तिमीले पनि सम्झ है

कवि
कवि

दिपक थापा
भर्जिनियाँ-अमेरिका

आज मैले फेरि सम्झें
तिमीले त सधैं झैँ
भुलक्कड़ बनी भुली सक्यौ होला
हाम्रो स्कूल डाँडा अनि रमाईला पल
एक पल सम्झ त-
हाम्रो मित्रताको मुना त्यहीँबाट शुरु भाथ्यो
ताते ताते एउटा अबोध बालकसरह
चप्लि ओछ्याई चिसो चौरमा बस्ता
कोदालाको घन्टी बज्थ्यो त्यो समय
पिसाब छुट्टीमा धानको सुत्ली टिपी
कसले ठूलो बजाउँने भन्दै फुकेको याद आउँछ-
अनि छुट्टी हुँदा बोराभरि खाँदी खाँदी
सुकेका सालको पत्ता भरेको कहिलै भुल्दिन म !

अरुको सिको गर्दै आछामेको पत्ता बेरेर खाएको
बिँडी सम्झँदा अझै पनि मुख खिर्याउँछ परर…
अङ्गेरि यो यति झ्यांग मेरो भनी रिजाब
गर्ने आँट आज पनि हराएको छैन मेरो
होमवर्क नगर्दा क्लासबाट भागी ठूला ठूला
सखुवाका रुख छानी छानी मलाई लुकाउने साथीहरु
आज खै कहाँ छौ ?

अंग्रेजी सरले कन्सिरी उखेल्दा संगै सरापथ्यौ
कहिले यो सर नपरोस भनी …
अनि गन्ति गर्थ्यौं प्रतेक मिनेट एक एक सेकेण्ड
गणित सरको फर्मुला सोध्ने पालो आउँदा
अझै पनि सम्झेनौ ?
हेडसरको भाटाको चुटाइ
एक चोटि आफ्नो छेपारी छाम त…
त्यहीं देख्छु हाम्रा एक अर्काका आँशुका
छिटाहरु नमीठा पीडादायक !

स्कूल भाग्दा बेराबाट खाता किताब
पालै पालो अनि छिटो छिटो
सरले देख्छन् कि भनी छिराएको
अनि चौरमा गएर लगाएका गफ-
हाउडे जोक्सहरु..थोरै अश्लीलहरु पनि
एक एक संझी रहेको छु म अझै पनि
त्यो ठूलो लाबरको रुख ….अनि हाम्रा गफ-

ब्रेकमा पिठो पालै पालो खाएको बेला
एक अर्काको जुठोले बनाएको हाम्रो नाता
प्रतेक सुरुप संग अगि बढेथ्यो विस्तारै
अनि खै किन हो ?कसको आँखा लागेर हो
एसएलसीमा साटी साटी
सरको आँखा छल्दै चिट चोरेपछि
हामी कहिले पनि एकसाथ रहेनौं
बिछोडिएको प्रेम झैँ हामी किन हो एक्लै किन रम्यौ ?
मलाई त कुनै संका छैन
तिम्रै पालो अब सबै पलहरु सम्झिएर मलाई
फेरि मित्रता गाँस है ।

अनि म तिमीलाई फेसबुकमा याड गर्न पाउँदा
कत्ति रमाउँदो हुँला झनै
स्काइप र याहूमा हेरा हेर गर्दा …
कसम म तिमीलाई सधैं टेक्सट गर्छु
मलाई फेरि पनि साथी बनाऊ है ।
कहिले नछुटिने गरी …सदा सदाको लागि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *