नैनासिंगले बचाएका ज्यान

कथाकार
कथाकार

बुद्धमणि ढकाल
केनटकी, अमेरिका

नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ ।

मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस अघि कतिवटा दाबिला ख्याए त्यो चाहिँ थाहा भएन | नैनासिंग माझी उसको पुरा नाम । बर्खामा उर्लने सुनकोशको पानीमा पनि नउका हेलेर वारपार गराउने उस ज्यानलाई बहादुर नै मान्नु पर्छ ।

“जस्तै विपत्तिमा पनि कहिले नआत्तिने रे । खोलो तर्नेमा राजा नै थिए रे ।” बोक्रेका अधिकारी साइला भनिरहन्थे।
नैनासिंगको काम एक बटुको कडा रातो चियाबाट र एक कुरेत लामो खोसेलामा बेरेको सुर्तीसँगै सुरु हुन्थ्यो । अझ भयो भने एक कित्ली नै रित्याउन सक्थ्यो बिहानभरिमा । खोलाको भित्तामा सानो टहरो छ उसको बिसाउनी या ओत लाग्ने छाप्रो । खोलो तारिमाग्ने मान्छे नहुँदा त्यही छाप्रोमा कङ्कटको धुवां उडाउँदै, कहिले रातो चियाको बटुको रित्याएर दिन बित्थ्यो उसको । उसकी सानी छोरी चुनमति चियाको कित्ली पुर्‍याउन कहिले कहीँ घाटसम्म आउथी ।

डाँडाघरे खड्का र नैनासिंग माझीले मित बोलेका रे, खोलामा बाख्रा चराउन जाँदा सुनकोशको एक भालाको दहमा पौडी खेल्नको बाजी थापेर । माझीहरुलाई खोलामा खेल्ने, रमाउने भनेर चिन्छ पहाडीय समाजले, नैनासिंगले पौडी खेल्नेमा बाजी जितेर खड्कालाई एउटा पाठो तिर्ने बनाए पछि यो मितेरी साइनो जोडिदिएका थिए रे बाउहरुले । चुनमति भन्थी – “यो मितेरी साइनो करिब ४५ वर्षअघि जोडिएको हो तर अझ पनि ताजै छ ।”

सन् १९९१ लाग्दै डाँडाघरे खड्काले गाउँ छोड्नु पर्ने भो । घर बाटैमा परेकाले आर्मीले ज्यादै दुःख दिएको उनको भनाइ ठिकै हो भन्ने लागे पनि नैनासिंगलाई चाहिँ देशै छोडीहाल्ने मन भएन ।

“खोइ मित म त बस्नै सकिन । तपाईँहरू बस्न सकुन्जेल अडिनुहोला ।” खड्काले आँशुसरी भएर बिलौना गरेका थिए ।

“त्यसो भए हाम्रै माझी गाउँ सरेर बस्नुहोस न त । मेरो पनि खासै आफन्त को छ र? चुनमति तपाईँहरूको खुब चासो गर्छे ।”

“मलाई त कोही बेला यही सुनकोशमा हामफालेर यो देशमै प्राण अन्त गर्रौ जस्तो पनि लाग्छ । यो सरकारको पिर कहिले सम्म खप्नु, भिर खनेर बाटो निकाल्दाका खाटा यी हात-खुट्टामा थाकेका छैनन्, औलोले सकेको यो ठाम सुन फाल्ने बनाईयो, कमाई खान भन्ने नजानेको जातलाई ठुला व्यपारी र मालिक बनाइयो ।” खड्का भक्कानिरहेका थिए ।
………………………………………………………………………………………………

सन् २००९ को भाइटिकाकै दिन गुमाने जेठाको उड्ने डेट आयो । “आमा बुढी छन् , दिदीको दिमाग ठिक छैन, यी केटाको खोइ के भर र ?” गुमाने ठुले मनमा कुरा खेलाउदै दमक बजारमा सौदा गर्न जान साइकलमा हावा भर्दै छ ।

“कस्तो ठाउ“मा पुगिने हो? यी दिदीको उपचार गराउन पाए हुन्थ्यो । आमाको पनि दमको बिमार जाती हुन्थ्यो होला ।”

“हिजो खड्का मितबाउले फोन गर्नुभएको थियो ।” गुमानेकी आमाले भनिन् ।

“के भन्नुभो त ?” गुमानेले साइकलमा हावा हाल्न रोकेर सोध्यो ।

“सामान धेरै नल्याउनु भन्नुहुदैथियो । खर्च धेरै नगर् है ।”

“दवाइ पानी राम्रो हुन्छ अरे । मेरो पनि रामरी उपचार मिल्छ अरे । छिट्टै गरी जानुपर्छ ।”

“आमा मात्रै हो र? मेडिकल त दिदीलाई पनि लानु पर्ने छ । एअमटी दबाइ खाको दस वर्ष भइसक्यो ।” गुमानेले सम्झ्यो मात्र, बोलेन ।
खड्का बाको सल्लाह मानेछन्, पेन्सिलभानियामै अएछन् |

“पेन्सिलभानियाको पिट्सबग सहरमा एउटा नामी क्लीनिक छ, मानसिक रोगीलाई सेवा दिने । गुमानेकी दिदी चुनमतिलाई उपचार गर्न त्यहाँ रेफर गरेको रहेछ । अब राम्रो हुन्छ होला ।” खड्का बा भन्दै थिए ।

दोभाषेको सहायताले चुनमति आफ्नो कथा डाक्टर थोमासलाई भनिरहेकी थिई । डाक्टर थोमास यस्ता कथा सुन्न अभ्यस्त थिए ।

“अनि के भो त? तपाईँ भन्दै जानुहोस् म लेख्तै जान्छु ।”

“हाम्रो बाउ नाउका चलाउने काम गर्थे । माझीले जसलाई पनि खोला तार्नुपर्छ । यो उसको धर्म नै हो । हाम्रो बाउको के दोष। कालिखोलाको मेजरले बोलाको भन्दै पाँच छ जना आर्मी आएर हाम्रो बाउलाई लिएर गए, गुरुङ मुन्डलको घर नदेखाएर अरे । त्यसपछि हाम्रो बाउ….. ।”

चुनमतिको आँखा रसाइरहेको थियो । डाक्टरले केही क्षण बिसाए । चुनमतिलाई बाथरुम जाने अनुमति दिँदै डा थोमसले दोभाषेलाई सकेसम्म सजिलो गरी उल्था गरिदिन आग्रह गरे ।

“पछि थाहा लाग्यो हाम्रो बाउलाई चेम्गाउँ जेल लगेछ ।” बाथरुमबाट आएपछि अलिक सजिलो मान्दै चुनमति फेरि कथा जोड्न थाली ।

“त्यसपछि तपाईँहरूलाई चाहिँ आर्मीले केही गरेन?” डाक्टरको प्रश्न उल्था गर्दै दोभाषेले सोधे ।

“किन नगर्नु, बाउलाई लगेको एक महिना पछि फेरि आयो रातको दुई बजीतिर । त्यो रात हाम्रो घरमा हुनुसम्म भयो । त्यस पापी भोटेले हाम्रो सबै लुट्यो, हाम्रो इज्जत पनि त्यस दिन देखि रहेन । हाम्रो खोरको एउटा खसी र दुइटा भाले पनि तिनेरले लिएर गयो । मलाई त त्यो दिन सम्झिँदा अहिले पनि आङ फुलेर आउँछ । मलाई त्यो ठाउँ छोडेर अहिले हिडौं भरे हिडौं जस्तो लाग्यो ।”

चुनमतिको आवाज पुरै घुँक घुँक रुवाइमा परिणत भइसकेको थियो । ऊ बोल्न नसक्ने भई । डाक्टरले दोभाषेसँग अन्तर्वाता रोक्ने सल्लाह गरेर चुनमतिलाई फेरि अर्को दिनको मिति तोक्न सहयोगको आग्रह गरे ।

चुनमतिलाई दोभाषेले उसको घरसम्म लगिदिने सहृदयता जनाएपछि आनाकानी गर्दै ऊ गाडीको पछिल्लो सिटमा बसी । अगाडिको खाली सिटमा बस्नै मानिन । तर चुनमतिको कथा बाटोभरि पोखिइरह्यो । ऊ एकोहोरो बर्बराइरही, दोभाषेले समर्थन जनाए पनि नजनाए पनि ।

“हामीलाई खड्का मितबाउले ‘अब त्यो ठाउँमा नबस’ भनिरहनु हुन्थ्यो । मितबाउहरु हिँड्दा हाम्रो बाउले रात रात भर खोला किनारमै बसेर, जुनेली रातमा खोला तारिदिएको थियो अरे । एकखेप ता झण्डै मितबाउ मितआमा सबैलाई नउकासँगै बगाएको रे ।”

“हामीलाई खड्का मितबाउले भारी ओसार्न सघाउनु भयो अनि सुनकोश बस्तीबाट शिविरसम्म लिएर जानुभएको थियो । गुमानेले त्यसबेला साह्रै दुःख गरो । शिविर आएपछि बाउ पनि बित्नु भयो । हामी खड्का मितबाउकै छेउछाउमा बस्यौं । एक दुई वर्ष मैँले पनि अक्सफामको बुढो स्कुल पढें तर पछि खोइ के भयो मेरो दिमागले काम गर्न छोड्यो । शिविरमा एअमटी खाएँ धेरै वर्ष ।”

यतिबेलासम्म चुनमतिको डेरा (अपार्टमेन्ट) आइसकेको उसलाई पत्तै भएन । “कति छिटो आइपुगेछ हौ, गफको सुरमा थाहा नै भएन ।” गाडी रोकेपछि उत्रदै उसले धन्यवाद टक्र्याई ।

घरमा भाइ गुमाने ठुले थिएन । “बजार गयो होला” —आमाले भनिन् । चुनमति लुगा धुन लण्ड्री जाने सुरले लुगा भेला गर्न लागी। मनमनै सम्झिरही—गुमानेको छ दिन नै काम हुँदा फेर्ने लुगा हुँदैन, आज धोएन भने ! बुहारीले कहिले काम सार्छिन् र अलिक सजिलो हुन्छ।“

लुगा झिक्ने काममा ऊ गोजी उल्टाएर सबै हेर्दै थिई, गुमानेको गोजीमा एउटा कागज भेटी र पढ्न थाली । लेखेको रहेछ गुमानेले —उसले दिएको अर्तीको जवाफ ।

“दिदी तिमीले मलाई बाँच्न सिकायौ । तिमी मेरी दिदिमात्र होइन, मेरी आमा पनि हौ | तिमी भिनाजुको घर गएर पनि हाम्रो कति चिन्ता गर्छेउ है? तिम्रो कोख भरिलो भएको छ एक असल मान्छेकी आमा हुनु, तिमीलाई म जुनी-जुनी पनि सम्झिरहने छु। अहिले म खड्का मितबाउकहाँ बसेर यो लेख्ने काम गर्दैछु ।”

मिश्रजीले चिनेको सुइसाइड नोट लेख्ने गुमाने यही हो कि होइन म यकिन भइनँ । अथवा रुपजी निम्तो मान्न गएको बिहे उही गुमानेको हो भन्न पनि मैँले सकिनँ । तर खड्का बाबै तिनै हुन जसले यी दुवै दिदी भाइलाई जिन्दगी बाँच्न सिकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *