सन्नाटा
टि.आर.राई आँशु
अमेरिका
सबै मौन छन् आज यहाँ वरिपरि
सुन्सान ठाँउमा हिँड्दैछु म त कसो गरी
विरक्तिएका क्षणहरु अटाउन नसकी मनभरि
बितेका ती दिन,महिना र सालहरु सम्झी घरीघरी ।। १ ।।
आफ्नै यात्रा नि अब निश्चित दूरीमा
समाप्त हुँदा नपर्ने भो हिँड्न हुरीमा
यत्रतत्र छरपष्ट भइकन हराएछ नि गरिमा
टुक्रेछन् ती आवाजहरु बुझ्दै नबुझ्ने गरी महिमा ।। २ ।।
वषौँ पछि यहाँ खडेरी र सन्नाटा छाएका छन्
कला र निमार्णका काफि निशानाहरु मेटिएका छन्
जीवजन्तु तथा वनस्पतिहरु फस्टाउँदै गएका छन्
जन्म मरणको होडसँगै आज यहाँ यस्तै भएका छन् ।।३।।
तर पनि सुटुक्कै वसन्त त आइहालेछ
फूलहरुलाई हँसाउन र यौवन दिन पो लागेछ
खोइ तिमीहरुको माली भनी सोध्न थालेछ
जवाफमा तिनीहरूको त सरुवा भै सकेको पाएछ ।।४।।
यस्तो सुन्दा वसन्त नै रुन मात्र सकेछ
टुहुरा पुष्पहरुको ख्यालप्रति गहिरो चिन्ता बढेछ
अलमल्ल तिनीहरूको महत्व धेरै घटेछ
वसन्तको अर्को आगमनमा शंकै शङ्का बढेछ ।।५।।
जहाँ रहे पनि मालीहरु नित्य व्यस्त नै रहे
आफ्नोपनलाई नभुली कति कष्टहरु सहे
अनिश्चित भविष्यमा पनि सुन्दर रचना गरी गए
अर्कैको पनि आफ्नै सम्झे अन्यलाई जस्तो भए ।।६।।
अनि त हुर्काउन सके ती सुन्दर फूलहरु
लटरम्म फलाउन सके ती कैयौँ फलहरु
भग्नावशेष परिधिमा ती जिवितहरु देखेँ बरु
बेवारिसे ढङ्गमा हावा चल्दा हिल्लिरहेको देखेँ अरू ।।७।।
(खुदुनावारी क्याप्पको स्थानान्तरण प्रक्रियाको अन्त्यतिर, त्यसैको सेरोफेरोमा रचित कविता)