चिताको आगो साँच्चै तातो हुँदोरहेछ
रमेश गौतम
नर्वे
आजको यो कविता
म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु।
मलाई
यो कविता लेख्न पटक्कै मन थिएन
म चाहन्थेँ-
यति बेला म
तिमीलाई सम्झँदै
केही रोमान्टिक बनौँ
प…र क्षितिजमा डुब्दै गरेको रातो घाम
मेरो टाउकै माथिबाट उडेको
मायालु चराको एक युगल जोडी
सर्रर बहँदै गरेको बसन्ती पवन
माथि टाकुराको सल्लाको रुखमुनि
मुस्कुराउँदै गरेका युवायुवतीहरू
अनि यो सेतो हिउँ;
यी सबै कुराले मलाई
रोमान्टिक बनाउनु पर्ने हो
अझ भनौँ
मदहोश बनाउनु पर्ने हो
कामुक बनाउनु पर्ने हो।
यसरी बहने यो बसन्ती हावा
तिमीलाई बोकेर आउँथ्यो मेरा सामु
तिम्रो केसराशी छरेर मेरो अनुहारभरि
मेरो हृदयभरि मादकता भर्थ्यो
म इन्द्रको बाटिकामा
कम्मर मर्काउँदै गरेकी
उर्वशीलाई हेरेर टोहोलाउँथे
तिमी हिउँ कोट्याएर
माछा हेर्दै मुस्कुराउँथ्यौ
जमेको समुद्रमाथि बसेर।
आज मैले
तिम्रो खरानी उडाएको छु
वायुमण्डलमा
आगोले निल्दै गरेको
तिम्रो शरीरले वहन गरिरहेको दर्द
मेरो मुटुले भोगेको छु
तिम्रो चिताको ज्वालो हेरेर
रुझेका मेरा आँखा–
म कामना गर्छु-
त्यो पानी प्रदूषणहीन भइदेओस्
चिताको आगो पनि त तातो नै हुँदो रहेछ
तिमीलाई पनि थाहा भयो होला !
तिमी उभिएको धर्ती
एकाएक दब्यो र तिमी भासियौ समुद्रमा
तिमीलाई समात्न खोज्दै गरेको म
समुद्री आँधीको प्रचण्डतासँगै हुत्तिएँ कतै
डुब्दै गरेको तिम्रो शरीरबाट
बेजोडसँग विषालु ग्यास निस्कँदै थियो
आँखा चिम्लिएर
मनैले नियालेँ वरिपरि
संसार अँध्यारो थियो।
तिम्रो चिता जल्दै गर्दा
सबै कुरा जम्यो एकाएक
तिम्रो प्रराभौतिकीसँग
मलाई कहिल्यै विश्वास थिएन।
मेरा प्रिय वैज्ञानिकहरूले
संसारलाई छलेका रहेछन् यतिन्जेल
उनीहरूको संसारको तापमान वृद्धि
अथाह ध्रुवीय हिमपिण्डको पग्लाई
हरित गृह ग्यासहरू
सबै झुटा कुरा रहेछन्
तिमी पर्माफ्रोस्टको अनन्तताभित्र
हरायौ कता कता।
तिमी जलेको खरानी
केही हावामा उड्यो
केही माटोमा मिल्यो
म निक्कै त्रसित भएँ-
तिम्रो शरीरबाट
अघि निस्किएका विषालु ग्यासहरू
वायुमण्डल मै मिले
तर तिमी
अझै सुतिरहेकीछ्यौ
अचलायमान!
तिमी एक चोटि मात्र भए पनि
मुस्कुराए हुन्थ्यो।
तिमीलाई
सगर डढेको हेर्ने मन थियो
स्वाल्बार्डको एकान्त टापुमा
पग्लँदै गरेको हिउँमा
काम्दै उभिएको हिमभालु हेर्ने मन थियो
माउन्ट पिनाटुबो विस्फोटनपश्चातको
विचित्र अनि मनमोहक सूर्यास्त हेर्ने मन थियो।
उठ, हेर त !
यो उत्तर ध्रुवीय ज्योति
छाम्न सक्ने गरी/ खेलाउन सक्ने गरी
तिम्रो अनुहारमा पोखिएको छ ।
वायुमण्डलमा
उड्दै गरेको तिम्रो खरानी
हिमपातसँगै झर्यो धर्तीमा
अब यो खरानी मैले
कुन समुद्रमा बगाउने होला!
म टोहोलाइरहेको बेला
टुप्लुक्क आइपुगेकी थिइन्
क्यानडाको हार्सचेल टापुबाट यी वृद्धा
“पर्माफ्रोस्टको भ्रममा
तिमी दिशाहीन नबन
एकै छिनमा यो सम्पूर्ण धर्ती पग्लनेछ
र हाहाकार गर्दै निस्किने छन् चिहानभित्रका लासहरू
म मेरा पितापूर्खाका लासको चीत्कारसँग
भागिरहेछु अनन्त कालदेखि!
तिमी पनि भाग्ने तयारी गर
यो लासलाई छुनु हुँदैन
यसले ठुलो अनिष्ट गर्नेछ।”
रोटी पकाउन मुछेको पिठो जस्तै
गलेको माटो
बेजोडसङ झर्न थाल्यो
ती वृद्धाले भने जस्तै
तर
कुनै लासले मेरा सामु
चीत्कार गरेन।
कस्तो अनिष्ट हुने हो भनी
काँपिरहेको थिए म
मैले पत्तै पाइन
तिमी कता बग्यौ, कता हरायौ।
तिमीलाई माया गर्ने म
चिरिएँ-
हीनताबोधले
किम्कर्तव्यविमुढताले
भयले/त्रासले।
मलाई थाहा छैन
तिम्रो बिम्ब कहाँ पुग्यो यति बेला
लाखौँ वर्ष बितेछ
म एक्लै छु
म लाचार छु।
आज म
मङ्गल ग्रहको एउटा
सुबिधासम्पन्न प्रयोगशालामा बसेर
पृथ्वीको जलवायु परिवर्तनको नमुना कोर्दैछु
मेरा सहकर्मीहरूले
धेरै हजार वर्षको भगीरथ प्रयासबाट
पृथ्वीको समुद्रीतलसम्म पुगेर
कोरलको चट्टानको एउटा सानो खण्ड ल्याएछन्।
मेरा आँखाहरू
बादलले भरिए फेरि
त्यो कोरलमा अवस्थित
अक्सिजन आइसोटोपहरुको
तुलनात्मक अध्ययनबाट होस्
वा
गह्रौँ धातुको
रेडियोधर्मी क्षयको अध्ययनबाट होस्
मेरो निष्कर्ष–
म कोरलमा
तिम्रो अनुहार भेटिरहेछु।
तिमीले कोरलको रसायन बोकेर
के गर्यौ हँ
लाखौँ वर्षसम्म?
मैले आज
एउटा कठिन कार्य पुरा गर्नु छ
तिम्रो शरीरको कण-कण कोट्याएर मैले
बितेका करोडौँ वर्षहरूमा
पृथ्वी किन “पृथ्वी” हुन सकेन
खोज्नु छ
मैले तिम्रा प्रत्येक अङ्ग-प्रत्यंग नंग्याएर
पृथ्वीमा आफ्नो अस्तित्व प्रमाणित गरेका
कमसेकम
पाँच वटा हिमयुगहरुको चित्र उतार्नु छ
मेरी प्रिया !
तिमीलाई यसरी च्यातेर मैले
करिब २६ लाख वर्षअघि सुरु भएको
वर्तमान हिमयुगको
गतिकी पत्ता लगाउनु छ।
यसरी
लाखौँ वर्षपछि
प्रयोगशालामा भेटिएकी तिमीसँग
कस्तो प्रेम साटासाट हुँदो हो
मलाई थाहा छैन।
तर तिमी त
खण्ड खण्ड बाँचेकी छ्यौ आज
मङ्गल ग्रहमासमेत
छङ्छङ् गरिरहेको यो छहराले
तिमीलाई खुसी दिन सक्ने छैन
समुद्रको गहिराइमा
तिम्रो अस्तित्व सङ्कटमा छ
जलवायु परिवर्तन
समुद्री अम्लीकरण
विस्फोटक मत्स्य सिकार
आदिको एम्बुसबाट
तिमी कदापि सुरक्षित छैनौ।
यसरी
तिमी प्रत्येक पल मर्दैछ्यौ
लाखौँ वर्षदेखि
तिम्रो चिताको आगो तापेर म
आहत भएको छु
रक्तरञ्जित छ मेरो परिवेश!
चिताको आगो साँच्चै तातो हुँदो रहेछ।