बेरङ्ग रङ्गहरू

  • मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका   
    Uttam Rai
    कवि

वास्तबमा

साँच्चै इमानदार भएर भन्नुपर्दा

मलाई रङ्गहरू –

रङ्ग नै भएको मनपर्छ ।

 

आफ्नोपन, मौलिकता र गुणहरू

वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको

खोक्रो ओडारमा

गुमनाम गुफा बसेपछि

वस्तुको अस्तित्व विलय हुन्छ

ठिक यस्तै भएको छ- रङ्गहरूमा !

 

सेतो – सेतै ठिक’थ्यो

किन अँटाउनु पर्थ्यो शान्ति

आफ्नो चौडादार छातिमा ?

कालो ठिकै’थ्यो त

के का लागि बोकी हिँड्दैछ

दुनियाँ ध्वस्त पार्ने

बिरोधका राँकोहरू शरीरभरि ?

पहेंलो- पहेंलो नभएर

किन दिँदैछ चेतावनी शतर्कताको ?

तर्सिएको अनुहार देखाएर

चोक-चोक र गल्लीहरूमा

रातो अहो !

किन ओकल्दैछ

क्रान्ति र युद्धका लप्काहरू ?

त्यसै त;

मर्नका लागि बहाना

खोज्नै पर्दैन … आजकल !

 

यी सब गरिरहनु पर्दैन’थ्यो

रङ्गहरूले – रङ्ग हुनलाई

बेकार… बेरङ्ग भैसके  ।

रङ्गहरू – रङ्ग हुनलाई

रङ्ग नै हुनुपर्छ !

 

देख्दैछु,

बेरङ्ग रङ्गहरू – बड्दैछन् अचेल !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *