तिम्रो संसार खोइ जयमाया ?

रमेश गौतम 
नर्वे 

जयमाया !
तिमी पीडाकी समुद्र हौ
अनिश्चितताको गह्रौँ भारी बोकेर
तिमी
अस्तित्वको खोजीमा
यत्रतत्र भौँतारिएकी छ्यौ
तर फेरि
शून्य संसारको गहनताले
एक्लो परिवेशको स्तब्धताले
तिमी लुटिएकी छ्यौ
तिमी ठगिएकी छ्यौ
सर्वस्वहरणको पीडामा
तिमी कतै हराएकी छ्यौ
आफ्नैबाट लुटिएर
तिमी स्तब्ध बाँचेकी छ्यौ
तिमी “करुणा” हाँसेकी छ्यौ
तिम्रो सन्सार खोइ जयमाया?

ती दिनहरू
तिम्रा मानसपटलबाट मेटिने छैनन्
तिमी “आफ्नो” भित्र बाँचेकी थियौ
तिमी “स्व” भित्र हाँसेकी थियौ
आफ्नो परिचय आफैँमा बोकेर
तिमी आफ्नो “परिश्रम”मा बाँच्थ्यौ
तिमी आफ्नी आमाको काखमा
तिमी आफ्नो बुवाको अधरमा
लुट्पुटिन्थ्यौ / रमाउँथ्यौ
आस्था मुस्कुराउँथ्यौ
सपना सल्बलाउँथ्यौ !

कथित बिरानो भूमि
आफ्नो बनेको थियो
तिम्रा पिता पुर्खाका पसिनाले
अनकन्टार चट्टानहरू
विकट सुदूर भीरहरू
रसाएका थिए
र झरना बनेर छङ्गछङ्गाएका थिए
जीवन सेचन गरेका थिए
जीवनभरि सलबलाएका थिए।
यही पीडाभित्रको सुखानुभूतिले
तिमी अबोध
छोपिएकी थियौ।

तिमी जान्ने हुँदा
तिम्रो रछ्यानबाट मोटर गुड्थ्यो
तिमीले मोटर केवल देखेकी थियौ
मोटरको ठुलो आवाज
केवल सुनेकी थियौ
त्यसमा गुड्न
तिमीसँग औकात थिएन
तर तिमीलाई के थाहा?
त्यो चिल्लो सडक
तिम्रै पिता पुर्खाका रगतले
पोतिएको थियो
त्यही रगतले
सन्तुलित घर्षणयुक्त चिल्लो सडकमा
रगतमाथि मोटर चिप्लन्थ्यो
तिमी मोटरको आवाज सुनेर
खुसी हुन्थ्यौ / उफ्रन्थ्यौ
ताली बजाउँथ्यौ;
निर्ममतापूर्वक
निर्दयी मोटर
तिम्रो आँखाबाट चिप्लन्थ्यो
र तिमी
मोटरको अन्तिम गतिलाई
निन्याउरा नयनहरूले नियाल्थ्यौ !

हो त जयमाया
तिमी भित्रको यथार्थ यही थियो।

जयमाया !
त्यही वातावरणमा
तिमीले हुर्कनु थियो
त्यसैले तिमी हुर्कियौ
नवयौवना युवती बन्यौ
अनि आफ्नो बँचाइको अभिसप्तता
प्रतिकूलता र विकटताका बोझिला कथाहरू
भन्न नसकिने यथार्थ
कल्पना गर्न नसकिने सत्यता
वरिपरि फैलिएका बिच्छी र अजिङ्गरहरू
कति भयावह थियो जीवन?
तिमीलाई भर्खर मात्र थाहा हुँदै थियो
तिम्रो बँचाइ कसैका लागि हुन सकेन
आफ्नालागिसम्म पनि हुन सकेन !
हो त जयमाया
त्यो बँचाइ कस्तो बँचाइ थियो
पीडा र निश्चितता
विकटता र अर्थहीन पाइलाहरू
जीवनका अरू रूप बन्छन् भनेर
तिमीले सोचेकी थियो र?

तिमीले आफ्नो भनेर साँचेका सपनाहरू
आफ्ना खातिर सजाएका आस्थाका महलहरू
सबै चकनाचुर हुँदै थिए
सबै भत्किँदै थिए
एकाएक इच्छाविपरीत।

आफ्ना सपनाविपरीत
तिमीले हिँड्नु थियो
एउटा अनिश्चित गन्तव्यतर्फ
पढ्ने लेख्ने उमेरमा
डाक्टर वा इन्जिनियर
पाइलट वा प्रोफेसर हुने सपना सजाउने
यो कलिलो उमेरमा
कैयन सपनाहरूको आत्मदाह गरेर
तिमीले निर्धारित गर्नुपर्ने यात्रा
कति अकाल्पनिक थियो ?
कति भयावह थियो जयमाया ??

मुटुभरि करुणा पुजेर
हृदयभरि आशा जमाएर
तिमी हिँड्दै थियौ।
यात्राको अल्पावधिमै
तिमी एक्लिइसकेकी थियौ।
ठुलो चोट सहेर
असह्य / अथाह पीडा भुलेर
तिमी हिँड्दै थियौ
एउटा अनिश्चित गन्तव्यतर्फ।

जीवन सङ्घर्षको अर्को रूप जयमाया !
त्यही सङ्घर्ष तिमी लड्दै थियौ
कति एक्लो थियो तिम्रो हृदय !
कति विक्षिप्त थियो तिम्रो यात्रा !

जयमाया !
मान्छे एक्लो जन्मन्छ
मान्छे एक्लो मर्छ
तिम्रो आस्थाको पात्र जयबहादुरले पनि
तिमीलाई साथ दिन नसक्नु
तिम्रो नियति थियो सायद
एक्लो
फगत एक्लो
सङ्घर्ष
जीवन सङ्घर्ष
बँचाइको सङ्घर्ष
स्विकार्नै पनि यथार्थ
त्यो पनि जीवन नै थियो जयमाया।

मान्छे एक्लिनु
जीवनसँगको साक्षात्कार जयमाया !
तिमी एक्लियौ
परिष्कृत बन्दै थियौ सायद!
तर त्यो परिष्कार जीवन थिएन
परिचयहीन बाँच्नु
आफ्नो सबै गुमाएर हाँस्नु
यो कस्तो पीडा !
यो कस्तो विवशता !!

कहिल्यै नमेटिने पीडा बोकेर हृदयमा
आँसुका पोखरीहरू जमाएर नयनमा
मान्छे
विच्छेदनको बगर बन्नै नसक्ने मान्छे
तिमी एक्लो हिँड्दै थियौ
भयावह गल्लीहरूमा
काँडाहरूमा पाइताला टेकेर
तिमी
फगत बाँच्नको निम्ति
हिँड्दै थियौ !

कति ठुलो गल्ती गरिछ्यौ तिमीले
आफ्नो मान्छेले केही गर्छ भनेर सोच्न ?
तिम्रो नियति त केवल
अनिश्चिततामा हराउनु रहेछ
शून्यतामा बिलाउनु रहेछ।

तिमी मान्छेको खोजीमा भौँतारियौ
यत्र-तत्र
आस्थाहरूको खोजीमा
सान्त्वनाको खोजीमा
तर केवल निराशा तिम्रो साथी बन्यो
केवल अनिश्चितता तिम्रो जीवन बन्यो।

जयमाया !
तिमी एउटा इतिहास बोकेर दमनको
तिमी एउटा कहानी बोकेर षड्यन्त्रको
वर्तमान पाइलाहरू चाल्छ्यौ;
भर्भराउँदो भुङ्ग्रोमा सुतेर
सन्तुष्टिको निद्रा निदाउँछ्यौ
एउटा विवशताबिच।

आज पनि
अनिश्चित भविष्य बोकेर
तिमी बिरानो भूमिमा आफैँबाट लुटिन्छ्यौ
तिमीसँग आज पनि
तिनै अपरिभाषित पाइलाहरू छन्
आशा र निराशाका तिनै तडाग छन्
तिमी उति नै विवश छ्यौ
आफ्नो सबै गुमाएर
आज पनि तिमी
विवशता हाँसेकी छ्यौ
अनिश्चितता बाँचेकी छ्यौ
साँच्चै तिम्रो संसार खोइ जयमाया??

२३ जुलाई २००२
हात्तीसार, धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *