म पेन्टिङ गर्दैछु
भक्त घिमिरे
अमेरिका
म यतिबेला वर्तमानमा रंग-रोगन गरी
पालिस धसेर भविष्यसमेत चम्काउने
योजनामा हरदम लागेको लागेकै छु,
एउटा नयाँ परिकल्पित
संसार निर्माणको बाटोमा,
लगातार पेन्टिङ गर्दैछु ।
आमा अस्मिताले पुल्पुल्याए पनि
बाबु अतीतले थिल्थिल्याएको,
आज, मातृवियोगमा पिल्पिलाएको म,
भग्न जिजीविषाको नजिक उभिएर
मानसिकताका मझेरीहरूको
सफाइमा लागेको छु यतिबेला
हातमा कलम कुची लिएर क्यानभासमा
रंग र मसीहरूको थुप्रो लगाउँदै छु
रंग-मसीकै सहाराले नयाँ जीवनको खोजीमा,
एउटा नयाँ परिकल्पित
संसार निर्माणको बाटोमा,
लगातार पेन्टिङ गर्दैछु ।
तथापि, साथ छैन मलाई कसैको,
म नयाँ संसारको परिकल्पनामा
लखतरान असिनपसिन हुँदै गर्दा
मेरी छोरी कल्पना रुमालले
अलि अलि मुख छोप्तै,
उसको ब्वाइफ्रेण्ड भविष्यसित
अंकमाल गरी मझेरीबाट भित्रिन्छे,
छोरो यथार्थ पनि जँड़्याहा अन्योललाई
साथी लिएर धेरै दिनपछि घर फिरेको आजै हो…
मेरी श्रीमती भावना सधैं सधैं
मनमन्दिरमै रमाउन मस्त हुन्छिन्,
बहिनी आशा र उसकै साथी किरण
झुत्रे, लुम्रो, काम नलाग्ने प्रौढ़ ठानेर,
ममाथि नै व्यंग्य गर्न हतारिन्छन्,
दाइ आदर्श मेरो छेउमा आएर सोफामा टस्स बस्दै
मलाई नै हेरेर खुइ…..काड़्दै हैरानी व्यक्त गर्छन्
र भाउज्यू आस्था पनि दाइकै सारमा सार मिलाउँछिन् !
दाइको कुरा बोलिदिँदै भाउज्यू आशा छड़्के हान्छिन्,
‘बाबू, यसो मुद्रार्जन गर्ने परिश्रम हो कि फुस्रो ?’
मानौं उनीहरूका लागि सटहीमा हातकै मैलो
धन आएन भने त्यो श्रम नै होइन,
तर, मैले मुद्रा कमाउने भन्दा यश कमाउने
काम नै उहिलेदेखि रोजेर आएँ !
सबैलाई भन्दियस्, ए सन्देशवाहक,
म कसैको पेवा मान्छे हैन,
म मेरो आफ्नो हुँ र संसारको हुँ म,
अनि हो यो संसार मेरो पनि,
तथापि,
यो कुरो अझै नबुझेर हो कि बुझपचाएर हो,
त्यसरी नै परिस्थिति र परिवेश भन्ने
इष्ट-मित्र छिमेकीहरू पनि मतिर हेर्दै
किच्च बत्तीसवटा दाँत देखाएर मेरो परिश्रमप्रति
फिक्का, सुक्खा सदाशयता दर्शाउन प्रयत्न गर्छन्
मनले खिस्सी गर्छन् तर, बाहिर स्वाङ पार्छन्,
त्यसैले,
मनको कुरा आँखा र अनुहारले बोल्छ
भित्र एक बाहिर अनेक नगर
कुरा एक काम अर्को भए एकदिन
त्यस्कै नतिजाले पोल खोल्छ,
चाहतविपरीत प्रतिफलमा
सन्तापले आफैंलाई पोल्छ,
त्यसैले,
स्पष्ट सोच्ने र स्पष्ट बोल्ने अनि
कुराजति नै काम गर्ने मानिस निर्माण गर्न,
विद्यमान मानसिकताहरू बड़ारीकन
धुलाइ-सफाइको आवश्यकता देखिएको छ,
हो त्यसैले,
म, मानसिकताका मझेरीहरूको
सफाइमा लागेको छु यतिबेला,
हातमा कलम कुची लिएर क्यानभासमा
रंग र मसीहरूको थुप्रो लगाउँदै छु,
रंग-मसीकै सहाराले नयाँ जीवनको खोजीमा,
एउटा नयाँ परिकल्पित
संसार निर्माणको बाटोमा
लगातार पेन्टिङ गर्दैछु !
जी पी सर,
कविता सार्है राम्रो लग्यो | प्रत्येक छोरा छोरीले यस्तै अनुभूति गरेको हुनुपर्छ | असल रचनाको लागि धन्यवाद,
सुशील पोखरेल