्त गर्ने हो । सुख र शन्तिको चयन गर्न मान्छेको जन्मले मात्र पुग्दैन । दरवारका कुत्ताले गाउँका सेठले कल्पना गर्न बाँकी भएको सयलमा सुत्छन् । त्यसैले कहाँको जन्म, कसको कोख, कुन संस्कारमा होमिन पुग्यो, यस्ता विषयले निर्णायक भूमिका खेल्छन् । उनले भने, म पो राजाको छोरो थिएँ । ममा केहीको कमी थिएन, न त कुनै जिम्मेवारी नै थियो । मेरो खोजी आनन्दकोसट्टा महाअनन्दको थियो । दरवार बहिरको जीवन बुझ्नु थियो । त्यसैले दरवारबाट रुखमुनी ध्यान गर्न पुगेँ । राजाको छोरो थिएँ, अरुले मेरो त्यागलाई दाग लगाउन सकेनन् । देशभरि ढोल बज्यो, म सिद्धार्थ नभई गौतम हुन पुगेँ ।
सार्थकताको सिद्धार्थमा प्रज्वलताभन्दा अवस्थाको स्वार्थ विद्यमान भएको यकिन भयो । गलत बाटो, गलत निर्देशन र गलत प्रतिक रोजेको आभाष भयो । बुद्धले दिशानिर्देशनमा कन्जुस्याइँ गरेको महसुश भयो । तराइको कुनै एक रुखमुनी तपश्या गरी शान्ति र सुख प्राप्त गरेका बुद्धलाई छोडी, हिमालमा भाङ-धतुरोको नसामा मस्ती गर्ने महादेवकासामु पुगेँ ।
महादेवका आश्रममा अनौठो दृश्य, एक गम्भीर छलफल ! शिवजीप्रति पार्वती बेखुशी । पार्वती भन्दै थिइन्, “हे प्रभु संसारमा किन यस्तो अन्याय ? किन कोही धनी अनि किन कोही गरीब ? जात, धर्म, सुखी, दु:खी, गरीब र धनी नभएको संसार किन नभएको ?” राजपुत्र गौतम बुद्धका आश्रमबाट जि.एन्.एच्. र सुखको खोज असम्भव भई त्यहाँ पुगेको म, माहादेव-पार्वतीको संबाद रोचकताका साथ सुनिरहेँ । महादेवले जवाफ दिए – “चाहनेलाई सम्पूर्ण दिएको छ, नचहानेलाई दिए पनि लिँदैनन् ।“ तर पार्वती यस उत्तरप्रति अशन्तोष जाहेर गर्दै आफ्नु दिव्यदृष्टि प्रयोग गरी एक दृश्यप्रति केन्द्रित गर्छिन् । चिराङदेखि दागापेला जाने बाटोको एक झलक देखियो । चाँचे दोभानमा बाटो खन्ने कुल्लीका बाच्चा पौडी खेलिरहेका थिए । खरेल बुढाले अफ्नी श्रीमतीका नाममा बनाएको चौताराको छानो हुरीले उडाएछ । अनि ब्लोन बजेले हरेक साल गाडेका ध्वजाबिनाका खम्बाहरु खङ्ग्रंग ठाडा थिए । दृश्यमा एक भरिया र तिनका सेठ बाटोमा छन् । सेठ रित्तो हात हल्लाउँदै, लौरो टेक्दै, अघि अघि हिँड्दथे । आफ्नु ज्यानभन्दा धेरै गुणा भारी ढाकर भने भरियाको पिठ्युँमा थियो । तिनका तालुमा नाम्लो गाडिएको देखिन्थ्यो । तिनको टालेको दौरा पसिनाले छप्प भिजेको थियो । तोक्माको सारमा नजिकको चौतारो पुग्न तिनलाई अति आपत परेको देखिन्थ्यो । सुन्कोश नदी अझै लगभग एक कोश टाढा देखिन्थ्यो । पार्वतीले यही दृष्यको साथ लिई महादेवको ध्यानाकर्षण गरिन् । पार्वती भन्छिन्, “हे इश्वर यो कति दयानीय अवस्था, कति चोट होला ती भरियाका मुटुमा ? यहाँ केही राहत पुगोस् प्रभु !”
महादेव भन्छन्, “ए पार्वती, भरिया खुसी छन् । सेठभन्दा भरियाको मनमा शान्ति छ ।“ यतिखेर भरिया र सेठ भने सुनकोश नदीको किनारामा रहेको चौतारासम्म पुगिसकेका छन् । सेठले भने, “हे भरिया, चौतारामा ढाकर अडेश लगा । एक छिन पुलमाथि गएर शित्तल हावा खाउँ ।“
महादेव घमण्डका साथ पार्वतीको चित्त बुझाउने प्रयाश गर्छन् । उनी भन्छन्, पुलमा म एउटा सुनको फाली राखिदिन्छु । भरियाले टिपुन् अनि सुखका दिनहरु चयन गरुन् । झोलुङ्गे पुलका बीचमा एउटा सुनको फाली राखियो । भरिया अघिअघि अनि सेठ पछिपछि, झोलुङ्गे पुलमाथि हिँड्दै, चिसो हावाको मोज लिन्थे । एक्कासी भरियाले भने, “सेठजी कती आनन्द यहाँ । आँखा चिम्लेर हिँड्दा त झन् स्वर्गीय आनन्द । अहा ! कति मिठो, कति कोमल, कति शित्तल” भन्दै भरिया सुनको फाली नाघी अघि बढे । पार्वतीतिर फर्की महादेवले भने, सुख धनीले प्राप्त गर्दैनन्, दु:खीकालागि सम्पति होइन । दु:खीलाई …..
छोरीले बाबा खाना खाने बेला भयो भन्दा झसंग ब्युझेँ । मेरो पो शरीर पसिनाले लफ्रक्क भिजेछ । कस्तो अनौठो, मलाई पो सकश भएछ। कतै कहिले सुनेका दन्त्यकथाहरु पङ्क्तिबद्ध रुपमा थकाईको निद्राभित्र प्रवेश गरेछन् । गौतम बुद्ध र महादेवले भनेझैँ सुख र शान्ति कसकालागि, सम्पति गरिबले प्राप्त गर्ने बस्तु किन नहुने? सायद् हाम्रो गाउँमा पनि, गरिबी बढी भएको कारणले होला, सम्पति र गरिब विपरित ध्रुव भएका कारणले होला, जी.एन्.एच्. को लहर चलेको । जी.एन्.एच्. एक बिकसित सोच, एक धार अनि घम्भीरताको संकेत हो । तर एक हार्ने धावा यहाँ विद्यमान छ । आवाज नै आवाजको यहाँ जीत भैरहेको छ । यहाँ एक बिरोधको चित्कार गुन्जन्छ – जुन न सृष्टिकर्ता महादेव न निर्वाण प्राप्त गौतम बुद्धले सुन्दछन् ।

2 Replies to “बुद्ध र महादेवका सारमा सुख र ग्रस नेसनल हेप्पिनेस्”

  1. Buddha Dhakal

    कूल राष्ट्रिय खुशीको माहात्म्य बुद्ध र माहदेव सम्म पुर्याएर आफ्नो सोच सिल्पीले निखारेर प्रस्तुत भएको यो आलेख साहित्यको राम्रो नमुना बनेको छ| डा. लक्ष्मीले साहित्यमा यस्तो बिचारलाई उनेर जगतका सास्वत बिसयमा कलम चलाएको मलाई थाहा थिएन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *