सुनगाभा !
शिवलाल दाहाल
खुदुनाबारी
सुनगाभा !
कहिले काहीँ त यसो यता हेरे हुन्न ?
तिम्रो वैंशको खूब लोभ लाग्छ
सुनगाभा !
प्रत्येक वसन्तमा
तिमी फुलिदिन्छ्यौ
कहिले रुखका कापहरुमा
कहिले भीर-पाखाहरुमा
यसपालीको वसन्तमा
यसो यतातिर आए हुन्न र ?
मनको फाँटभरि टम्म फुलिदिए हुन्न र,
सुनगाभा !
कतै बतासले वैँश चोरी लाने त होइन ?
कतै बर्षातले बाँध तोडी लाने त होइन ?
डर पनि लाग्छ,
यसपालीको वसन्तमा त आएस् है,
बाटो नबिराएस् है,
सुनगाभा !
खुब रहर लागेको छ,
तिमीलाई मनभरि फुलाउन
खुब रहर लागेको छ तिमीलाई आँखाभरि सजाउन ।
रचनाः कार्तिक ३०, २०६८