मेरो अतीत र मेरी प्यारी बहिनी आकृति
धर्मेन्द्र तिम्सिना “क्षितिज”
आईडाओ, अमेरिका
वि.स २०६५ सालको मङ्सिर ३ गते म स्यांग्जा जिल्लाको चापाकोट भन्ने एउटा अन्जान ठाउँको लागि प्रस्थान गरें । म त्यहाँ एउटा “श्री बुद्ध सामुदायिक इंगलिस स्कुल” मा शिक्षण पेशाको लागि हिँडेको थिएँ । हुन त मैले २०६१ सालको यस.एल.सी दिएपछि नै मेरै गाउँ छेउमा झापाकै अनारमनी खोपबाडीको श्री कन्चन इंगलिस स्कुलमा पढाउने गर्दथें। त्यहाँ सानो स्कुल अनि त्यसमाथि फेरि पढाएबापत दिइने रकम साह्रै थोरै थियो । लगभग एक महिनाको ११५० मात्र । मैले झापाको त्यो स्कुलमा पढाउँदा पढाउँदै मेरो दाजुलाई त्यहाँ पढाउनको लागि छोडेर कतै अलि टाढा जाने विचार गरिरहेको थिएँ। त्यसैक्रममा मैले मेरै गाउँको एउटा साथीले स्यांग्जा जिल्लाको कुनै ठाउँको एउटा स्कुललाई शिशकको आवश्यकता परेको र उ त्यसैको खोजीमा गाउमा आएको थाहा पाएँ। मैले त्यो कुरा थाहा पाउने बित्तिकै उसलाई गएर भेटें अनि उचाहिं, अहिले जान नभ्याउने अनि पछी आउने भनी मलाई त्यो स्कुलको पत्ता बतायो । यहाँ लेख्नै पर्ने कुरा के छ भने म एक भुटानी शरनार्थी हुँ। भुटानी निरंकुशताको बर्बर दमनको चपेटामा परी झापाका सातवटामध्ये सबैभन्दा सानो शिविर गोलधापमा बसोबास गर्दथें। मेरो घर भनौं या ओत लाग्ने ठाउँ, सानो झुप्रोबाहेक आफ्नो भन्नु केहि थिएन । यूएनएचसीआर, डब्लुएफपी, डब्लुएचओ-जस्ता संस्थाहरुले हामीलाई जेनतेन प्राणसम्म धान्नसक्ने अत्यावश्यक सामग्रीहरु दिन्थे अनि हामी त्यसैमा निर्भर हुनुपर्दथ्यो। पन्ध्र दिनको लागि एकजनालाई ५ के जी ६०० ग्राम चामल, ५०० ग्राम दाल, ३५० ग्राम तेल, चिनी २५० ग्राम, चना २५० ग्राम, ४५० ग्राम मकैको पिठो अनि लगभग ५० ग्राम नून दिने गरिन्थ्यो । यसो विचार गरौँ त! यति सामग्रीले कहाँ पन्ध्र दिनलाई पुग्थ्यो र ! पन्ध्र दिनमा कति दिन भोकै, कति दिन नूनसँग अनि कति दिन अलिनो भातको माडमात्रै खाएर सन्तोष मान्नुपर्ने अवस्था थियो । तर खुशीको कुरा के थियो भने हामीलाई कारितास नेपाल भन्ने एउटा संस्थाले कक्षा- १० सम्म पढाउँथ्यो अनि उच्च शिक्षाका लागि एकजनाको ३ हजारको दरले दुई वर्षको लागि ६ हजार दिने गर्दथ्यो । तै पनि यो छ हजारले दुईवर्षको पढाइलाई कहाँ धान्न सक्थ्यो र !यहाँ दुःखका साथ लेख्नुपर्छ कि मैले झापाको मेची क्याम्पसबाट आई.ए. उत्तिर्ण गरेको हुँ । तर मैले घरको अवस्था नाजुक भएको कारणले एसएलसी दिएर तीन महिना अथवा परीक्षाफल नआउन्जेल घर खर्च र आफ्नो पढाइ खर्च जुटाउनको लागि झापाकै पुहातुबरी भन्ने ठाउँमा दुई घण्टा हिँडेर एउटा सिमेन्ट फ्याक्ट्रीमा काम गरें। त्यसपछि जब एसएलसीको परीक्षाफल आयो, तब म उत्तिर्ण भएछु अनि सिमेन्ट फ्याक्ट्रीको काम छोडेर मेची क्याम्पस गएर भर्ना भएँ । भर्ना भएरमात्र के गर्नु, घरको अवस्थाले गर्दा म फेरि त्यहि गाउँको एउटा श्री कन्चन इंग्लिश बोर्डिंग स्कुलमा महिनाको ११५० मा पढाउन थालें। सिमेन्ट फ्याक्ट्रीमा धेरै कमाइ भए पनि मलाई स्कुलमा नै पढाउन मन पर्थ्यो किनभने मलाई विद्यार्थीहरुले “गुड मर्निंग’’भनेको सारै मनपर्थ्यो । सिमेन्ट फ्याक्ट्रीमा जस्तो गाह्रो काम पनि थिएन। फेरि म क्याम्पस साताको हरेक शुक्रबार मात्र जाने गर्दथें। नेपाली विषयमा म धेरै अगाड़ि बढ्ने भएकाले मलाई क्याम्पसमा नेपाली पढाउने शिक्षकले “शुक्रबारे विद्यार्थी ” भनेर चिन्ने गर्दथे । आज पनि त्यो दिन सम्झँदा मलाई कति रमाइलो लाग्दछ । हप्ताको एकदिन मात्र क्याम्पस गएर पनि म कहिल्यै अनुत्तिर्ण भइनँ । यो देखेर मेरा साथीहरु छक्क पर्दथे । अहिले म संयुक्त राज्य अमेरिकाको ‘आइडाहो’ राज्यको बोइजी भन्ने ठाउँमा छु ।
शिविरमा छँदाको त्यो घरभित्रै पानी चुहुने खरले छाएको छानो, भाटाले बेरा गरिएको घर अनि अभावै अभावको जिन्दगी सम्झँदा कहाली लागेर आउँछ। यति भएरै पनि नेपाललाई मैले धन्यवाद दिइन भने मलाई नेपाल आमाले धिक्कार्नेछिन् किनकि नेपालले मलाई बास दियो अनि नेपाल आमाकै काखमा मैले चार वर्षको उमेरदेखि हुर्कने मौका पाएँ । तोते स्वरमा मैले क, ख, ग, घ नेपाली भूमिमा सिकेको हुनाले. म जति मेरो जन्मभूमिलाई माया गर्छु त्यति नै नेपाल, नेपालीलाई माया गर्छु। किनकि मेरो जन्मभूमि भुटान हो भने कर्मभूमि नेपाल हो । म जति पटक मेरो जन्मभूमिलाई सम्झन्छु, मैले त्यति नै पटक नेपाल आमालाई सम्झनुपर्दछ र सम्झन्छु पनि । फेरि मैले मेरो जन्मभूमिलाई जतिपटक धोग्छु, त्यति नै पटक मेरो कर्मभुमिलाई सम्झने गरेको छु। यसरि जति चोटि मेरो मुटुको धडकन मेरो मातृभूमिको सम्झनामा धडकन्छ, त्यति नै चोटि नेपाली माटोको लागि पनि धडकन्छ। मैले जतिचोटि जय भुटान भन्छु, त्यति नै चोटि जय नेपाल भन्नुपर्छ अनि फेरि भन्ने गरेको पनि छु । अब विचार गर्नुस म कति भाग्यमानी रहेछु, तपाईहरु आफैं कल्पना गर्नुस । कसैले मलाई तेरो देश कुन हो भनेर सोध्यो भने म नहिच्किचाइकन भन्नसक्छु पहिले भुटान, फेरि नेपाल अनि अहिले दुईवटै! किनकि मैले माथि नै उल्लेख गरिसकें कि मेरो जन्मभूमि भुटान हो अनि कर्मभूमि नेपाल । म आफैं सम्झन्छु, म कति भाग्यमानी रहेछु, मेरा दुई-दुई जना मलाई माया गर्ने आमाहरु हुनुहुन्छ। यस्तो भाग्य बोकेर जन्मने मानिस संसारमा बिरलै होलान् जस्तो मलाई लाग्छ । म अहिले अमेरिकामा छु र मलाई कसैले तेरो देश कुन हो भनेर सोध्यो भने म कहिल्यै पनि अमेरिका भन्दिन किनकि यो मेरो न जन्मभूमि हो, न त कर्मभुमि नै । मेरा बाबा-आमा, दाजु-भाइ सबै यहीं अमेरिकामा हुनुहुन्छ तर, म वाचा पनि गर्छु कि म यहिं मेरो सम्पूर्ण जीवन बिताउने छैन । सकें भने अवश्य पनि म मेरो जन्मभूमि भुटानमा गएर मर्नेछु अथवा सकिन भने कर्मभूमिमा फर्किन त मलाई कसैले रोक्ने छैन । म अवश्य मेरो कर्मभूमिमा फर्कनेछु र जीवनको अन्तिम सास फेर्नेछ !
साँच्ची म स्यांग्जाको चापाकोट भन्ने ठाउँको कुरा गर्दैथिएँ । मलाई त्यो साथी पीबी क्षेत्रीले स्यांग्जाको त्यो स्कुलमा पुग्ने पत्ता बतायो। सबैभन्दा पहिला झापाको बिर्तामोडबाट पोखराको टिकेट काट्नु अनि पोखराबाट वालिंग हुँदै गल्यांग जानू अनि त्यहाँ गएर श्रीबुद्ध सामुदायिक इंग्लिस स्कुल कुन हो भनेर सोध्नू, सबैले बताइदिन्छ्न् भनेर उसले मलाई विस्तारमा बतायो। अनि मैले पनि उसले भनेका सबै कुराहरु बुँदागत रुपमा मेरो डायरीमा टिपें । त्यसपछि मैले त्यो स्कुलको प्रिन्सिपलको मोबाइल नम्बर पनि मागें । उसले प्रिन्सिपलको नाम प्रेमचन्द्र देवकोटा र मोबाइल नम्बर पनि दियो । त्यतिबेला मसँग एउटा सस्तो नोकिया मोबाइल थियो, जुन मेरी जेठी फुपुकी छोरी मेरी दिदी जो भारतकोसिलिगुडीमा हुनुहुन्छ, उहाँले मलाई त्यो मोबाइल भाइलाई भनेर दिनुभएको थियो । त्यो दिदीको मनलाई ठुलै मान्नुपर्दछ किनभने उनले मलाई त्यतिको मोबाइल त्यो समयमा दिनु भनेको मेरा लागि चानचुने कुरा थिएन । त्यसपछि मैले त्यो प्रिन्सिपलको नम्बरमा डायल गरेर सबै कुरा बुझें । प्रिन्सिपलले मलाई सुरुमा रु. ५५०० दिने भन्यो । कहाँको झापाको ११५० अनि स्यांग्जाको ५५००, मैले एकै पटक हुन्छ भनिदिएँ । अनि म खुशी हुँदै घर गएर बाबा-आमा र सबै परिवारलाई भनें । दाजु पनि खुशी भयो किनभने उ त्यो भन्दा अगाडी रौतहटमा पढाउँथ्यो अनि हाम्रो बाक्लो छाप्रामा अघिल्लो सालको चैतमा शिविरनै सबै आगलागीमा परि जम्मा १५०० जति छाप्रामध्ये १२०० जति जलेर खरानी भएका थिए । त्यस आगलागीमा मेरो झुप्रो पनि जलेको थियो । यसकारण दाजु रौतहट पढाउन फेरि गएको थिएन । त्यो आगलागीमा परी मेरो सबैथोक जलेर खरानी भएको थियो, मेरो प्रमाणपत्र र कविता र गजलको डायरी बाहेक ।
यसरि घरसल्लाह गरी म पर्सिपल्ट विसं २०६५ साल मंग्सिर ३ गते स्यांग्जाको चापाकोट भन्ने ठाउँतिर लागें । कहिल्यै एक्लै लामो बाटो नहिँडेको, त्यो दिन मलाई आफैंलाई एकातिर डर र अर्कातिर खुशी लागिरहेको थियो । मैले पीबी सरले भनेअनुसार बिर्तामोडबाट पोखरासम्मको टिकट काटें । टिकट काट्दा दिनको लगभग २:३० बजेको हुनुपर्दछ । टिकट लिइसकेपछी म ६:३० को गाडी पर्खिन थालें । बल्-तल्ल ६:३० भयो अनि लामो बस पोखरा पोखरा, पोखरा भन्दै ठुलो आवाजका साथ मेरो अगाडी आएर उभियो । मैले पनि गाडी नम्बर हेरें अनि त्यहि गाडी हो भन्ने थाहा पाएपछि, आफ्नो सीटमा गएर बसें । गाडी भिडले एकदमै खचाखच भरिएको थियो । त्यो भिड़लाई देखेर लाग्थ्यो अब पनि अझै यात्रुहरु थपिए भने यो बस फुट्न सक्छ । त्यो लामो दुरीको पहिलो यात्रामा मैले धेरै तीता-मीठा अनुभवहरु समेट्ने मौका पाएँ । बस बेगसँग दगुरिरहेको थियो । एक्कासि घ्याच्च रोकियो । म त निदाउन लागेको रहेछु, बस रोकिनाले ब्युझिन पुगेंछु । अनि कन्डक्टरले एउटा ठुलो भाँडालाई देखाउँदै, यो कसको हो, तल पुलिसले भनेको यसको मालिक झर्ने रे- भनेर कराइरहेको थियो । यसै क्रममा एउटा बुढो मधिसे उठेर मेरो हो भनेर भन्यो अनि कन्डक्टरले तल झर्नुस रे पुलिसले बोलाउँदैछ भनेर भन्यो । विचरा, त्यो मधिसे लगभग ६० वर्षको हुनुपर्दछ, धर्खराउँदै निद्रासरी उठेर तल झर्यो। अनि किन बोलाउनु भएको भनेर सोध्यो । अनि त्यो पुलिसले रिसाउँदै भन्यो यो भाँडामा के ल्याएको छस्। त्यसपछि त्यो बुढो मधिसेले -माछाको भुरा हजुर ! मेरो छोरीलाई पोखरामा लगिदिएको- भन्यो । अनि उसले त्यसको कर तिरेको कागज पनि देखायो । तर त्यो पशुजस्तै पुलिसले अहँ ! लान पाउदैनस, मेरो एरियामा यसको स्वीकृति छैन, बरु लाने भए २०० रुपैयाँ निकाल, नत्र तलाई र तेरो भाँडालाई म यहीँ राखिदिन्छु भनेर ठुलो स्वरमा करायो। विचरा !त्यो बुढो मधिसेसँग धेरै पैसा पनि रहेनछ क्यारे, अनि काप्दै भए पनि २०० उसको फाटेको खल्तीबाट निकालेर दियो अनि बस गुड्यो। यसरि एउटा निर्दोष व्यक्तिबाट हाकाहाकी घुस लिने प्रहरीलाई किन यो जनताको शासन भएको गणतान्त्रिक मुलुकमा कारवाही नगरिएको होला भनि मेरो मनमा धेरै खुल्दुली भयो । यसरि बस अगाडी बढिरहेको थियो। मलाई त्यो अघिको घटनाले मेरो सबै निद्रा नै बिथोलिदिएछ क्यार – पटक्कै निद्रा लागेन। बस कहिले हर्न बजाउँदै, कहिले ब्रेक लगाउँदै आफ्नै रफ्तारमा अघि बढिरहेको थियो। मलाई चाहिं निद्रा नलागेर पत्यार लागिरहेको थियो। त्यसै क्रममा मेरै छेउमा बसेको एउटा साथीलाई हेरें । उ पनि मजस्तै छट्पटाइरहेको मैले पाएँ अनि झट्ट सोधिहालें, साथीलाई निद्रा नलागेजस्तो छ नि । अनि उसले जवाफ दियो, अँ ! त, साथी अघिको त्यो घुस्याहा प्रहरीले मेरो निद्रा नै सबै खल्बलाइदियो। साले !यस्ता घुस्याहरुलाई माओवादीहरुले किन छानी-छानी नमारेक होलान्, रिसाउँदै उसले फेरि थप्यो। मैले केहि बोलिन । एकछिन दुवैजना चुप रह्यौं अनि मैले आफैं मुख फोरें-हजुरको नाम चाहिं के हो नि ? रिशन राना- उसले छोटो जवाफ दियो, लाग्थ्यो उ अझै रिसाइरहेको छ। एकछिनपछि तपाईंको नि ? उसले सोध्यो । मैले नि भनिदिएँ कि-धर्मेन्द्र तिम्सिना। अनि घर कहाँ हो नि ? मैले सोधें, उसले गाउँको नाम बतायो तर, मैले उसको गाउँको नाम बिर्सिएँ। उ अहिले काठमांडूमा एउटा पसल थापेर बस्छ। त्यसपछि मैले पनि मेरो सबै बताएँ अनि उसले पनि बतायो। अनि उ र म त्यो दिनदेखि साथी भयौं र अहिले पनि छौं।
यसरी रातभरिको गाडीको हिँडाइपछि म पोखरा पुगें। करिब बिहानको ७:३० बजेको हुनुपर्छ म पोखरा पुग्दाखेरी। पोखरामा झापाको भन्दा निकै बढी चिसो भएको महसुस गरेको थिएँ, मैले त्यतिबेला। बिहान गाडीबाट झरेर म नस्ता खान भनि होटेलतिर पसें किनकि हिजो खाएको भातका सिताहरु पचिसकेका थिए होलान पेटमा। म होटलमा दुई-चारवटा समोसा खाएर फेरि गल्यांग्को गाडी कताबाट आउँछ भनि रोडको एउटा साइडमा कुर्न थालें। एकैछिन कुरेपछि मैले बस कहाँ लाग्छ भनि एउटा पसलेलाई सोधें । उसले नि मलाई गाडी लाग्ने ठाउँ बताइदियो अनि म त्यो मानिसले भनेको ठाउँमा गएर कुरिरहें । करिब आधा घन्टाको पर्खाइपछी एउटा बस आयो । कन्डक्टरले बसबाट गल्यांग, गल्यांग, गल्यांग भनेको आवाज आयो अनि म त्यहि बसमा चढें। बसमा मानिसहरुको एकदमै खचाखच भिड रहेछ । बल्ल-तल्ल खुट्टा राख्ने ठाउँसम्म पाएँ अनि उभिएरै यात्रामा अघि बढें। पहाडको घुमाउरो बाटो भएकाले मलाई एकदमै डर लागिरहेको थियो। किनकि मैले त्यस्तो पहाडको यात्रा त्योभन्दा अगाडी कहिल्यै गरेको थिइन। बल्ल लगभग ४-५ घन्टाको यात्रापछि गल्यांग आइपुगेछ । त्यहाँ आइपुग्दा मेरा खुट्टा दुखिरहेका थिए। लाग्थ्यो अब अगाडी एक पाइला पनि हिड्न सक्दिन जस्तो । सबैभन्दा धेरै सास्ती मैले पोखरादेखि गल्यांगसम्म आउँदा पाएँ। नयाँ ठाउँको यात्रा, नयाँ अनुहारहरु अनि नयाँ बोल्ने तरिका देख्दा म छक्क परिरहेको थिएँ । यात्रामा मलाई कसैले कहाँ जाने भनि सोध्दा मैले एकछिन चुप रहनुपर्द्थ्यो किनकि एकैछिनमा मैले गल्यांग भन्ने शब्द बिर्संन्थें। अनि खल्तीबाट ठाउँको नाम लेखेको कागजको टुक्रा निकालेर हेर्नुपर्दथ्यो अनिमात्र म भन्न सक्दथें, गल्यांग हिँडेको भनेर। किन !किन ! सबै मानिसहरु मलाई हेरी रहन्थे । उनीहरुलाई मेरो बोल्ने शैली अनौठो लागेर होला । हुँन त म नेपाली नै बोल्दथें तर, उनीहरुले बोल्ने र मैले बोल्ने शैली फरक थियो । म गल्यांगमा गाडीबाट झरिसकेपछी फेरि ठाउँको नाम लेखेको कागजको टुक्रा निकालेर हेरें अनि बल्ल चापाकोट हो भन्ने फेरि सम्झिएँ । बेला-बेला त लाग्थ्यो यो नाम नै नजानिने ठाउँमा गएर मैले कसरि जागिर खाँउला । फेरि मैले त्यहि ठाउँमा जानुबाहेक अरु विकल्प पनि थिएन किनकि चापाकोट पुग्ने भाडामात्र बाँचेको थियो मसँग । म गाडिबाट झर्नासाथ एउटा सानो ट्याक्सी आयो लाग्थ्यो त्यो ट्याक्सीमा मात्र ६ जना आँटदछ्न। फेरि सानो ट्याक्सी भनेर मैले त्यसैमा नचढी सुख थिएन किनकि त्यहि ट्याक्सीमात्र चापाकोट पुग्ने एउटा मात्र साधन थियो। म त्यहि ट्याक्सीको पछाडीपट्टि बसें अनि ट्याक्सी एकैछिन मान्छे भेला गर्न त्यहिं रोकियो। एकै छिनमा मानिसहरु आँटि-नआँटी ट्याक्सीभित्र पसे । लाग्थ्यो ट्याक्सीभित्रभन्दा छतमा धेरै यात्रुहरु बसेका छन्। मलाई गल्यांग्को यात्रा कठिन लागेको थियो तर त्यो मेरो भ्रम साबित भयो जब मैले गल्यांगबाट चापाकोटको यात्रा शुरु गरें। गल्यांगसम्म त बाटो घुमाउरो मात्र थियो । कमसेकम त्यो बाटोमा पिच गरेको फराकिलो रोड थियो। तर अबको यो मेरो यात्रामा त्यस्तो थिएन। त्यहाँ कुनै पिच गरेको बाटो पनि थिएन, सानु बाटो, लगभग दुइवटा ट्याक्सी पनि मुस्किलले अँटदथ्यो । यहाँसम्म कि विपरित दिशाबाट कुनै गाडी आयो भने, एउटा गाडीलाई पछाडी सारेर घुमाउरो अनि अलिक फराकिलो ठाउँतिर लानुपर्दथ्यो अनि बाटो पनि खाल्डा- खुल्डिले भरिएको थियो। मलाई गल्यांगदेखि चापाकोटसम्मको यात्रामा आजचाहिं म बाँचे भनें धेरै वर्ष बाच्नेछु जस्तो लागिरहेको थियो। एकापट्टी ठुलो पहाड जस्तै डॉडो अनि अर्कोपट्टी नेपालकै गहिरो खोला कालीगण्डकीले पनि मेरो सातो लगिरहेको थियो। मानिसहरुको कोलाहल पनि उस्तै थियो । छतमा बसेका अधबैंसे ठिटाहरु विवाहमा खुशीले चिच्याएजस्तो गरि चिच्याइरहेको देखिन्थ्यो । खोइ, कुन्नि किन उनीहरु खुशी या डरले चिच्याइरहेका थिए मैले बुझ्न सकेको थिइन। यस्तो पहाडै -पहाड बिचको बाटो भएर जानुपर्दा मलाई म पुग्ने गाउँ पनि यस्तै पहाडहरुमै होला जस्तो लागिरहेको थियो अनि डरले भनौ या माया लागेर भनौ त्यतिबेला मैले मेरो घरपरिवारलाई सम्झिरहेको थिएँ। करिब तीन घन्टाको कष्टपूर्ण यात्रापछि म बल्ल चापाकोट भन्ने ठाउँमा पुगें । मैले पहिले नै कन्डक्टरलाई म यहाँ पहिलोचोटि आएको अनि मलाई त्यो ठाउँको बारेमा केहि थाहा छैन, त्यसैले श्री बुद्ध सामुदायिक इंग्लिस बोर्डिंग स्कुलको अगाडी रोकिदिनु भनि भनेकोले त्यो कन्डक्टरले मलाई त्यहि स्कुलको अगाडी गाडी रोकिदियो । अघि मैले सोचेजस्तो डाँडामा त्यो घर रहेनछ। त्यो त एउटा ठुलो फाँट रहेछ। डाँडाहरुले चारैतिरबाट घेरेको रहेछ त्यो ठाउँलाई। अनि म सिधै मेरो ब्याग बोकेर स्कुलको छेउमा गएँ । त्यसपछि बाहिर पिसाब फेर्न निस्किएको विद्यार्थीलाई यहाँ अफिस कोठा कहाँ छ भनेर सोधें । उसले पनि मलाई -ऊ ! त्यो हो- भनेर हातले देखाइदियो । अनि म सिधै त्यो विद्यार्थीलाई थ्याँग्स भनेर अफिस कोठामा गएँ। भित्र पस्दा एकजना, प्रिन्सिपल लेखेको टेबुल पछाडिको कुर्सीमा बसिरहेको देखें अनि ऊ नै प्रिन्सिपल जस्तो लागेर नमस्ते सर-भनें। मेरो अड्कल ठिकै भएछ । ऊ प्रिन्सिपल नै रहेछन् अनि मैले आफु झापाबाट आएको अनि मलाई यसै स्कुलको पीबी सरले पठाएको भनेर भनें । त्यसपछि एकैछिन हाम्रो भलाकुसारी भयो । अनि उसले मलाई केहि नसोधी त्यहाँ कक्षा ७ सम्म भएको अनि त्यतिबेला नै मलाई कक्षा ३ मा पढाउनको लागि पठायो किनकि मैले पहिले नै सबै विषय पढाउन सक्छु भनेको थिए। आफुलाई अंग्रेजी विषय सबैभन्दा सजिलो भएकाले गएर पढाएँ । उसले फेरि कक्षा ६ र ७ मा पनि पढाउन लगायो । त्यो पनि मैले सजिलै पढाइदिएँ अनि मेरो पढाउने मता देखेर उसले मलाई भोलिदेखि कक्षा शुरु गरे हुन्छ भन्यो । त्यसपछि स्कुल विदा भएपछि म त्यहि स्कुलको एउटा “थानेस्वर विक” भन्ने शिक्षकसँग उसकै घरमा त्यस दिनको लागि बास बस्न गएँ। अहिले त्यो सर ख्रीस्चियन धर्मको पास्टर भएको छ।
त्यो दिन मैले पहिलोपटक चापाकोटमा पाइला टेकेको पहिलो दिन थियो । मलाई कता-कता नरमाइलो लागिरहेको थियो। फेरि बाटो सम्झँदा त झन् अब कसरि फर्केर घर जानुजस्तो पनि लागिरहेको थियो । अनि मैले त्यो विक सरलाई सोधें “सर, यहाँको बाटो यस्तै हो कि अर्को पनि छ ? पोखरा जाने। उसले जवाफ दियो, -छ सर तर, यो भन्दा नि खराब, वालींगको बाटो छ। ओहो ! उसको यो कुराले मेरो आङ जुरुंग फुलेर आयो अनि गुन्द्रुकको गाउँले तरकारिसँग गाउँले खाना खाएँ। त्यसपछि सुत्ने कोठामा गएँ अनि गलेको हुनाले छिट्टै निदाइहालेंछु । भोलिपल्ट बिहान सबेरै उठें अनि त्यो सरलाई भनेर नुहाउनको लागि कालिगण्डकीतिर दुबैजना लाग्यौं । जाडोले हो कि कुन्नि किन हो त्यो सरले नुहाएन। मलाई भने गाडीको धुलो र धुवाँले गर्दा कतिबेला नुहाउनु जस्तो लागिरहेको थियो अनि झट्टपट्ट नुहाईहालें । म नुहाउँदै गर्दा त्यो सरले मलाई भन्यो सर, यो नदीलाई कालिगण्डकी भन्छन्। यहि नदीमा शालिग्राम पाइन्छ, धर्मीले मात्र शालिग्राम भेटछन् रे सर अनि तपाइँ त बाहुन पनि हुनुहुँदोरहेछ। शालिग्राम पुज्नुहुन्थ्यो होला नि घरमा भनेर उसले मलाई भन्यो । मैले उसको प्रश्नको उत्तर दिइन किनकि म ईश्वरमा त्यति विश्वाश राख्दिन थिएँ अनि बाबाले पुज्ने शालिग्राम पनि, उनको आँखा छलेर कतै मिल्काइदिउँ जस्तो लाग्थ्यो । ढुंगा पनि कहीं ईश्वर हुन्छ ? जस्तो मलाई लाग्थ्यो । अनि अहिले पनि त्यस्तै लाग्छ। मलाई बरु जिउँदो मनलाई पुज्न मन लाग्छ तर, त्यो नदेखिने ढुंगाभित्रको ईश्वरमा पटक्कै विश्वास लाग्दैन । मैले कुनै प्रत्यूत्तर नफर्काएको देखेर उसले मलाई फेरि त्यस्तो कुनै प्रश्न गरेन अनि मैले नै भनिदिएँ, सर ! विचार गर्नुस त, म यदि यस्तो शालिग्राम पुज्ने भएको भए हजुरको घरमा खाना त के पानि पनि खाने थिइन होला । अनि उसले बुझेजस्तो गरेर मुन्टो हल्लायो । त्यसपछि नुहाईधुहाइ सकेर हामी दुबैजना घर फर्कियौं । घरमा आउँदा उसकी आमाले खाना तयार पारिसकेकी रहिछन्। खाना खाएर हामी दुबैजना स्कुलतर्फ लाग्यौं । स्कुलमा पुगेपछि प्रिन्सिपलले मलाई आज तपाईका दुईजना साथीहरु पुर्वबाटै आउँदै हुनुहुन्छ अनि भरेदेखि तपाईंहरु तीनैजना यहाँ छेवैमा मैले वाजिन्द्र वि.क को घरमा एउटा कोठा मिलाइदिएको छु, त्यहीं बस्नु भन्यो । पछी बुझ्दा वाजिन्द्र वि.क त्यो गाउँका निकै ठुला समाजसेवी रहेछन्। लगभग दिनको दुई बजेको होला, दुई जना; एउटा लगभग ३० वर्षको अनि अर्को मेरै उमेरको मानिसलाई मैले प्रिन्सिपलसँग कुराकानी गरिरहेको देखें अनि छेउमा गएर प्रिन्सिपललाई, उहाँहरु नै हुनुहुन्छ पूर्वको साथीहरु? भनेर सोधें । प्रिन्सिपलले हो-उहाँहरु नै हुनुहुन्छ भनेर भन्यो अनि हाम्रो परिचय भयो। ३० वर्ष जस्तो देखिने चाहिंले म तिलमाधव पौडेल अनि अर्कोले अजित पौडेल भनेर मलाई परिचय दिए । मैले पनि आफ्नो परिचए दिएँ । पछी बुझ्दा उनीहरुले आफ्नो थर ढाँटेका रहेछन् । पछी उनीहरु आफैंले मलाई हामीहरु दुबैजना वि.क हौं तर ढाट्नु हाम्रो विवशता थियो भनेर भने। उनीहरु सनिश्चरे शरणार्थी शिविरबाट आएका रहेछन् । अहिले तिलमाधव सर कहाँ हुनुहुन्छ मलाई थाहा छैन, अजित सर अमेरिकामा भएको बुझेको छु तर सम्पर्क भएको छैन । त्यो दिन त्यतिकै बित्यो अनि हामी तीनैजना संगै बस्न थाल्यौं। दुई तीन दिनपछि मलाई त्यो स्कुलमा पठाउने पीबी सर पनि आइपुग्यो अनि सँगै मिलेर बस्न थाल्यौं । दुई-तीन दिन त राम्रैसँग बसियो तर, पछी थाहा भयो कि सबै साथीहरु रक्सि पिउँदा रहेछन् । मलाई त्यस्तो कुरा थाहा थिएन आफु भने केहि त्यस्तो नखाने भएकाले मलाई उनीहरुको बानी ठिक लागेन । अनि एक-दुई दिनमा नै मैले त्यहि स्कुलका कक्षा तीनका विद्यार्थीहरुलाई आफुलाई अभिभावकको घरमा बस्न मन लागेको अनि कुनै अभिभावकलाई शिक्षक राख्न मन लागेको भए घरमा कुरा गर्नु अथवा बाबा- आमालाई भन्नु भनेर मैले खबर पठाएँ । आफुलाई खाने र बस्ने व्यवस्था भए त्यो घरका केटा-केटीलाई म पढाएर बस्ने थिएँ भनेर पनि भनें । भोलिपल्ट मलाई त्यहि ३ कि एक आवृति कोइराला नाम गरेकी छात्राले, मम्मीले कुरा गर्न बोलौनु भाको छ, भरे छुट्टी भएर जाने रे भनेर भनिन्। त्यसपछि छुट्टी भएर म बेलुकीको समयमा त्यो घरमा गएँ । मसँग अरु तीनै जना साथीहरु पनि गएका थिए । त्यो परिवारमा धेरै परिवार रहेछन् । जम्मा, ११ जना तर, त्यो भर गाउँमा निक्कै नाम चलेको मानिसको घर रहेछ । त्यस घरका बुढा बुबा डाक्टर रहेछन् । ती बुढाको नाम मोहन कोइराला रहेछ र उनको नाम त्यहाँबाट सात गाउँ पारिका मानिसहरुले पनि जान्दारहेछन्, किनभने उनि त्यो गाउँका सबैभन्दा पुराना डाक्टर रहेछन् । अनि क्रमशः जेठा छोरा जो मलाई लाने विद्यार्थीका बाबा रहेछन्, उनी पनि त्यहि गाउँका सानातिना डाक्टर अनि त्यसै गरि कान्छा छोरा अनि कान्छी बुहारी पनि गाउँकै हेल्थ पोस्ट हेर्ने एच.ए. रहेछन् । यसरी हेर्दा त्यो परिवार त्यो गाउँको निकै धनी र सभ्य परिवार रहेछ । तर मैले पढाउनुपर्ने चाहिं जेठा छोराका चार छोराछोरी रहेछन् । क्रमश : आकृति, आवृति, आश्रिती अनि एउटा मात्र छोरो आदर्श रहेछन् । घरमा पुगेर हामी सबैजना बाहिर बिछ्याइएको गुन्द्रीमा बस्यौं । अनि कुराकानी पश्चात म त्यहीं बस्ने निर्णय गरी त्यहीं सबैले खाना खाएर आफ्नै कोठामा फर्कियौं । भोलिपल्टदेखि म त्यहि घरमा बस्न थालें । शुरु-शुरुमा त अफ्ठेरो लाग्यो तर, पछि मलाई त्यो घर आफ्नै घरजस्तै प्यारो लाग्न थाल्यो । सबैभन्दा ठुली छोरी आकृति रहिछन्, माइली आवृति, कान्छी अश्रिती! मैले सबैलाई माया गरेर पढाउन थालें । ती तीनै जना दिदी-बहिनीहरु यति राम्रा र मीठो सुरिलो स्वर भएका थिए, उनीहरुलाई सधैं हातमा खेलाईरहुँ जस्तो लाग्दथ्यो । म पनि विद्यार्थी छँदैदेखि अध्ययनशील भएकाले विभिन्न ठुला-ठुला व्यक्तित्वको उदाहरण दिँदै उनीहरुलाई पढाउने गर्दथें । यसरी म तिनीहरुको घरमा बस्न जाँदा आकृति कक्षा-५ मा, आवृति कक्षा-३ मा, आश्रिती कक्षा-२ मा अनि आदर्श कक्षा एल.के.जी मा पढ्ने गर्दथे । आकृतिलाई भर्खरै नेपाली स्कुलबाट बोर्डिंग स्कुलमा सारिएको हुनाले उसको पढाइ त्यति राम्रो थिएन । तर उसको दृढ पढ्ने इच्छा र अनुशाशित व्यवहारले गर्दा ऊ छिट्टै नै धेरै जान्ने भएर आई। वार्षिक परिक्षामा कक्षामा दोस्रो हुन सफल भई । यो देखेर उसका सबै परिवार धेरै खुशी भए । अनि मलाई त्यहीं बसेर पढाउन अनि त्यो घरलाई आफ्नै घर सम्झन पनि भन्न थाले । मलाई पनि तिनीहरुको असाध्यै माया लाग्दथ्यो कि आफ्नो घरको याद नै आउन छोडिसकेको थियो । आकृती यति अनुशाशित थिई कि उसको व्यवहार देखेर सबै शिक्षकमात्र हैन, गाउँका सबै मानिसहरु पनि दंग पर्दथे । म उसको घरमा चार वर्ष बसें तर, कहिल्यै पनि आफ्ना आमा-बाबासँग झगडा गरेको अनि रिसाएको मैले थाहा पाइन । उसलाई दिइएको घरकाम उसले सकेकै हुनुपर्दथ्यो । चाहे त्यो गर्दा-गर्दै किन उज्ज्यालो नहोस, उसले घरकाम गरिरहेकै हुन्थी । मेरै कोठामा आएर सबैजना पढ्ने गर्दथे । उसलाई म एकचोटि सरसर्ती सिकाएर, पढिसकेर सुत्न जानु है भनेर ढलकन्थें तर, कतिचोटि ऊ; म बिहान ब्युँझदासम्म पनि घरकाम गरिरहेकी भेटिन्थी । यहाँसम्म कि कहिले कहिले त जाऊ सुत्न, पर्दैन घरकाम गर्नु भनेर किताब-कापी खोसेर सुत्न पठाउनु पर्दथ्यो । यतिमात्र नभएर स्कुलमा, सबै घरकाम गर्नु पर्दैन, नगर्दा पनि हुन्छ, मिहिनेत गर्नेलाई घरकाम दिइएको होइन, मिहिनेत नगर्नेलाई दिइएको हो भनेर प्रिन्सिपलले अफिसमा लागेर झपार्नु पर्दथ्यो । उसले पढ्नेमात्र होइन घरको सबै काम घाँस काट्ने, खाना पकाउने, भैंसीलाई कुँडो खुवाउने अनि भाइ-बहिनीका लुगा-कपडा पनि धुने गर्दथी यहाँसम्म कि अरु भाइ-बहिनीका कपडाहरु एक हप्तामा कति मैला हुन्थे तर, उसका कपडाहरु एक हप्तामा पनि भर्खर धोएर लगाएका जस्ता हुन्थे। उसकी मम्मी उठ्नुभन्दा पहिला नै ऊ उठ्दथी अनि मलाई सुतेकै ठाउँमा सर उठ्नुस, चिया खानुस- भन्दै टेबुलमा रखिदिन्थी । म उसको शिक्षक भएर उसलाई पढ्न उठाउनु पर्नेमा उसले नै मलाई उठाउँथी तर, यो उसलाई मैले नै लगाइदिएको बानी थियो । कहिले- कहिले त सबै विद्यार्थी ऊजस्तै भैदिए कस्तो राम्रो हुन्थ्यो होला जस्तो मलाई लाग्दथ्यो । वार्षिक परीक्षा सकिए पछी म घर फर्किएँ अनि घरमा खर्च दिएर फेरि थबक्कै त्यहि ठाउँमा पुगिहालें। हिजो मलाई अफ्ठेरो लागेको बाटो आज एकैछिन जस्तो लाग्न थालेको थियो । बाटो त्यहि पहिलाको थियो अनि मानिसहरुको गाडीमा घुइचो पनि त्यस्तै । यसै गरी मलाई चापाकोटसम्म ल्याउने पनि त्यहि पहिलेकै ट्याक्सी थियो। तर किन किन मलाई त्यो ट्याक्सी पनि मन पर्दथ्यो अनि डाँडाहरु र कालिगण्डकी पनि किनकि ती सबै मेरी प्यारी बहिनी अथवा विद्यार्थी आकृतिको घर पुर्याउने साधन थिए । म मेरो आफ्नै घरमा चार-पाँच दिन पनि नबसी बिदा पनि नमागिकन तुरुन्तै चापाकोट, स्यांग्जा पुगिहालें अनि दुई-चार दिनपछि २०६६ सालको शैक्षिक सत्र पनि शुरु भैहाल्यो। २०६६ सालमा त झन् आकृतिले अच्चम्मको नै प्रगति गरी । उसको ९० प्रतिशातभंदा कम अंक कहिल्यै आउदैनथियो । ऊ दोस्रो हुने त कुरै भएन सधैं प्रथम हुन्थी । उसको यो प्रगतिमा मेरो ठुलो हात छ भन्नेहरु पनि कम थिएनन्। सबैले धर्मेन्द्र सर्को नै देन हो भन्दथे तर मलाई भनें, मैले त उसलाई बाटो मात्र देखाएको हुँ, सबै उसकै मिहिनेतको फल हो जस्तो लाग्दथ्यो।
यसरी दिन-बित्दै गए, मलाई सबैले त्यो परिवारको सदस्य ठान्दथे। आकृतिले उसकी आमालाई मम्मी भन्दथी, म पनि मम्मिनै भन्दथें। मम्मीले आकृतिलाई र अरुलाई कपडा अथवा केहि किनी दिनुहुँदा मलाई पनि छुट्याउनु हुन्नाथियो। उनीहरुलाई जे किनिदिन्थे, मलाई पनि त्यस्तै केहि ल्याइदिनु हुन्थ्यो। अनि म पनि उनीहरुलाई केहि न केहि दिइरहन्थें । सबैभन्दा ठुलो त माया दिन्थें अनि मलाई पनि उनीहरुले असाध्यै माया गर्दथे । यहाँसम्म कि म मेरो घर झापा जाँदा मलाई बाटो खर्च दिएर पठाउनुहुन्थ्यो मम्मीले । आफ्नै छोरा जस्तै ठानी, मम्मीले मात्र होइन सबैले, अंकल, आन्टी, आमा सबैले माया गर्दथे । जब मेरो घर झापा फर्कने समय हुन्थ्यो, तब सबैका आँखा रसाइरहेका हुन्थे अनि हातहरुले छिट्टै फर्कनु भन्ने संकेत गर्दथे। बेला-बेला त मलाई यस्तो लाग्दथ्यो कि मैले यो घर छोडेर सधैंका लागि अवश्य जानुपर्छ । त्यतिबेला कसरि जने होला भनी सम्झेर म बेला-बेला एक्लै बसी रुन्थें पनि । आकृती पढाइमा मात्र जेहेन्दार नभएर बाहिरी अरु क्रियाकलापहरुमा पनि अघाडी थिई । मैले त्यो स्कुलका विद्यार्थीहरुको एउटा सानु समूह पनि बनाएको थिएँ जसको नाम “श्री बुद्ध सिर्जनशील बाल क्लब ” थियो । त्यस क्लबमा लगभग स्कुलका सबै विद्यार्थीहरुको सहभागिता थियो। त्यसलाई स्वतन्त्र रुपमा चलाउनको लागि मैले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव अनि कोषाध्यक्ष क्रमश: शुभम श्रेष्ठ, आकृती कोइराला, संयोग श्रेष्ठ, दीपा वि.क अनि कामना भण्डारीको चयन गरेको थिए। यस क्लबले धेरै राम्रा कामहरु गर्दथ्यो जस्तै जनचेतनामुलक नाटक प्रस्तुत गर्ने, सरसफाइ अभियान चलाउने अनि मनोरन्जनका लागि नृत्य देखाउने आदि। यो क्लबमा मैले आफैं दुईवटा नाटकहरु क्रमशः छोरीलाई ‘‘शिक्षा अनि समानता।” त्यसै गाउँमा प्रस्तुत गरेका थिए। यी नाटकमा भाग लिने सबै पात्रहरु त्यसै स्कुलका विद्यार्थीहरु थिए। जसमा एक आकृती पनि पर्द्थी। अहिले पनि यो क्लबलाई विद्यार्थीहरुले सञ्चालन गरिरहेका छन् । यसरी उसले कविता, निबन्ध पनि लेख्द्थी । अनि प्रतियोगिताहरुमा सधै भाग लिन्थी । तर उसको सबैभन्दा राम्रो कलाचाहिं अगाडी गएर आफ्नो मन्तव्य राख्नु थियो । उसले त्यहि गाउँमा भएको तीज गीत प्रतियोगीता दिएको मन्तव्य देखेर सबै मानिसहरु छक्क परेका थिए। अनि त्यहि गाउँको एउटा व्यक्तिले खुशी भएर उसलाई रु.१००० दिएको मेरो आँखामा अहिले पनि झल्झली आउँछ । उसले त्यो पुरस्कार थपेको देख्दा मेरा आँखाबाट खुशीका आँशु पनि झरेका थिए । यतिमात्र नभएर त्यो गाउँमा कुनै कार्यक्रम गर्नु
पर्यो भनें, त्यो कार्यक्रम सञ्चालन गर्न उसैलाई बलाउँदथे। मैले पहिले पनि अगाडी लेखिसकेको छु कि म एक भुटानी शरणार्थी भएको अनि
मेरो घर झापाको गोलधाप शरणार्थी शिविरमा सानो झुप्रोको रुपमा थियो भनेर। २० वर्षको लामो अभावपूर्ण जिन्दगीदेखि छुटकारा पाउनको लागि मानिसहरु। I O M जसले भुटानी शरणार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया, क्यानाडा, डेनमार्क आदि देशहरुमा पुनर्स्थापना गरिरहेको थियो। त्यहि पंतिमा मेरा दुबैजना दिदीहरु विवाह गरिसकेकाले अमेरिका आइसकेका थिए। अनि मेरो दिदी वा बहिनी भन्नु कोहि पनि नेपालमा थिएनन् बाबा-आमा, दाजु-भाइ मात्र थिए नेपालमा। विसं २०६६ को शुरुतिरै मेरा दुवैजना दिदीहरु अमेरिका पुनर्स्थापना भैसकेकाले मैले तिहारमा तिनै आकृती र अरु दुईजना बहिनीहरुको हातको टिका थाप्ने निर्णय गरें अनि २०६६ सालको दशैंको टीका आफ्ना बाबा-आमाको हातबाट थापेर म फेरि तिहारको टिका थाप्न आकृतिकै घरमा पुगें। फेरि क्रमश:२०६७-६८ को तिहारको सप्तरंगी टीका पनि मैले उसैको अथवा आकृतिको हातबाट थापें। त्यसपछि २०६८ को पौष मा म अमेरिका आइपुगें। यहाँ दुःखका साथ मैले लेख्नुपर्दछ कि आकृतिका बाबा गाउँको हेल्थपोस्टको डाक्टर हुनुहुन्थ्यो भनेर मैले माथि नै उल्लेख गरिसकेको छु । फेरि एउटा वास्तविकतालाई मैले यहाँ नलेखीकन हुन्न । बाबाको रक्सि खाने बानी साह्रै नै नराम्रो थियो। जतिबेला पनि रक्सि नै खाइरहने । पहिला-पहिला त कुन्नि किन मलाई केहि पनि थाहा हुन्न थियो । बाबा पनि पल्लो गाउँको गेझा भन्ने ठाउँमा बस्नुहुन्थ्यो। एक महिनामा २-३ पटकमात्र घर आउनुहुन्थ्यो । मलाई लाग्थ्यो बाबा एकदमै ठिक हुनुहुन्छ तर वास्तवमा त्यस्तो रहेनछ । यहाँ मैले बाबा भनेर आकृतिको बाबालाई भनिरहेको छु किनकि आकृतिले जस-जसलाई जे-जे भन्दथी मैले पनि त्यहि साइनो लगाएको थिएँ। पछी उहाँको सरुवा चापाकोटमै भयो । त्यसपछि त मैले सबै कुरा थाहा पाएँ। वहाँ लगभग चौविस घन्टा नै रक्सि खानुहुँदो रहेछ। फेरि कमाएको पैसा त बाटोमै रक्सीको बेहोसीमा हराएको मैले कति चोटी थाहा पाएँ। रक्सि खायो अनि घरमा झगडा गर्यो। उनको दिनचर्या नै यस्तो रहेछ। सधैं आकृतिको मम्मीसँग झगडा गर्ने अनि कहिले काहीं त पिट्ने पनि। कति चोटि छुट्याउन जाँदा मेरो शरीरमा चोट पनि लाग्ने गर्दथ्यो। छोरा-छोरीहरुलाई पनि त्यतिकै पिट्ने बानी रहेछ उनको। आकृतिलाई पनि कतिचोटि अब स्कुल पढ्नुपर्दैन, तलाई म पढाउन सक्दिनँ भनेर पिटेका रहेछन् । विचार ! पढ्न उत्कट चाहना भएकी त्यो मिहिनेती नाबालक नानीलाई यस्तो भन्दा मुटुमा कति घोच्दथ्यो होला। तर पनि उसको शहनशिलताले गर्दा मलाई समेत यस्तो कुरा भन्दिनथी। किन हो किन ? मलाई अचम्म लाग्दछ, त्यस्तो नराम्रो बानीबेहोरा भएको मान्छेले मलाई एकदिन पनि बिझाउनुभएन। रक्सि खाएर बेहोसी अवस्थामा पनि मलाई मेरी धेरै विचार गरेजस्तो लाग्दथ्यो किनकि जस्तै बेलामा पनि सरले खाना खानुभो,सरलाई कस्तो छ भनेर सोध्न विर्सनुहुन्न थियो । यो एउटा राम्रो व्यवहार मेरा लागि किन गर्नुहुन्थ्यो मलाई थाहा थिएन र छैन पनि । छोराछोरीलाई पढाउने भनेर भनौं भन्दा उहाँलाई छोराछोरीको कुनै मतलव नै थिएन। कतिमा पढ्छन्, कस्तो पढ्दैछन्, यसको बारेमा उहाँलाई केहि थाहा हुँदैनथ्यो अनि फेरि कहिल्यै सोध्ने पनि गर्नुहुन्नथियो । अहिले पनि वहाँ यस्तै हुनुहुन्छ रे भन्ने सुनेको छु। आकृतिको एऊटा इच्छा थियो ,गाउँको स्कुलबाट कक्षा-८ पछी शहरको ठुलो स्कुलमा गएर पढ़नें । उसले मलाई भन्दथी सर, म मेरो गाउँलाई धेरै माया गर्छु तर, राम्रो पढ्नलाई शहर जान मन छ, के गर्नु ? मैले एक्लै आँट गरेर हुन्न, बाबाले दिनुहुन्न भनेर मेरो छेउमा बसेर रुन्थी। मैले त के गर्न सक्थें र अनि भन्थें राम्ररी पढ, म अमेरिका गएपछि तिमीलाई पढ्ने पैसा पठाउँछु अनि शहरको राम्रो स्कुलमा पढौली। अनि मेरो कुरा सुनेर धेरै खुशी
हुन्थी अनि फूलजस्तै हास्दथी। यसपाली उसले कक्षा-८ को बोर्ड परीक्षा दिएकी हो । परीक्षा सकेर मलाई २०६८ चैत्र २४ गते फोन गरेर भनेकी थिई कि मैले
यसपालिको मेरो परीक्षा राम्ररी गरेकी छु । सायद प्रथम हुन्छु होला । मलाई ऊ प्रथम हुनेमा कुनै शंका नै थिएनष। उसको मिहिनेत र परिश्रमले ऊ अवश्य प्रथम हुन सफल हुन्छे भन्ने मलाई पूर्ण विस्वाश थियो । नभन्दै त्यस्तै भएछ। ऊ उसको विद्यालयबाट मात्र प्रथम नभएर समग्र स्यांग्जाबाटै दोस्रो स्थान प्राप्त गर्न सफल भइछ। यो खबर सुन्दा मेरा आँखाबाट खुशीका आँसुका धारा पनि बगे। परिश्रम गर्ने जो पनि सफल हुन सक्दछ भन्ने कुरा उसले सावित गरेर देखाई। उसले मलाई फोनमा सबै कुरा भनि अनि दुःखका साथ यो कुरा पनि भनि कि सर, बाबाले मलाई पढ्नको लागि शहर नपठाउने रे। उसको शहर गएर पढ्ने सपना उसकै पशुजस्तै बाबाले गर्दा चकनाचुर भएछ। उसले फेरि भनी-सर, मैले शहर जाने कुरा फेरि गरें भने मलाई स्कुल नै नपढाउने रे । म अब के गरौँ ? मलाई रुदै उसले सोधी । मैले केहि पनि भनिन अनि अहिले फोन-राख म तिमीलाई पछी भन्नेछु भनेर मुटु गाँठो पारी फोन राखिदिएँ । अनि त्यतिकै सोच्दै आफ्नो कम्प्युटरमा फेसबुक खोलेर बसिरहेको थिए। मेरो भेट पूर्ण बन्धन दाइसँग फेसबुकमा भयो, जो डेनमार्कमा बस्नुहुन्छ अनि समीक्षक साथै ‘‘ग्लोबल नेपाल यु.के’’ का पत्रकार पनि हुनुहुन्छ । उहाँलाई मैले आकृतिको कुरा सुनाएँ अनि उहाँले मलाई भन्नुभयो, धर्मेन्द्रजी! कमल फूल त्यति राम्रो हुन्छ तर, त्यस्तो नराम्रो हिलोमा फुल्छ। त्यसैले प्रतिभा भएको व्यक्तिले जहाँ पनि आफ्नो प्रतिभा देखाउन सक्छ । आकृतिले पनि ठुलो हुनलाई, शहरको ठुलो स्कुलमा धाउनु पर्दैन। उसले मिहिनेत गरी भने त्यहि गाउँको स्कुलमा सोचेको सबै पुरा गर्न सक्छे
भनेर भन्नुभयो अनि मलाई पनि पूर्ण दाइले भनेको कुरा अति नै ठिक लाग्यो । आकृतिलाई मैले पूर्ण दाइले भनेको कुरा ठिक त्यसरी नै भनिदिएँ । अनि ऊ पनि खुशी भएर मसँग निक्कै समय कुरा गरेर फोन राखी। मेरी बहिनी आकृतिले गरेका हरेक कामनाहरु पुरा हुन् भन्ने हार्दिक कामना गर्दछु |
[यस सत्य कथाका सबै पात्रहरु वास्तविक हुन्, यहाँ कुनै पनि काल्पनिक पात्रलाई राखिएको छैन –लेखक ]