तिम्रो खोजीमा

कवयित्री
कवयित्री

उमा गौतम
अमेरिका

आशाका किरणहरु बटुलेर
सुस्त सुस्त आँसुका ढिका समेटी
तिम्रो खोजीमा बेताब यी नजरलाई
अब छेक्दैनन् अन्धकार बादलहरुले
रोक्दैनन् अग्ला टाकुराहरुले-

हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच
मुस्कानको एउटै टुक्रा नभए के भो
तिम्रो खोजीमा हिँडेका यी विश्वास
मर्दैनन् बोत्तलका प्यासहरुले
काटिँदैनन् धारिला धारहरुले
तिमीबिनाको यो घायल दिल
कुनै लहरमा लहरिने छैन
तिम्रो अङ्गालोको खोजीमा
पलपल छट्पटिएको यो दिल
अब चुपचाप बसोस् कसरी ?

प्राकृतिक रङ् फेरिएर के भो ?
यो धर्तीका प्रत्येक सम्झौताहरुले दिएको
झूट्टो सन्देशलाई म स्वीकार्ने छैन
“तिमी कात्रोमा बेरियौ रे,
मलाई छोडी धेरै टाढा गयौ रे”
अहँ तिमी कात्रोमा बेरिएको छैनौ
मदेखि टाढा हुन म दिने छैन
खोज्नेछु अझ प्रत्येक कुना,
भीड, गल्ली, पाखा, र अन्धकार-

तिम्रो खोजीमा समर्पित यो शरीरलाई
ठिहिराउँदैनन् हिउँका थुप्राहरुले
जलाउँदैनन् आगोका मुस्लाहरुले
अब पोल्दैनन् धूपका चर्का किरणहरुले
अनि डुबाउँदैनन् सैयौं समुद्रहरुले
तिम्रो खोजीमा ब्यतित यो प्रेमलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *