उनको प्रश्नमा अनुत्तरित उत्तर
तिलारूपा आचार्य ( अधिकारी)
ओहायो , अमेरिका
तिम्रा यी अनेकौँ प्रश्नहरूले
मन सोच मग्न हुन्छ
अनि,
सृखलाबद्ध अनुत्तरित
उत्तरहरू सलबलाउन थाल्छन्
जीवन भोगाइका अनगिन्ती
मिश्रित पलहरूको
दृश्यावली छर्लङ्ग आउँछ
श्वास रोकेर एकटक हेरिरहन्छु
त्यो सप्तरङ्गीलाई
जहाँ अभावै अभावमा पनि
खुसी मुस्कुराउँथ्यो
आपसमा विश्वास जुर्मुराउथ्यो ।
साथीसँगको साथ
आफन्त र शुभचिन्तकहरूको हात
सहयोग र सहाराको खातैखातमा
बिर्साइ दिन्थ्यौ हाँसेर
कैयौँ अँधेरा रात।
त्यो नगरमा ,
दुस्मनी हावा बहिरहन्थ्यो
दिनभरि हुरी चल्थ्यो
रातभरि पानी पर्थ्यो
छाती भरी पिडा दुख्थ्यो
अनि मन भने उतै पुग्थ्यो।
पानी परे पछिको
सफ्फा आकासे इन्द्र धनुष झैँ
सपनाहरू रङ्ग बोकेर उद्याउँथे
अनि उसै गरी
सित झैँ विलीन हुन्थ्ए ।
जिउनलाई न त ज्यान रहन्थ्यो
मर्नलाई न त चिहान मिल्थ्यो
तर पनि
आफ्नो पनको सान थियो ।
बाटाहरू पहिरोमा परे
न्यायको आसमा आश्रित आँखाहरूमा
निराशाको पोखरी जम्यो
पर्खाइमा कैयौँ घाम अस्ताए
बाध्यता पनि शून्य तिर
मोडिन थाले पछि
बतासले जता उडाउँछ
उतै उड्नु पर्दो रहेछ बिस्कुनले ।
अपसोच,
मैले तिम्रा प्रश्नहरूको
सबै उत्तर समेट्न असमर्थ छु
किन कि म आफै एक
अनुत्तरित उत्तर हुँ।
तिमीलाई,
पक्कै एक दिन
सप्तरङ्गी इन्द्रेणीको
कथा सुनाउला छोरो …….
दिदी कविताअति मिठो।