मेरी आमा

लेखक
लेखक

किशोर सिवाकोटी
साउथ डकोटा, अमेरिका 

मेरो कलेजको परीक्षा भैरहेको थियो। अमेरिकामा फल सेमेर्स्टरको निर्णायक परीक्षा डिसम्बर महिनामा हुने गर्दछ । मेरो कलेजको परीक्षा सकेर रेलमा आफ्नो डेरातिर लागिरहेको थिएँ । अचानक घरको यादले सतायो । सानो भाइले हिजोमात्र आमा अलि बिरामी हुनुभएको कुरा सुनाएको थियो । घरबाट यसरी सानोतिनो कुरा मलाई सुनाउँदैन थिए, कारण म अलिकति पीड़ा पनि सुन्नसक्दिनँ थिएँ । तर यसपाली त मैले सुनें । पक्का पनि आमालाई गारो परेको हुनुपर्छजस्तो लाग्यो । मैले फोन गरें । जतिबेला मेरो फोनको रिङ लाग्यो, त्यति नै बेला घरबाट पनि फोन आयो । मलाई फोन यसरी जुधेकोमा झनै डर लाग्यो । ‘आमालाई कस्तो छ’, भनेर सोधें । आमाले आफूलाई यसपाली त्यति सञ्चो छैन भन्नुभयो । अनि किन यसरी फोन जुधेको भनेर सोधें । ‘होइन नानी, तेरो अति नै याद आयो, सम्झें, भेट नभए पनि बोल्न त पाउँछु निः भनेर फोन गरेको’-भन्नुभयो ।

आमाको यो निराशापूर्ण शब्दहरुले मेरो गहमा आँसु आइसकेको थियो । ‘नानी, यसपालीको औषधी मेरो लागि बिष भयो, म खान सक्दिनँ, अब खाएँ भने मलाई भेटदैनस् नानी । हिजो नै म मरी सकेकी थिएँ, तर मेरो दिन राम्रो भएर मात्र बाँचे ’, आमाका यति कुराले म अचम्ममा परें । आमा भनिरहनु भएको थियो, ‘सिँढी चड्दै थिएँ, अचानक मेरो पाऊ गल्यो अनि शरीर भुइँमा ढल्यो । बिहानको समयमा सबै सुतेको थिए । मेरो पाऊबाट चिसो हुँदै शिरसम्म आयो, मैले सोचें अब मेरो दिन यति नै रहेछ ! म रोएँ, मनमनै कराएँ आफूलाई माया मारें, तर फेरि मेरो होस् आयो । सास फेरि चल्न थाल्यो । मलाई अरुभन्दा पनि मृत्यु भन्ने कुराको बोध चै भयो नानी ।’

आमाका कुरा जारी छन् –‘मर्न गारो रहेनछ, यो सानो शारीरलाइ प्राणले सजिलै जित्दो रहेछ । अब शायद औषधी र विज्ञानले भगवानलार्इ जित्न सक्दैन होला नानी । मलाई त तिमीहरुको भन्दा पनि बुबाको पिर लाग्छ । मेरो सपना र शरीरको अवस्था हेर्दा शायद तैंले भेट्दैनस होला नानी..मलाई ।..मलाई जे भए पनि आफ्नु यात्रालाइ कैले पनि नबिर्सनु । राम्रो मान्छे बनेर आफ्नु शिर उचा राख्नु , मेरो आशीर्बाद छ तँलाई नानी ।’ आमाका कुरा सुनी मात्र रहें, बोल्न सकेको छैन । जबरजस्ति बोलें म-‘किन यसरी हरेष खाने कुरा गर्नु हुन्छ आमा, हाम्रो घरमा राम्रो फेमिली स्वस्थ बिमा छ, फेरि तपाईंलाइ कुनै ठुलो रोग पनि त छैन । फेरि म अर्को हप्ता त घरमै बसेर पढ्ने गरेर आउँदै छु निः । मन दरो पार्नु आमा, हरेष नखानु होला । बरु डाक्टरले औषधी नखानु भनेको छ भने औषधी नखानु । औषधीको असर हो भने भोलिसम्ममा जाति हुन्छ’, यति भनेर मैले भोलि फोन गर्छु भनें । धेरै अरु बोल्न सकिन, फोन राखें । खाना खान मन लागेन, पढ्नतिर सोचाइ नै गएन । खाली आमाको कुराले सताइरह्यो । रातभरि पनि निन्द्रा लागेन । भोलिको परीक्षाभन्दा पनि आमाको अवस्थाको धेरै चिन्ता भयो । जसोतसो बिहान नै कम्प्युटरको परीक्षा थियो । घरबाट दाजुको फोन आइरहेको थियो, आमाको अवस्थाको बारेमा कुरा हुँदैथ्यो । डाक्टरले अत्तिनु पर्दैन, औषधिको असर हो भनेको छ । यदि आज पनि जाति भएन भने चैं अस्पताल लानु पर्छ भनेर दाजुले भन्नु भयो । मैले त्यो कुरा राम्रै हो तर, आजभन्दा उता डाक्टरको पनि कुरा सुन्नु पर्दैन, बरु अस्पताल लानु भनें । जे जस्तो परे पनि आएको समस्यादेखि नडराउनु, म आएपछि सबै कुरा म पनि मिलाउँला । यति सल्लाह भएपछि म परीक्षातिर लागें । परीक्षाको समयभरि नै घरको फोन बजिरह्यो, उठाउने समय थिएन । तर त्यो फोन आमाको रहेछ । म विवश थिएँ, किनकि परीक्षामा फोन चलाउन पैन्दैन थियो । हतार हतार परीक्षामा राम्रो अङ्क पाएर त्यो खुशी आमासित साट्ने के सोचेको थिएँ घरको फोनबाट फेरि कल आयो । मेरो भिनाजु बोल्नु भयो, भाइ, के आज घर आउन मिल्दैन ? होइन भिनाजु आमाले मलाई यहाँसम्म पढ्न पठाउनुभाको हो । त्यो कारणले पनि म घर आउँदिन, किनकि म अर्को हप्ता सबै काम सकेर घर फर्कँदै छु । जे गर्नु पर्छ गर्नुहोस्, आमाको लागि मेरो चिन्ता लिनु पर्दैन, एक हप्तापछि आउने हरेक समस्यासँग म पनि जुदने छू भने । तर, भेनाको बोली, यतिकैमा रोकियो..फेरि मेरो एउटा सुडानी साथी बोल्यो…आमालार्इ केही हुँदैन सुर्ता नगर्नु है..। मैले भने हुन्छ डेंग, आमाको राम्रो हेरचाह गर है…परिआए जतिबेला पनि अस्पताल लानु.। ल.ल.भन्दै उसको पनि बोलि रोकियो..।

मैले सोचें आमालार्इ अलि गारो परेर अस्पताल लाने काम हुँदैछ । मैले मेरो चल्दै गरेको परीक्षालार्इ बिचैमा छोडेर आउने कुरा सोचिन..किनकि आमाको अवस्था त्यति नाजुक होला भन्ने सोचेको पनि थिएन । तर एक क्षणमा छवि दाइ बोल्नु भयो । भाइ, के भनौं म बोल्न सक्दिनँ…मैले आत्तिएर सोधें..के भयो दाइ..के भयो..किन बोल्नु हुन्न.?.भाइ, आमालाई बचाउन सकिएन….आउने मेलो गर..! यो कुरा सुनेर अरु कुरा बोल्न सकिनँ ..मैले कता पूर्व, कता पश्चिम पत्ता लगाउन सकिनँ..आँखाबाट आँसुमात्र झरी रह्यो…मैले त्योबेला..अरु कै पनि सोच्न सकिनँ ..शायद संसारमा कोही सारै अभागी छ भने त्यो म नै होलाजस्तो लाग्यो । मैले सोच्न पनि सकिनँ आमाबिनाको जीन्दगी । बिस्तारै भाइले फोन गर्यो तर, उसको पनि गला बन्द भयो…बोल्न सकेन । मैले अब जानुपर्छ भने । जसोतसो भारी शरीरको साथ टिकेट हेर्न थालें, सबै टिकेट कम्पनि हेर्दा पनि त्यो दिनको टिकेट मिलेन । डिसम्बर १० तारिखको मात्र टिकेट मिल्यो, त्यही टिकेट काटेर भोलि जाने निर्णय गरें । कोठा छोडेर त्यो सल्टलेक सिटीमा राम दाइकोमा बस्ने योजना बनाएँ । बेलुका धेरै आफन्त साथी भाइहरु भेट्न आए… मुटु जलेको बेला आस्वासन सबैले दिए ..तर मेरो मनको घाउ…आस्वासनले निको हुने खालको थिएन । वश, चुपचाप सुनी मात्र रहें…कुनै प्रतिक्रिया जनाइनँ । मैले यतिबेला आफूलाई सम्हाल्न सकिनँ…आँखाभरि आँसु बगिरहेको छ ..एक हिसाबले मन फाटी रहेछ । मेरो छेउमा रामदाइको पनि आँखा ओबानो छैन…अरुभन्दा पनि एक वर्षको बसाईमा रामदाइसँगको आत्मीयता सारै नजिकको थियो । मेरी आमासँग भेट नभए पनि फोनमा दाइको कुरा भएको थियो । दाइले तिहारमा देउसी गीत गाएको आमालाई सारै मन परेको रहेछ । राम भाइ… तपाईं पनि अति नै राम्रो मान्छे हुनुहुँदो रहेछ….। मेरो छोरो एक्लो रहेनछ जस्तो लाग्यो…यसरी नै हाँसी रहनु है..भनेर आमाले रामदाइसँग मेरो अगाडि नै कुरा गर्नु भाको थियो । आमासँगको पहिलो कुराकानीमा नै रामदाइ पनि आमाको बोलिको मायालु शैलीप्रति अकर्षित हुनु हुन्थ्यो । त्यो रातले आफ्नु नेटो काट्दै थियो, तर मेरो लागि त्यो रात हजारौं वर्षजस्तो लागि रहेछ…। ‘नानी राम्रो पढेर आउनु है’, भनेर छुटिएको..तर, आउने बेलामा आमाको लाश हेर्नुपर्यो । मलाई आमाको मृत्यु भएको छ जस्तो लागेकै छैन..। रातभरि छटपटी अनि आँसुले सिरानी भिजेको छ ।

एकातिर घरमा परिवारको चित्कार, अर्कोतिर आफ्नो देश र माटोभन्दा टाढाको बसार्इ, मन सम्हाल्ने कुनै चीज नै थिएन । बिहानै डेल्टाको जहाजबाट मिनिपोलिस हुँदै, सुफल्ससम्मको यात्रा शुरु भयो । अरुबेला यही यात्रा अति रमाइलो हुन्थ्यो तर, आज सारै नरमाइलो भै रहेछ ! मनलाई थाम्दा थाम्दै पनि आँखाबाट आँसु झर्न छोडेको थिएन । मानिसहरु हामीलाई हेरेर छक्क पर्दथे । ओहो ! बाबु हो, तिमीहरुको आँखामा आँसु, के भयो ? किन आज आँखा सबै सुनिएको छ, ठूलो पीर परेजस्तो छ निः, जस्ता कुरा गरिरहन्थे । प्रत्युत्तरमा ‘होइन हजुर… आज मेरी आमाको अन्तिमपटक मृत अनुहार हेर्न जाँदैछु..शायद जीवनको यो मेरो सबैभन्दा दुखद दिन हो, त्यसकारण मैले आफूलाई सम्हाल्न सकिरहेको छैन भने । उनीहरुले पनि सहानुभूतिका शब्दहरु प्रकट गरे । मैले धन्यवाद भनिदिएँ । करिब चारघण्टाको यात्रापछि म घरमा आइपुगें । मानिसहरुको घुइँचो थियो । घरभित्रको चित्कार परबाटै सुनिन्थ्यो । घरभित्र के पसेको थिएँ, आमाको शव प्रष्टै देखें…मैले हेर्न सकिनँ..मेरो अघि सबैजना आएर रुन थाले..मेरो आँखा र आँसुहरु रित्ति सकेको थियो तर पनि मेरो मन उनिहरु संगै रोइरहेको थियो । मैले बिस्तारै आमाको अनुहार हेरें..हेरी रहें…किनकि अब त्यसरी म आमालाई हेर्न कहिल्यै पाउँदिन । आमाको अनुहारको चमक २४ घण्टासम्ममा पनि उस्तै थियो । मैले आमाको मृत शारीरमाथि एकथोपा पनि आँसु झरिन …किनकि आमाको आत्मलाई मेरो आँसुले नछेकोस । मैले त्योबेला आँसु झरेर रुँदा मेरी आमा फर्किनन्, त्यतिमात्र होइन, मैले घात धेरै गर्दा आमामाथि अर्को लाश थपिने कुरा मैले बुझी सकेको थिएँ । घरमा जिम्मेवारी सम्हाल्ने मान्छे म नै थिएँ । नचाहेर पनि मनलाई सम्हाल्नै परेको थियो. । त्यसै दिन आमाको दाहसंस्कार गरियो । सेतो बस्त्रमा सबै दाजु–भाइ, दिदी–बहिनीको अनुहारमा अँधेरो थियो । अरुभन्दा पनि दुःख पर्दा मरिमेट्ने साथीहरुलाई सम्झें । बिरानो देशमा दुःखको बेला आत्मीयताको अभाव हुँदोरहेछ । बिरानो देशमा आफ्नाहरु पनि बिरानै लाग्दो रहेछ । अरुभन्दा पनि दुःख पर्दा दुखिदिने मन नहुँदा अनि आश्वासन र मायाको आत्माभाव प्रकट नहुँदा एक्लोपन महशुस हुँदोरहेछ । आमाको १३ औं पुण्यतिथीको दिन एउटा आमाको नाम र्कितनको कार्यक्रमा राख्नुभन्दा कलाकार र समयको अभाव महशुस भयो र मैले सिकेका संगित र धुनहरुप्रति पनि वितृष्णा जागेर आयो । यदि मैले सिकेको संगित मेरो आफ्नै दुःखमा काम लाग्दैन भने के अर्थ भयो र मेरो संगित र साधनाको ? सोचें मैले मनमनै । यतिमात्र होइन, आफ्न्त र परिवार विश्वभरि छरिँदा र एकै ठाँउ नहुँदा अतिनै एक्लो महशुस हुँदोरहेछ । जेहोस्, आमाको आत्मलाई मिसिसिपी नदीमा कहिले नर्फकिने गरी विदा गरेर आउँदा मैले गंगा नदीलाई सम्झिरहेको थिएँ । अनि भगवान जीवन र अन्त्यको विषयमा हारेका प्रश्नहरु मभित्र खेलिरहेका थिए ।

जेहोस्, जीवनपछि मृत्यु निश्चित छ । तर यति कुराहरु थाहा हुँदाहुँदै पनि म मानिसको भाग्य जीवन र मृत्युका रहस्यहरुको विषयमा सोचिरहेको छु । मृत्युले मानिसलाई नराम्रोसँग प्रभाव पार्दोरहेछ । मृत्यु स्वीकार्नु सत्यता हो तर, पनि मलाई आमाको मृत्युलाई सहजरुपमा स्वीकार्न मेरो मनले सकिरहेको छैन । औषधिले कुनै मानिसलाई बचाउँछ भने मेरी आमालाई बँचाउन किन सकेन ? औषधिको असरले गर्दा मेरी आमाको मृत्यु भयो ! त्यसैले गर्दा कुनै डाक्टरका हातहरु जीवन भएर आउँछन् भने कुनै डाक्टरहरु भने मेरी आमाको लागि मृत्यु भएर आए । तर, पनि मेरी आमा, मेरो लागि यो संसारबाट टाढा भएकी छैनन् । आज धेरै समयपछि पनि उनको याद र माया आइरहन्छ । जब मैले पचासवर्ष मात्र पुगेकी मेरी आमालाई त्यसपछि मैले नभएको महशुस गरें, मेरो लागि भगवान भने पनि देउता भने पनि मेरी आमामात्र थिइन् । आमा शब्दसँग दाँज्न मिल्ने न अकाश रहेछ न त धर्ती नै ! । आमाको माया र ममताको महत्व आज एक्लै एक्लै रातहरु बिताउँदा महशुस गरिरहेछु । आज घर रित्तो छ, संगितका धुनहरु मेरो घरमा सारै कम गुञ्जन थालेको छ । परिवारका अनुहारमा वास्तविक हाँसो र खुशी भेटिन छोडेको छ । यसको कारण एउटै हो, आमाको माया र ममताको अभाव । वरिपरि सबैजना आफ्नै प्यारी आमालाई उपहार र दीघार्युको कामना व्यक्त गरिरहेको देख्छु । म भने अर्कोतिर आमाको तस्वीर हेरेर रुइरहेको हुन्छु…… आमाको ममता र छहारीमा बाच्ने ती मानिसहरु कति भाग्यमानी होलान्… सम्झन्छु ! आमाको अभावमा म खुशीहरु सबै खुशी हुदाँ रहेनछन् । अन्त्यमा यदि पुनर्जन्म छ भने मेरी ममतामयी आमाको कोखमा जन्मन पाउँ भनी भगवानसगँ प्रार्थना गरिरहेछु र मैले गाउँदा तिमी नाच्ने गीतहरु तिम्रै नाममा अनि तिम्रै सम्झनामा आजन्म समर्पण गरिरहेछु आमा !

3 Replies to “मेरी आमा”

  1. Lakshmi Prasad Dhakal

    किशोर जी,
    कलम चल्दो रहेछ |
    लेख अति राम्रो| भाबिस्यामा पनि पढ्ने अपेक्छाका साथ |
    नेदेरलैण्डबाट लक्ष्मी ढकाल

  2. Kishor

    धन्यवाद बिष्णु जी..यो मेरो पहिलो प्रयास हो.

  3. Kishor

    लक्ष्मी जी माथि बिष्णु हुन गएको मा माफ पु है

Leave a Reply

Your email address will not be published. Required fields are marked *