हिउँ र मानिस
धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका
यो हिउँ
हेर्दा कति रमाइलो छ
स्फटिक सेतो
नरम रुवा जस्तो
सधैँ हेरिरहूँ जस्तो
छातीमा टाँसेर राखिरहूँ जस्तो
तर यसको छेउमा निदाउन सकिन्न
अँगालो हालेर बस्न सकिन्न
चुम्बन गरेर घण्टौँ बिताउन सकिन्न
हातहरू कठ्याङ्ग्रिन सक्छन्
रक्तसञ्चार बन्द हुन सक्छ
सधैँका लागी तिमी निदाउन पनि सक्छौ ।
ए मान्छेको मखुन्डो ओडेका
हिउँहरू हो
ए मान्छेको अनुहार भएका
हिउँहरू हो
अब तिमीले आफैलाई बदल्नुपर्छ
अब तिमीले आफैँलाई मान्छे बनाउनुपर्छ
कतिको घर उजाड्छौ
कतिको रगत चुस्छौ
छोडिदेऊ अब यो लुकीछिपीको खेल
छोडिदेऊ अब यो लुटको खेल
अरूलाई दुख्दा हाँस्नेहरू
अरूको पीडामा रमाउनेहरू
सियो भई पसेर
फाली भई निस्कनेहरू
अब तिम्रो, हिउँजस्तो देखावटी अनुहार
अब तिम्रो, हिउँजस्तो देखावटी मुस्कान
धेरै दिन टिक्ने छैन
हिउँलाई हिउँ
अनि पानीलाई पानी
छुट्याउन सक्ने भइसके मानिसहरू
छुट्याउन सक्ने बनिसके मानिसहरू
कैलेकाहिँ तिम्रो मुस्कान हिउँभन्दा राम्रो देखिन्छ
कैलेकाहिँ तिम्रो बोली हिउँभन्दा राम्रो सुनिन्छ
तिमी अँध्यारो कोठामा बालिएको
उज्यालो बत्तीजस्तै देखिन्छौ
अनि तिम्रो वरिपरि झुम्मिन्छन्
मानिसहरू….
छिचिमिरा बत्तीमा झुम्मिएजस्तै गरी
आफ्नो प्राण हत्केलामा राखी
आफ्नो प्राण हत्केलामा राखी
तिम्रो हिउँभन्दा चिसो मुटुले
तिम्रो हिउँभन्दा कठोर हृदयले
मसला पिसे झैँ पिस्छन् ती निहत्थाहरूलाई
ती तिम्रो विश्वास गर्नेहरूलाई
तर
अब तिम्रो उज्यालो अनुहारभित्र
लुकेको कालो जाली मुटुलाई
पर्दाफास गर्नुको विकल्प छैन
आफैँलाई बदलेर
साँच्चै स्फटिक बन
साँच्चै उदार बन
नत्र तिम्रो जाली संसारमा भुईँचालो जानेछ
ज्वालामुखी फुट्नेछ
19th February 2021