तिम्रो हाम्रो देश

देव लामा,
जर्जिया; अमेरिका-
IMG_8997

जीवनको नागबेली गोरेंटोमा,
मनको सुन्दर क्यानभासमा,
जीवनका सुकोमल रंगहरू
अनि हृदयको कुचिले
सुन्दर शान्त र विशाल घरको आकृति पोत्दै पोत्दै
तिम्रा हरेक संघर्षशील पाइलाहरू अघि बढ्नुपर्छ-

जून घरमा
धने, बिरे, रनमती र कमला,
गुलाब भएर पूर्ण जीवन बाँच्न सक्छन्
त्यो तिम्रो लक्ष्य हुनुपर्छ…!

हो युवा …
तिम्रो लक्ष्य हातै छिन्ने ताजमहल मात्र हुन्छ भने
तिम्रो राष्ट्र अनि तिम्रो शिर सगरमाथा हुनेछैन
हिम झैं जमेको शहीदको सपना
मैन भै पग्ली किनारा लाग्ने छ..!

त्यतिखेर,
तिम्रो देश अनि राष्ट्रिय अखण्डता
समयको अग्निकुण्डमा दनदनी जल्नेछ,
अनि विश्व मानचित्रमा
तिम्रो-हाम्रो देश -धुवाँ बनेर
समयको आँधीसँगै कालो बादलको
धब्बा भएर उड़्ने छ,
अनन्त आकाशमा…!

Don't have a Facebook account? Please, use the form below with other options!