भेट

रिमेन आलोक
अस्ट्रेलिया

बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन
आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन
बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ
कुटो,कोदालोसँग  रमाइरहेको हुन्छ
फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै
पोहोरै आमाले दिएको पुरानो रुमाल झिक्दै
ती पापी बलात्कारी यो देशमा रहुन्जेल
मेरी आमाको आत्माले शान्ति पाउने छैन
आँखा ओरी परी पौँठेजोरी खेलिरहेका आँसुका ढिक्का
परेलीलाई बिदाइ माग्दै गालाको बाटो हुँदै
माटोसम्म आएर विलीन हुन्छन् ।
त्यति बेला आमाको यादले मुर्छा पर्छु
त्यो जुनलाई हेरे,
मेरा बाको तस्बिर देखाउँदै भन्यो
यही अनुहारले, ईनै हात खुट्टाले
तँ सानु छँदा बोल्न सिकायो, हाँस्न सिकायो
ताते-ताते गर्दै बाटो काट्न सिकायो
जब म सानु थिए ,बा ठुलो हुनुहुन्थ्यो
जब बा सानु हुनु भयो म ठुलो भइसकेको थिए
बा-आमा मसँग तपाईँहरूको भेट नभए पनि
तपाईँहरूको भेट चाहिँ अवश्य होस…!
मेरो पनि पालो  आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *