यादहरू

ओम पोख्रेल
क्यानाडा

तिम्रा यादहरूमा म बॉंचिरहूँ
मेरा यादहरूमा तिमी बॉंचिरहूँ
हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस्
हामी यादहरूमा अमर रहूँ

आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि
मेरा सम्झनाहरूमा तिमी उत्तिकै ताजा छौ
मेरा यादहरूमा तिमी उत्तिकै प्रिय छौ
मेरा कल्पनाहरूमा तिमी उत्तिकै जवान छौ
छैनौ त केवल
तिमी मेरो नजिक,
मेरो दृष्टिको वरिपरि,
मेरो स्पर्शको दुरीमा

तर….तर
म तिमीलाई सधैँ मेरै वरिपरि पाउँछु
मेरै समिपमा पाउँछु
जब-जब तिमीलाई म चाहन्छु
जब-जब तिमीलाई म सम्झन्छु
मेरो दिल भित्र तिम्रो तस्बिर छ
तिम्रो हॉंसोको अनुपम सुगन्ध छ
तिम्रो प्रेमको अद्भुत आनन्द छ
तिम्रो ममताको स्वास छ
बस छैन त केवल
तिमीसँगको माधुर्यता
तिमी भित्रको मुस्कान,
तिम्रो खुसीको अन्दाज,
तिम्रो असीमित प्यार

तर…..तर
तिम्रो काखमा बिताएका पल छन् मसँग
तिम्रा कोमल हातका स्पर्शहरू छन्
तिमीले चुमेका अङ्गहरू छन्
तिमीले टेकाएका पाइलाहरू छन्
तिमीले दिएका गन्तव्यहरू छन्
तिमीले डोर्‍याएका क्षणहरू छन्
तिमीले पिलाएका स्वादहरू छन्
छैन त केवल
तिम्रो भौतिक उपस्थिति
तिम्रा अमूल्य उपदेशहरू
तिम्रा अलौकिक स्पर्शहरू

सायद मेरो भागमा यति नै थियो
यसलाई मेरो मनको क्यानभाषमा
तस्बिर कोरेर राख्या छु
यही तस्बिरको खोकिलामा
मेरा वेदनाका आँसुलाई
कोसेली बनाएर बटुलेको छु
कुनै दिन मौका मिलोस् तिमीलाई
हाम्रो वियोगमा विभाजित मेरो भागमा परेका
यी आँसुका सम्झनाहरूको पोको फुकाएर देखाउने
यी पीडाका यादहरूको सन्दुक खोलेर देखाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *