सतरञ्ज खेलाडीलाई चेतावनी
यतिराज अजनबी
एडिलेड, अष्ट्रेलिया
आफ्नो बुद्धिजाल फिंजाएर
सतरञ्ज खेलाडी
मोहरा चाल्छ |
राजा-रानीलाई
टिकाई राख्न, संरक्षण दिन
चौसट्ठीकोठे थर्कीमा
सीमित राखिएका
आजीवन युद्धरत
निर्दोष राजभक्त प्यादाहरूको
हत्या गर्छ
अनि
विजयोत्सव मनाउँछ
सतरञ्ज खेलाडी
आफ्नो कुटिलताको |
येस्तै हो यो
पानीमाथि भएता पनि
सधैं ओभानो रहेको दावा गर्ने
कपटी कुटनीतिज्ञहरूले
अरूलाई दुरुपयोग गरेर
आफ्नो शक्ति
प्रदर्शन गर्ने गेम |
तर
ए सतरञ्ज खेलाडी !
याद राख
तिम्रो वर्चस्व रक्षार्थ
खटाइएका जुन प्यादाहरू मारिँदा
कुनै खेद हुन्न तिम्लाई,
तिनैले चेक दिएर
तिम्लाई जिन्दगीभर
इलाज नहुने पक्षाघातको
शिकार बनाई
तिम्रो गेम खतम
पारिदिन पनि सक्छन् |
मंगसिर १५ २०६४, विराटनगर
यतिराज सर,
कवितामा बिशाल बल छ. अति संदर्बिक र मिठो.
लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम
गज्जब छ है राज सर , राम्रो ब्यङ्ग
यती सर ,
कवितामा दरवारी चपलूशी बाजहरुको गहकीलो चित्रण गर्नुभएको छ | अत्याचारको पराकाष्ठाको वर्णन गर्नमा तपाइको कलम झन् खाप्पिश रहेको कुरो स्वीकार्नु पर्छ | छोटा हरप, वजनदार शब्द, मीठो शैली अनि राम्रा भाव छन् |
सुशील पोखरेल