मलाई मान्छेको अस्तित्व मन पर्दैन
Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan
रमेश गौतम
नर्वे
म
मान्छे हुनुको गौरव
मान्छे हुनुको सुखानुभूति
अनुभव गर्नै नपाइकन
कतै फ्याँकिन्छु;
जर्जरताहरूले पिल्सिएर
म आफैँलाई खोज्न चाहन्छु
एकान्त वनमा कतै –
तरुलातिकाहरूको अस्तित्व बिच !
मान्छे
हर समयको गतिहीनताले पिल्सिएर
हर अस्तित्वको शून्यताले साँघुरिएर
मान्छे – मान्छेहरूको भीडमा
आफूलाई एक्लो पाउँछ
आफूलाई शून्य पाउँछ।
आजकल
मलाई मान्छे मन पर्दैन
मलाई मान्छेको अस्तित्व पनि मन पर्दैन।
चराहरूको अस्तित्वमा
आफूलाई स्थानान्तरित गरेर
म आफू रित्तिनुभन्दा अगाडिको पल
म आफू सिद्धिनुभन्दा अगाडिको क्षण
पृथक् अनुभूतिले पोत्न चाहन्छु।
चराहरू
एकान्त वनमा
आत्मसन्तुष्टिभित्र हराएर
गीत गाउँछन्।
चराहरू
प्रत्येक पल
हर्षोल्लास अनुभूत गरेर
आफू हराउँछन्
एकान्त वनमा।
वन एकान्त भएर पनि
चराहरू
एक्ला हुँदैनन्
चराहरू
वनको त्यो विशाल वक्षमा
निर्णयहीन टोहोलाउँदैनन् कहिल्यै ।
आपसी बेमेल र शत्रुताको विष वमन गरेर
चराहरू
घात-प्रतिघातका एम्बुस थाप्दैनन् ।
आजकल
मलाई मान्छे मन पर्दैन
मलाई मान्छेको अस्तित्व पनि मन पर्दैन
म उड्न चाहन्छु
चरा भएर
स्वच्छन्द आकाशमा !!
१६ अगस्त २००२
हात्तीसार, धरान