अर्कै शिराबाट सोच्न आह्वान

तुम्बेहाङ् लिम्बु 
नेपाल

वर्षौंदेखि
आशाको दियो बालेर बसेकोछ एफ–४
देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५
या त उनीहरुलाई थाहा छैन
या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन
कि राजनीनिक हुरी–बतासको मौसममा दियो जल्दैन
अनि पत्थरको देवतासँग पग्लनलाई हृदय हुँदैन।

वर्षौंदेखि रुङ्दा–रुङ्दा आशाको दियो
जीवनदीपको ऊर्जा समाप्त हुन लागिसक्यो
वर्षौंदेखि ढोग्दा–ढोग्दा पत्थरको देवता
देवताप्रति आस्थाको रङ पूरै उडिसक्यो
एफ–४ हुनु भनेको त
राष्ट्र नामको कलाकृतिमा इन्द्रेणी रङै नहुनु रहेछ
एफ–५ हुनु भनेको त
राष्ट्रियता नामको बगैंचामा मरुभूमि पस्नुसरह रहेछ
उनीहरुको देवताले एकदिन न्यायको तराजु समात्छन् भन्ने
लामा, पुरोहितको प्रवचनमा
उनीहरुलाई रतिभर विश्वास छैन अचेल
यद्यपि उनीहरु आशाको दियो बाल्न छोड्दैनन्
देवताको आशीर्वाद पर्खनु छाड्दैनन ।

यसो गर्नु भनेको पनि
दार्शानिक हेगेलको द्वन्दवाद जस्तै रहेछ
आदर्शवादले जरा हालेको,
या त फायरबाखको भौतिकवाद जस्तै रहेछ
यान्त्रिकताले ग्वाम्मै अँठ्याएको,
सायद यसलाई कसैले मिहिन गरी केराउन सकेको भए
मार्क्सले हेगेलको द्वन्दवादबाट आदर्शवाद र
फायरबाखको भौतिकवादबाट यान्त्रिकवाद अलग गरे सरह
यी एफ ४, एफ ५ को मगजबाट पनि
लामावाद र पुरोहितवादको आस्था मेटिने थियो कि !
र, एउटा नयाँ शिराबाट सोच्न बाध्य पार्थ्यो कि !
कसो कसो, अचेल यस्तै एउटा जंगली सोँच आइरहन्छ
मेरो बेकामे खोपडीको एउटा ढुसी परेको कुनामा ।

हे एफ–४ र एफ–५ हरु हो !
तिमीहरुले आशाको दियो बालेको
तिमीहरुले देवताको आशीर्वाद पर्खेको, धेरै भयो !
के एकछिनलाई आशा र देवताको मायावी जंजालबाट
तिमीले आफुलाई अलग गरेर हेर्न सक्छौ ॽ
सोच्ने तरिका अरु पनि हुन सक्छ भनेर
के तिमी विश्वास गर्न सक्छौ ॽ

हरेक चीज गतिशील छ र परिवर्तनशील छ
हिजोको सत्य आज असत्य लाग्न सक्छ
हिजोको असत्य आज सत्य हुन सक्छ
यस परिवर्तनशील विश्व ब्रह्मण्डमा
किन तिमी यति बिघ्न जडताको पुजारी बन्छौॽ
उहिले उहिले
प्रचीन चीनको अफिम युद्धमा जस्तो
कतै तिमी पनि शक्तिपूजाको दाउपेचमा परेर
अचेतन दुनियाँको लट्ठिने नसामा त जकडिएको छैनौ ॽ

अझै पनि समयले डाँडा काटिसकेको छैन
कतै एकचोटि अर्कै शिराबाट पनि सोच्ने अभ्यास गर्ने हो कि ॽ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *