विम्ब बिनाको “म”
कर्ण गुरुङ
नेब्रास्का, अमेरिका
नेब्रास्का, अमेरिका
कोही अरूलाई खोज्छन्
कोही आफैलाई खोज्छन्
म भने चुपचाप छु
त्यसैले होला सबै सोध्छन्
तिमी किन मौन ?
भन्न त मन छ
म कसैलाई खोज्दिन
जे छु ठिकै छु
जहाँ छु ठिकै छु
जस्तो छु ठिकै छु
कसैलाई खोजेर
आफैलाई खोजेर
वैकुण्ठ प्राप्त गर्नु छैन
निर्वाण प्राप्त गर्नु छैन
न त कथित स्वर्ग नै
म त ब्रह्माण्डको सानो कण
मलाई यसैमा ठिक छ
कहिले मान्छे हुन्छु
कहिले वनस्पति
त कहिले माटो, पानी, हावा
कहिले ऊर्जा शक्ति हुन्छु
त कहिले के-के
यो रूप फेरिरहन्छु
मैले जानेको भ-ग-वा-न
“भूमि, गगन, वायु, नक्षत्र”
यसैमा समाहित छु
म यसैको उपज हुँ
र यसैसँग जिउँछु
अनि यसैमा मिल्छु
जे छु
जस्तो छु
सायद एउटा कण छु
अहिले देखिने एउटा स्वरूप छ
शक्तिसँगै परिवर्तनशील छु
जे-जे बाट बने त्यसैमा मिसिन्छु
तर थाहा छ
यो ब्रह्माण्डमा असीमित सम्भावना छ
बरु खोज्छौ भने त्यसलाई खोज
यानहरूको पसल लगाऊ
मङ्गलग्रह जाऊ
ब्रह्माण्डको कुना-कुनामा खोज
असीमितताको प्रमाण खोज
खोज्छौ भने
सम्भावनाको सूत्रहरू खोज
आफू वा अरूलाई खोजेर
मानसिक सन्तुलन गुम्ला
विचलन प्राप्त होला
ब्रह्माण्ड बारे सुन्न मात्र सकिएला
तर सकिन्न जान्न अनि पुग्न
म भन्छु
कि अन्वेषण गर
कि म जस्तै चुपचाप बस
जे छ – जस्तो छ
त्यसैमा रमाऊ
यस्तो थियो, त्यस्तो थियो
यस्तो हुनेछ, त्यस्तो हुनेछ
सम्झेर आफैलाई दुःखी नबनाऊ
यो आफ्नो जिन्दगी हो
वर्तमानलाई उत्सव बनाऊ
परिस्थितिलाई परिवर्तन गर
नत्र त्यो पल पनि बित्नेछ
चिन्ता गरे धामी जस्तै कामिन्छ
कामेपछि जोखाना देखिन्छ
जोखानाले फेरि तनाव ल्याउँछ
त्यसैले चिन्ता होइन
सत्यताको चस्मा लगाऊ
आँखाले राम्ररी देख्नेछ
म कत्रो छु यो ब्रह्माण्डमा
सा.…नो टुक्रा
मान्छे “म”
स्विकारिनेछ !