भँडारे काइँलो

मनबहादुर थापा (वादल),
बेल्डाँगी-नेपाल

भँडारे काइँलो पनि लागे बाटो
देश छोड्नु नै ठूलो गल्ती भएछ भन्थे-
कसैले अमेरिका जाने कुरा गर्यो कि
हाप र झाँप गरेर उलको सातो लिन्थे,
तर उसको जिद्दीले काम काटेन;
आफ्नै देश जान्छु भन्दा पनि
खिल्ली उडाउने
कस्तो दिन हेर्नु पर्यो !
भँडारे काइँलाले कहिल्यै छलकपट् गरेनन्,
अर्काको त्यसै पनि खाएनन्
उनले कहिल्यै बिराएनन्
तर, उनको सोझोपन नै आफैंलाई घातक भयो,
जिन्दगीमा अटेर गरेर मात्र पनि नहुँदो रहेछ
गरिखानै पर्यो,
बाँच्नै पर्यो,
के गर्ने ?
लागे बाटो काइँलो पनि ।

आफ्नो बल-वैंश हुञ्जेल त,
घरमा स्वास्नी छोरा–छोरी पनि खुशी थिए-
उनका हात-पाउ बसे,
अब स्वास्नीलाई पनि घाँडो हुनथाले
छोराछोरीलाई बोझ,
कुनै दिन त स्वास्नीले नै हप्काउँथी
देश छोडेर हिँड्नु नै गल्ती भएछ-
फेरि गल्ती नै गरिँदैछ कि ?
सल्ट्याइँदैछ ;
त्यो त भविष्यले नै बताउला-
तर त्यो दिन कुर्न
आज बाँच्नु पर्दोरहेछ-
आजको यो कठोर निर्णयले
कहाँ–कहाँ पुर्याउने हो ,
भँडारे काइँलो पनि लागे बाटो !

आफ्नो जिम्मेवारी भारी भइरहेको बेला,
अधिकार सिकाइदियो,
घरकी स्वास्नी अधिकार खोज्ने,
बाबु- आमाको ममता नबुझ्नेलाई
सुविधा चाहियो-
नारीलाई अधिकार,
बालवालीकालाई अवसर,
काइँलोले यो कुरा कहिल्यै बुझ्न सकेनन्
हुँदा–हुँदा विदेश गएर के गर्ने ?
चर्च जान थाल्नु भन्थे बच्चाहरु-
काइँलोलाई,
उमेरले पनि साथ दिएन,
विचारले पनि-
मर्नुभन्दा बौलाउनु निको भन्न थालेको थियो
लागे बाटो काइँलो पनि-

विदेशीले हामीलाई मास्न-
हाम्रो आस्थामा प्रहार गरे,
परिवार भाँड्न घरकाहरुलाई अधिकारको भूत चढाइदिए-
बाबु-आमालाई,
आफ्नी जननीको आँखाले भन्दा पनि
शत्रुको दृष्टिले हेर्ने बनाइदियो,
भँडारे काइँलो पनि लागे बाटो-

तल्लो छाप्रो,
माथ्लो छाप्रो,
एकाएक रित्तिन थालेपछि
एक्लैको केही जोड चलेन,
बारम्बार आगलागी हुन्छ शिविरमा,
आपतकालीन हो या नियतवश
केही भन्नु नै छैन-
रातभर हात्ती आतङ्क छ,
मान्छे नमारे पनि छाप्रो भत्काइदिन्छ
एक पछि अर्को गर्दै अगुवाहरुको हत्या !
यहाँ मन अड्याउने ठाउँ नै कहाँ रह्यो र ?
भँडारे काइँलो पनि लागे बाटो-

बाह्र–तेह्र वर्ष भयो छाउने नदिएको
बल्लबल्ल नानीहरु स्कूल त जान्छन्,
व्यवहारमा कुनै परिवर्तन छैन, सुधार छैन-
अस्पतालमा औषधी त दिन्छ
टाउको दुख्ता पनि त्यही,
ज्वरो आउँदा पनि त्यही
रुघा-खोकी लाग्दा पनि त्यही,
हुँदा–हुँदा अब त
गर्भवतीले पनि त्यही खाँदा हुन्छ भन्ने त पक्का भइसक्यो-
किन पर्यो र अस्पताल
काइँलोले जीवनलाई फुकाइरहेका छन्
भन्न थालेका छन्-
नपरी केही नजानिने,
बाठो-टाठो सबै छेउ लागिसकेपछि
आफू मात्रै भएर के गर्ने र ?
लागे काइँलो पनि बाटो-

जाँदिन जाँदिन भन्दाभन्दै पनि
बाटो लागे भँडारे काइँलो !
दिउँसै चोर लाग्छ-
आफन्तले नै ठग्ने गर्छन्
प्रहरीले नै अपहरण गर्छन्-
जिन्दगीमा आखिरी बार खाएको जागीर- सिपाही
अमेरिका जानलाई सिपाही होइन भन्नुपर्ने
देश छोड्नु कत्रो विद्रोह हो,
तर आन्दोलनमा गइनँ भन्नुपर्ने !
कसैलाई नटेरी छोरो हल्लिँदै–हल्लिँदै आउँछ
उसले जाँड-रक्सी नटुटाए पनि
गाँजा चाहिं छोडेछ कि क्या हो
अस्ति आइतबार मात्र सुधार केन्द्रबाट निकालेको ;
…भँडारे काइँलो पनि लागे बाटो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *