कागतीको दाना साँच्चै अमिलो हुँदोरहेछ !
शिवलाल दाहाल
केन्टकी, अमेरिका
मेरी आमा !
तिमीले छ दशक पार गर्दा पनि
कागतीको वास्तविक अमिलो चाल पाउन सकेकी रहेनछ्यौ
हुन त तिमीले बारम्बार भन्ने गथ्र्यौ
म कागतीको बोटको फेदमा जन्मेकी हुँ
बोटको फेदमा जन्मिएर जरा राम्रो चिनेऊँ होला
त्यसको फल राम्रो चिनेकै रहेनछ
पक्कै पनि यतिका वर्षसम्म
धेरै थरि अमिलो चाख्यौ होला–
जस्तो कि कालीज्यामिर
भक्मिलो
बिमिरो
कलिलो आँप
आलो सिन्की
हुन त कागतीका दानापनि काटेर खाएको हुनुपर्छ
तर त्यसको वास्तविक अमिलो चिनेकै पो रहेनछ
कस्तो अचम्म दश जना सन्तानकी आमा हुँदासम्म चाल नपाएकी
त्यो अमिलो चालपाउन यतिका लामोसम्म लाग्यो
मेरी आमा !
बुढापाकाहरु भन्ने गर्थे नि बाँचेदेखि देखिन्छ सबै कुरा
म भन्छु भोगेपछि बुझिन्छ सबै कुरा
सबभन्दा बढ्ता त मानिसको व्यवहार अमिलो हुँदोरहेछ
अब त कागतीको अमिलो चिनेकी छ्यौ
यो एकाशौँ शताब्दीको पाठ पढ्न सजिलै सक्ने छ्यौ
र बुभ्ने छ्यौ यो संसार कागतीको चुकभन्दा कम अमिलो छैन
छोरो भएर मैले यसरी तिमीलाई सुझाउनु नहुने हो
माफ गर्नु होला
मैले भन्नै पर्ने भयो !