नारी शक्ति

दुर्गा गुरागाईं
भिक्टोरिया अष्ट्रेलिया

राधाशक्ति बिहीन कृष्ण महिमा आनन्द के हुन्छ र
श्रीसीता सरि आज रूप गुणको अर्को यहाँ को छर ?
उस्तै छन् शिवजी हिमाल शिरमा साथै उमा शक्ति छन्
नारी व्यापक यो सदा सकलकी  ऊर्जा दिने शक्ति हुन्।।१

गर्छन् पालन विष्णु सृष्टि भरिकै ऊर्जा मिली लक्ष्मी को
आद्याशक्ति बिना न अन्त्य थिति भो आरम्भनै सृष्टिको
त्यागे राज र राज्य साथ  वनमा जाँदा सियाराम छन् ।
नारी व्यापक यो सदा सकलकी ऊर्जा दिने शक्ति हुन्।।२

जस्तै पौरुष शक्ति साहस मिलोस् प्रख्यात पावोस् नर
सारा लोक अधीन होस् रज बिना निर्माण के हुन्छ र ?।
अर्धाङ्गी भुवमा सबै पुरुषकी नारी बिना के छ र?
आधा शक्ति बहू विहीन जगमा के पूर्ण होला नर।।३

भार्या साथ सती सरूप भगवान् हुन् अर्धनारीश्वर
श्री स्वभाव बिना कतै न रचना के सृष्टि चल्ने छर?
माया हुन् ममता सदा सहचरी मुस्कानका उर्वर
यी सञ्चालक हुन् जहान घरका पत्नी भए सुन्दर।।४

माया हुन् परिवार सार घरका गृहस्थी का वाहिनी
शोभा लक्षण शील आद्य गुरु हुन् यी मर्त्य का गोपिनी
नारीमा छ अपार शक्ति जगतै हाँक्ने ठुलो तागत
के चल्थ्यो हय सारथी र पथले पाङ्ग्रा नहुँदा रथ।।५

दाता हुन् कुल खानदान घरका अर्धाङ्गिनी मर्दका
श्री हुन् वैभव सान मान सबका धन्वन्तरी दर्दका।
स्त्रीबाटै घर सम्पदा र ममता ऐश्वर्य पाइन्न र?
लक्ष्मी हुन् सबका गृहस्थ नरका पत्नी हुने घर्-घर।।६

आधा अङ्ग सरूप जान्नु जनले वामाङ्ग हुन् संगिनी
स्त्री हुन् पालक यी कुटुम्ब सबका आवास का स्वामिनी ।
बूढा बाल युवा वयस्क जति छन् प्यारो नबन्ला र कुन्?
नारी व्यापक यो सदा सकलकी ऊर्जा दिने शक्ति हुन्।।७

छन्द – शार्दूलविक्रीडित

Don't have a Facebook account? Please, use the form below with other options!