उसले फोन गर्‍यो

दिल भुटानी
बेलडाँगी झापा

धेरै, धेरै पछि…
उसले फोन गर्‍यो र भन्यो-
अब स्वदेश फिर्ती हुन्छ त ?
खुब…! देश देश भन्थिस् !
फिरिस् त ?

ऊ बोलिरह्यो-
मैले त पहिल्यै सकिँदैन भनेको नि
तँ सकिन्छ भन्दै बसिस्
खोइ त….. तेरो देश फिर्ती ?

म चुपचाप सुनिरहेँ-
पहिल्यै आएको भए
तँसँग पनि… घर हुन्थ्यो
तँसँग पनि… गाडी हुन्थ्यो
तँ पनि यहाँको नागरिक हुन्थिस्
अनि नि:सङ्कोच संसार घुम्थिस् ।

मनमनै सोचेँ….
फेक्कट्रीबाट धेरै पछि
उसले फुर्सद पाए छ सायद ।

ऊ मसँग जवाफ खोजिरहेको थियो-
कति छन् देश फर्किनेहरू शिविरमा ?
कति छन् देश भन्नेहरू शिविरमा ?

 

तर म निःशब्द सुनिरहेँ
ऊ बोल्दै गयो-
किन कुरा बुझ्दैनस्, लाटा
हेर त !
नक्कली शरणार्थी बनेर
करोडौँ सम्पत्ति हुनेहरू पनि
आफ्नो नागरिकता समेत च्यातेर
यहाँ आउनकै लागि लाखौँ तिरिरहेका छन्
तँ किन कुरा बुझ्दैनस् हँ ?

मलाई मनमनै हाँस उठ्यो !

ऊ त्यहाँको रेड लाइटमा उभिँदा उभिँदै
कति पटक फायरमा परेको थियो
उसले त्यो भनेनन् ।

 

जीवनबाट जोन बनेको उसको भाइ
पटक पटक फायरमा परेर
काम नपाउँदा
होमलेस भएको भाइको कथा पनि उसले भनेनन् ।

 

बरु भन्यो-
म पनि स्वदेश फिर्तीका हरेक जुलुसमा गएको छु
म पनि देश भनेर मरिहत्ते गरेर लागेको मान्छे हुँ
तर पछि
सकिँदैन भन्ने बुझेर नै हिँडेको हुँ
तँ किन शिविर रुँगिरहन्छस् हँ ?

 

ऊ बोलिरह्यो-
आइज हो तँ पनि
अब सकिँदैन
एक्लै के गर्छस् ?
तँसँग हिँड्नेहरू सप्पै आइसके
त पनि आइज
के गर्छस् एक्लै ?
एक्लो विरस्पति जुठो हुन्छ
एउटा हुटिट्याउँले संसार थाम्छु भनेर हुन्छ ?
आइज तँ पनि ।

 

उसले विगत सुनायो-

बि सी डी एमको साइकल रेलीमा पनि गको हुँ
म ए एम सी सिको पिस मार्चमा पनि गको हुँ
मानन्द पुलमा बाबुरामको लास बोकेर हिँड्दा
म अगाडि अगाडि थिएँ
एस एस पी ले सानो लट्ठी हानो र !
हेर… डढेलामा अझै नीलडाम छ ।

 

पछिल्लो पटक पुनर्वास नजाने भनेर
मेची पुलको जुलुसमा पनि गएँ
त्यहाँ पनि लट्ठी खाएँ
मेरै अगाडि सह बहादुर सिवा ढल्यो
म पनि घाइते भएर अस्पताल बसेँ
तर देश फिर्ने सपना पूरा भएन
अनि सकिँदैन लागेर म पनि हिँडेँ ।

 

उसले यसरी लामो कथा सुनायो
तर उसको यो कथामा देश प्रेम थियो ।

 

तर मलाई भने लागिरह्यो
दासत्वको आगोले डढेर
वर्षौँ देखि थिचिएका त्यहाँ अफ्रिकीहरूका
अनुहार नपढी ऊ बोलिरहेको छ ।

 

उनीहरूका बलिदानले सफेद बनेको
उनीहरूको रगतले लेखेको स्वतन्त्रता
नपढी ऊ बोलिरहेको छ ।
उनीहरूको
बलिदानले उभिएको
स्ट्याचु अफ लिवर्टीअघि उभिएर
निरन्तर निर्धक्क बोलिरहेको छ
लाग्छ ऊ
रेड इन्डियनहरूको निधार नपढी बोलिरहेको छ।

 

उसले धेरै, धेरै पछि
फोन गर्‍यो र भन्यो-
अब स्वदेश फिर्ती हुन्छ त ?
खुब…! देश देश भन्थिस् !
फिरिस् त ?
मलाई लाग्यो-
सायद, मङ्गलग्रहको सुविधा सम्पन्न
एउटा घरमा बसेर ऊ
मलाई फोन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *