एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

कवि
कवि

रमेश गौतम 
नर्वे

एउटा हराभरा भूमि
कैयन् तहल्का पश्चात
मरुभूमि बन्छ ।

एउटा मरुभूमि
जहाँ बालुवाका कण मात्र छन्
त्यहाँ पनि कहिलेकाहीँ
क्याक्टसहरु उम्रने गर्छन्
अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो
क्याक्टसको निम्ति मरुभूमि बन्दैन।

क्याक्टसहरुलाई केही चाहिँदैन
मानौं,
उनीहरू निस्काम सेवा गर्छन्
के सेवा गर्छन् उनीहरूले ?
त्यो कसैलाई थाहा छैन
छहारी प्रदान गर्ने पिपलसरि
क्याक्टस
मरुभूमिमा छहारी बन्दैन
तर क्याक्टस
त्यो उराँठ मरुभूमिमा
अघि बढ्न चाहनेहरुका
पाइला रोकिरहन्छ
ऊ अवरोध बन्छ
अनि
काँडा बनेर पैतालामा बिझ्दा
त्यो यात्राको गतिशीलता रोकिन्छ ।
साँच्चै
मरुभूमिमा क्याक्टस उम्रन्छन्।

२९ नोभेम्बर २०००, शनिश्चरे

क्युनसेल वर्ष १६, सङ्ख्या ६ मा प्रकाशित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *