किन ?
गोविन्द लुइँटेल ‘यार’
सिन्सिनाटी, ओहायो
राम्ररी अनुभव,
स्पर्श र माया गर्न नसकेको,
पढेको वा पढाइको,
परीक्षामा बढो मिहिनेत गरी कोरेको,
जहाँ बाबु-बाजेले पसिना रोपेको,
प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि
जो “फलामको बाकस” थियो,
म: नाति/ पनातिको पुग्ने सपना
पन्ध्र- सोह्र वर्ष मै किन तुहियो?
किन की
बाध्यता थियो, विकल्प अर्को थिएन
पुगियो: सपनाको देश ।
पन्ध्र-सोह्र वर्ष अघि,
सत्र-अठार वर्ष कठोर थिए
टुम टुम थिए हर दिन र रात:
पानी हुँदा इन्धन थिएन,
चामल हुँदा सब्जी थिएन,
ढाक्ने कपडा हुँदा हिँड्न चप्पल थिएन,
उपचार थियो पर्याप्त थिएन,
शिक्षा थियो भविष्य थिएन,
झुप्रो हुँदा कहिले छानो थिएन,
हावा-हुरी आए रसिमा झुन्डिन्थ्यौ,
आगो लाग्दा ज्यान फाली होमन्थ्यौं,
तर पनि किन ?
घोर याद आउँछ
त्यही माटो र ठाउँको
जहाँ सपना केवल जुन- तारा देख्नु सिवाय थिएन
किन कि,
पैतृक थलो थियो, शरण भूमि थियो।
वर्तमान पहिचानमय छ तर आनन्दमय छैन,
अवसरपूर्ण देखिन्छ छ तर सन्तोषजनक छैन,
जिब्रो बोल्छ भाषा जानेर साध्ये छैन,
कान सुन्छ सङ्गीत बुझेर साध्ये छैन,
एउटा उठ्दा अर्को भुसुक्क सुत्छ,
एउटाको विश्राम हुँदा अर्को जोतिन्छ,
काम छ – सबै थोक उपलब्ध छ,
नसके: सरकारी सहयोग छ,
इमान – जहाँ सुकै अँट्छ,
बेइमानी- जाहीँ ताहीँबाट हट्छ,
तर पनि किन ?
उही जन्मेको माटोको
उही अभावमा हुर्केको पाटोको / बाटोको
समुद्र माया लाग्छ ?
किन की,
नक्कली सुख र पहिचान भन्दा सक्कली दुःख अनि माटो गजब हुन्छ !