संसद सजिलै अधिकार सम्पन्न हुँदैन

भक्त घिमिरे / अमेरिका

हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै बाहिर आउने गरेको छ । राजदरबारकै हुकूमनामाभित्र आफ्नो गुञ्जायस चलाउने त्यहाँको सर्वोच्च अदालतले गत महिना वर्तमान सरकारद्वारा घोषित अध्यादेशलाई खारेज गरिदियो । यो अदालती सुनुवाईपछि प्रधानमन्त्रि जिग्मे वाई थिन्लेले निकै चिन्तासमेत व्यक्त गरेका थिए । यस अर्थमा भूटानी प्रजातन्त्रले संसदीय इतिहासलाई मनन गर्नुपर्ने देखिन्छ ।
भनिन्छ, संसदीय प्रजातन्त्रको लागि बेलायत जननी हो । तर, त्यहाँ पनि संसद र दरबारबीच अनेकौं खिचातानीको परिणाममा असंख्यौं स्वतन्त्रताप्रेमीहरू, संसदीय प्रजातन्त्रका हिमायतीहरूले ज्यान सुम्पिएरमात्र संसदको सर्वाधिकार साध्य भएको हो । संसदीय इतिहासमा उल्लेख भएअनुसार सन् १५८१ मा तत्कालीन बेलायती सांसद पिटरका दाजु पाल वेण्टवर्थले संसदमा उत्पात मच्चाए । उनले २१जनवरीको दिन सदनसमक्ष एउटा प्रस्ताव राख्दै सार्वजनिकरूपमा उपवास बसेर संसदले नै चर्चमा प्रार्थना र धर्मप्रचारको कार्य थाल्ने निर्णय गराए । बेलायती संसदमा उनको प्रस्ताव एकसयका विरुद १ सय १५ भोटले पारित भयो । पाल वेण्टवर्थको यो काम दरबारका लागि भयंकर अपराध थियो, किनकि त्यसबेला बेलायतको धर्माधिकार सम्पूर्णतः रानीमै सुरक्षित थियो । पालको प्रस्तावले शाही अधिकारमा खलल पुर्‍याउँदै धार्मिक विषयलाई पनि संसदकै क्षेत्राधिकारभित्र पुर्‍याइदियो । यसबाट स्वभावतः रानी एलिजावेथको क्रोधले सीमा नाघ्यो । सदनभित्र पनि दरबारपन्थीहरूले ठूलो गोलमाल मच्चाए । काल्टन नामक सांसदले उठेर सदनलाई राष्ट्रको सम्बन्धमा सबै निर्णय लिने स्वाधीनता भएको कुरा गर्न खोजे । तर, संसदका सभामुखले उनलाई यो कुरा गर्न दिएनन् । ती सांसदले लाचार भएर चुप लाग्नुपर्‍यो । यो कुरा संसदकै लागि पराजय थियो । त्यसपछि काल्टन र पाल चुपलागे तर, पिटर वेण्टवर्थमा रहेको क्रान्तिकारी भावना पराजित हुनसकेन । सन् १५८६ को मार्च १ का दिन उनले केही समस्याहरू लिखितरूपमा सभामुखलाई दिँदै सदनमा त्यसबारे छलफल हुनुपर्ने प्रस्ताव राखे । उनलाई केही सदस्यले सहयोगको वचन पनि दिएका थिए । तर संकटको घडीमा रानी एलिजावेथको आवेगको सामना गर्न तयार हुनेहरूचाहिं कमै देखिए ।
पिटरले उठाएका समस्या संसदको स्वाधीनतासित सम्बन्धित थिए । उनले सदनमा भएका चाहिने-नचाहिने कुरा लगेर रानीको कान भर्नेहरूमाथि मुद्दा चलाउनसमेत संसदलाई अनुरोध गरेका थिए । रानीको आक्रोशको डरकै कारण अध्यक्षले कुनै सांसदलाई बोल्नबाट वर्जित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि प्रस्तावमा उनले राखेका थिए । अध्यक्षले त्यो प्रस्तावलाई संसदमा प्रस्तुत गरेनन् । बरु पिटरलाई नै गिरफ्तार गराए र दरबारकै एउटा टावरमा उनलाई कैद गरियो । पाँचवर्षसम्म उनले त्यहाँ कैदी जीवन भोग्नुपर्‍यो । पिटरसित सरकारी अधिकारीहरू त जंगिए तर, प्रत्येक स्वतन्त्रताप्रेमि उनलाई आदर गर्थे । पिटरले सधैं एकनासले स्वतन्त्रता संघर्ष चलाइरहे । सन् १५९३ मा फेरि संसदमा उनले अर्को विधेयक पेश गरे । सो विधेयकमा रानी एलिजावेथले तत्काल आफ्नो उत्तराधिकारीको घोषणा गर्नुपर्ने माग गरिएको थियो । रानीका निम्ति यो माग असह्य भयो । भोलिपल्ट पिटर फेरि टावरमै कैद भए । संसदीय स्वाधीनताको लागि हरपल संघर्ष गर्ने ती महान सेनानी त्यही टावरमा शहीद भए ।
