समयको सुइरामा उभिएर
शिवलाल दाहाल
केन्टकी, अमेरिका
आँधीपछिको सन्नाटामा
हामी आत्मरति गरिरहेका छौँ
कसैको बहुलठ्ठीपनमा
हामी खुसामद गरिरहेका छौँ
हामीलाई थाहा हुँदाहुँदै र जान्दाजान्दै
हामी समयको आवश्यकता भनिरहेका छौँ
यो देशको नैतिक मूल्य र आदर्श
धुलीसाफ हुँदा पनि हामी
फेरि अर्को रमिता हेर्न तयार भएका छौँ
सायद एक पटक रमिता हेर्न गएपछि
पटक पटक रमिता हेर्न लत लागेको छ
त्यही भएर साँढे उन्मत्त भएर सहर पसेपछि
वाह वाह क्याबात क्याबात भनिरहेका छौँ
आखिर साँढे भनेर छोडिदिएपछि
ऊ भगवानकै एक असली अंश भइदिन्छ
र हामी अक्षता र फूल माला लिएर पूजाका खातिर तयार हुन्छौँ
चोक चोकमा, गल्ली गल्लीमा, सहर सहरमा
पेन्सिल्भेनीय, जोर्जीयदेखि टेक्साससम्म
यो देशको पूर्वदेखि पश्चिमको भूमण्डलसम्म
झुट र भ्रमलाई हामी सच्चाइ भन्छौँ
वाक चाटुकारीलाई हामी जादुगर सम्झन्छौँ
त्यही भएर हामी इतिहासलाई सजिलै भुलिदिन्छौँ
र महान् पुनरागमनको दुहाइदिएर कहिल्यै थाख्तैनाैँ
के राष्ट्रियता भनेको उद्दण्डता र उत्तेजना हो ?
हामी भन्नै सक्तैनाै र मौन स्वीकृतिमा आह्लादित हुन्छौँ
र बिर्सिदिन्छौँ डार्विनको विकासवादको सिद्धान्त
र सुम्पिदिन्छौँ प्रागैतिहासिक धार्मिक विश्वासमा
चाटेर अलिकति चटनी कर छुट र व्यापारिक लाभको
अनि एकाएक जान्ने पल्टन्छौँ
र पढाउन थाल्छौँ राष्ट्रियताको नव परिभाषा
र पढाउन थाल्छौँ पुनरागमनको पुराकथा
हामीलाई ठूलो कुरै चाहिँदैन हाइपोथाइज गर्न
हामीलाई ठूलो कुरै चाहिँदैन हिप्नोटाइज हुन
सर्पले विष वमन नगरुन्जेल थाहा हुँदैन विषको डाहा
त्यही भएर पर्खिनु छ हेर्न यो देशको लीला
अझै के के भोग्नु पर्नेछ यो देशले समयको सुइरामा उभिएर
इतिहासको आदर्श र मर्म बिर्सिएर