पाल र पिटर दाजु-भाइले शाही दरबारबाट मुक्ति र संसदीय स्वाधीनताका लागि जुन संघर्ष छेडेका थिए, त्यसको उत्तराधिकार वहन गर्न पछि बेलायतमा सर जोन इलियट, हैम्पडेन, वीमपिम र उनका सहयोगी हेलिंस, स्ट्रेड र हेजेलरिगजस्ता निर्भिक व्यक्तिहरू अघि सरे ।
रानी एलिजावेथ साह्रै बाठी थिइन् । कुनबेला झोंक देखाउने र कुनबेला नरम व्यवहार गरेर आफ्नो दरबारिया मर्यादा र साखको रक्षा गर्ने भन्ने कुरामा उनी खूब ध्यान दिन्थिन् । तर, उनीपछि उनका उत्तराधिकारीका रूपमा बेलायती सत्तामा उदाएका स्टुअर्डवंशीय राजाहरूले रानी एलिजावेथले बनाएको शासकीय सन्तुलनलाई भंग गराए ।
स्टुअर्डवंशका प्रथम राजा जेम्स प्रथम र उनका छोरा चार्ल्स प्रथमको सम्पूर्ण जीवनकाल संसदसित अनाहक झगडा गरेरै बित्यो । जेम्स प्रथम त कालगतिले नै मरे तर, मूर्खतावश विचरा चार्ल्सले त्यो मौका पनि पाएनन् ! संसदीय निर्णयानुसार उनले प्राण गुमाउनुपर्‍यो, अर्थात उनलाई मृत्युदण्ड दिइयो । राजामा दैवीशक्ति र अधिकार निहित रहेको विश्वासमा रहेका कट्टर ईश्वरवादी जेम्स प्रथम पनि संसदलाई वास्ता गर्दैनथे । तर, संसदले अर्थविधेयक पारित नगरेसम्म दरबारको खर्च कसरी चलाउने भन्ने संकट उनलाई आइलाग्यो । संसद त्यसबेला आफ्ना मागहरूको पूर्ति नभएसम्म दरबार खर्चको आर्थिक विधेयक पास नगर्ने अड्डी लिएर बसेको थियो । यसकै परिणाममा कैयौंपटक कलह चलेपछि राजा जेम्सले संसदलाई विसर्जन गर्नुपर्थ्यो । उनले कतिपटक लामो अवधिसम्म संसदको बैठक नडाकी अरु नै उपायले दरबारको खर्च जेनतेन चलाएका थिए । राजा जेम्स प्रथम विवेकहीनतको कारण अंग्रेज समाजका सबभन्दा मूर्खको रूपमा प्रसिद्ध छन् ।
एकपटक राजा जेम्सले सांसदहरूलाई स्पष्ट भने-“संसदको प्रारम्भमा अध्यक्षले सांसदहरूका लागि जुन सेवा-सुविधा र अधिकारको घोषणा गर्छन्, ती सांसदहरूको जन्मसिद्ध अधिकारबाट प्राप्त भएका होइनन्-राजाको इच्छाअनुसार पाएको वक्सिसमात्र हो ।” यस्तो विवादास्पद घोषणा राजाबाट भएपछि अन्य झिनामसिना विषयहरू ओझेलमा परे । यही क्रममा सन् १६२१-दिसम्बरमा संसदले राजाको सो घोषणाविरुद्ध एउटा प्रस्ताव पारित गर्दै स्पष्ट घोषणा गर्दै भन्यो-“संसदको स्वाधीनता, मताधिकार, सुविधा र अधिकार क्षेत्र प्राचीनकालदेखि बेलायतका प्रत्येक रैतीका जन्मसिद्ध अधिकार र परम्परागत उपलब्धि हो-यसका कुनै विवाद उठ्तैन ।” संसदको यस्तो घोषणादेखि राजा जेम्स जंगिएर आगो भए । उनले हाउस अफ् कमन्सबाट माइनट बुक झिकाएर सो विरोधप्रस्ताव च्यातिदिए । आज पनि त्यो च्यातिएको माइनट बुकको अंश बेलायतको वेष्टमिन्स्टर दरबारमा सुरक्षित रहेको बताइन्छ । यो काण्डपछि राजाले तुरुन्त संसद भंग गरे । उक्त प्रस्तावका समर्थक सांसदहरूलाई गिरफ्तार गरी पहिले पिटरलाई राखिएकै टावरमा कैद गरियो । कैद हुनेहरूमा सबभन्दा प्रसिद्ध र निडर सांसद थिए-वीमपिम । नौ महिनापछि उनीहरू सबै छुटे फेरि दरबारविरोधी संघर्षमा एकोहोरिए ! यसरी नै क्रमशः चलेका संघर्षका छालहरूले मात्र संसदीय सर्वोच्चता कायम भएको हो संसदीय प्रजातन्त्र वा संवैधानिक राजतन्त्रमा । यसबाहेक नेपालका निवर्तमान राजाको ऐतिहासिक सरगर्मी पनि सेलाएकै छैन हरेक राजनीतिक इतिहासका अध्येताहरूको दिलदिमागबाट । यस अर्थमा संसद सजिलै अधिकार सम्पन्न हुँदैन भन्ने सबैले बुझ्नु जरुरी छ !
वर्तमान भूटानको कथित ऐतिहासिक प्रजातन्त्रमा यस्ता सांसद कोही छन् ? ऐतिहासिक प्रजातन्त्रका प्रथम प्रधानमन्त्रि जिग्मे वाई थिन्ले वा उनको दलमा के यस्तो क्षमता प्रदर्शन गर्ने आँट होला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *