देशको सम्झनामा
भक्त घिमिरे
अमेरिका
जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको बक्खु तानतान् तुनतुन् पार्छ प्रहरी जवान अनि विजय आएको खबर भित्र पठाउँछ । भित्रबाट जब घण्टीको संकेत आयो प्रहरीले विजयलाई भित्र पठाइदियो । त्यसपछि प्रहरीले पनि सुन्योमात्र, भित्र के के भयो देख्न पाएन ।
‘अब के भन्नुपर्ने हो…’ सोच्दै भित्र पसेको विजय कुर्सीमा बसेर पत्रिकामाथि आफ्नो अनुहार पोखिरहेको जोंग्दा कर्मा वाङ्दीको अगाड़ि हारेको युद्धबन्दी झैं अनुहार ढालेर झोक्रिन्छ ।
कुन स्कूलमा पढ्छस्, कति कक्षामा ? जोंग्खा भाषामा यति प्रश्न गर्छ कर्मा ।
टोंग्सा, आठ कक्षामा-विजय सहज नेपालीमा उत्तर दिन्छ । कर्मा रिसाउँदै बोल्यो अब-छ्यो गातिले यीन ? छ्योगी युल गालेमो ? छ्योगी ग्यालखाब गी मिङ शेयिगा, जोंग्खा मिसेगा ? (तँ कहाँबाट आइस्, कुन गाउँबाट, तँ तेरो देशको नाम जान्दछस् ?) सामान्य बोलीमा विजयले जवाफ दियो- म भूटानको हुँ । म जोंग्खा राम्रो गरी बोल्न सक्दिनँ, त्यसैले प्रष्ट बुझाउन म नेपालीमा कुरा गर्छु । नेपाली भाषा पनि भूटानको भाषा हो । मैले आज यो कार्यालयमा मात्र यो भाषा बोलेको होइन, जन्मदेखि नै म नेपाली बोल्छु ।
यति हुँदा नहुँदा जोंग्दा कर्माको रिसको पारो चढिसकेको थियो क्यारे…नेपालीमै बोल्न थाल्यो ! ‘तिमी यति ठूलु ठूलु कुरा गार्ने मान्छी, किन पढ्ने? पाउँदैन एनओसी, जा…’, प्रहरी बोलाएर विजयलाई बाहिर धकेलिदिन्छ । ‘कतै जाँदा बाबू मान्छेहरूसँग नरम भएर बोल्नु’, बाबुले यसरी अर्ती गरेको सम्झ्यो विजयले यस घड़ी । अब एनओसी नलिई स्कूल जाने कुरो पनि भएन । जे होस्, हृदय र मस्तिष्कमा बादल लागेझैं बनेको विजय गह्रौं खुट्टा बजार्दै घरतिर फर्क्यो ।
भोलिपल्टको कुरा हो । साइँला विष्ट र विजय बाबु-छोरा नै गए जोंग्दा कर्माकोमा एनओसी माग्न । कार्यालयमा पस्ने अनुमती लिएर दुवै भित्र पसे । एक्कासी बोल्यो कर्मा-बाजे तिम्रो छोरा आठमा परेछ (पढ्दै रहेछ), आबो धेरे बाठो बायो, आबो परेर मात्र हुन्देना लो, देशको सेवा गार्नु पार्छा । त्यसैले आजुदेखि विजयलाई मिलिशियामा जोइन (अर्धसैन्य दर्ता भर्ती) गर्नु हो ल ।
जोंग्दाको कुरा सुनेपछि साइँला विष्टलाई छाँगाबाट झरेझैं भयो । भन्न थाले विष्ट बाजेः-मेरा पुर्खाहरूको मेहनतले पुगेन, खुन-पसिना अनि ज्यानैसमेत दिएर गए यो देशका निम्ति मेरा पुर्खाहरू, मैले पनि यो हातका औंलाहरू ताला भूटानको देउरालीमा चढाएको छु, यस्तो हातले पनि वर्षैपिच्छे आफ्ना बालबच्चा, गाइ-वस्तु, खेतीपाती त्यागेर सेप्तोलमी, गुङ्डा हुला तिरेको छु । यतिले नपुगेर मेरा सन्तानको भविष्यमा पनि लात हान्छस् अई डासु ? साइँला बाजेको दिमाग भारी भएछ क्यारे…भुइँमा ढंग ढले । जोंग्दाले ढलेको शरीरलाई पनि खेलाड़ीले भकुण्डो बजारेझैं गरी दुई लात कस्यो । लातले हानेर हुत्याइदियो र ढोका थुनेर भित्रै पस्यो ।
बाहिरको प्रहरीले पानी ल्याएर छिटेपछि मात्र विष्ट बाजे ब्यूँझिए धेरैबेरमा । जोंग्दाको ढोकापट्टि यसो नजर लाएर बाजे फेरि बर्रर…आँसु खसाल्दै घरको बाटो लागे । त्यतिबेला बाजेलाई उहिले नै तारेभीरको बाटो खन्न जाँदा ढुंगाले चेपेर चुँड़िएका आफ्नै औंलाहरू आफू अघि नाच्दै नाच्दै जिस्क्याउन आए झैं लाग्यो ।
साइँला बाजे सधैं त सूर्योदयदेखि नै साँझसम्म खेतीबालीमा हुन्थे । तर दुई-चारदिन भइसक्यो, जोंग्दाकोमा पुगेर आएपछि घरबाट बाहिर निस्केका छैनन् । घरभित्रै पनि केही गर्न नसक्ने भइसकेका छन् बाजे । बाबुको चाल देखेर विजय डराउन थाल्यो । तर विजयले सम्झ्यो के भने, योल्मो र ऊ बीचमा रहेको सम्बन्ध र साम्प्रदायिक भावनाले ग्रसित भएर बाजेको मूड बिग्रिएको होला, केही पछि सम्झाउँला ! यतिकैमा साता बित्यो ।
एकदिन बिहानै जोङ्गबाट आएको परमाना (जिल्लाबाट आएको डाकपत्र) बोकेर धने कारबारी आइपुग्यो । ‘लु…है भाञ्जा, जोङ्गबाट परमाना आएको रैछ, के लेख्या छ, हेर है ।’ धने कारबारी विजयकी आमालाई दिदी भनेर बोलाउँथ्यो र विजयलाई भाञ्जा । टीका लाएको हो कि नलाएकै हो, मामा त भयो धने कारबारी । धने मामाको हातबाट फुत्त पत्र तानेर हेर्न थाल्छ विजय । पत्रमा रहेछ,‘लंखर धापको बलबहादुर विष्ट र उसको छोरा विजयले 3 मार्चको बिहान दशबजे जोङ्गमा हाँजिर हुनु अत्यन्तै जरुरी छ । साथै धनबहादुर छ्योग्पालाई पनि यी बाबु-छोरालाई लिएर सँगै उपस्थित हुन अनुरोध गरिन्छ ।’
धने कारबारीका कप्टी नजरले साइँला बाजे र विजयको नजर निमेषभरमा नियाल्छन् । साइँला बाजेका दुई आँखाले छेकिराखेको समुद्रको बाँध फुटेझैं छाल छोडिदिन्छन् । आँसुले शरीरै भिजेको छ । धने कारबारी पनि गोई-आँसु झार्दै नक्कली रोदनमा आँसु पुछेझैं गरी गन्गनाउँदै भन्छः-‘खै भोटे राजाले के गर्न आँटेको हो कुन्नि?’
आज मार्च 3 तारिख । बिहानै धने कारबारी बक्खु लगाएर तान्तान् तुन्तुन् पार्दै अघि-पछि हेर्दै साइँला विष्टकहाँ पुग्छ । साइँला बाजे र विजय भने चुपचाप घरबाट निस्केर हिनिहाल्छन् । नातामै नपरे पनि साक्खै भिनाजु मान्ने गरेका विष्ट बाजे र भाञ्जो विजयको चाल देखेर धने निक्कै अत्तालियो । तै पनि नूनको सोझो, नगरी भा’ छैन-मनमनै सोचेर असमञ्जसमा पर्दै फेरि बाटो लाग्छ । शसंकित मनले मेरो षड्यन्त्र थाहा पाए कि भन्ने लागेर गम्दै गयो धने । षड्यन्त्रै पनि के भन्नु बाध्यता विचराको । खाने मेलो, खेती-कमाइ केही छैन । बाबुको पालादेखि कारबारी गरिल्याको । आफन्त कोही रहेनन् उसका । सधैं थुक्पावाल्नी साइँलीको पिँध चिसो हुनेगरी जाँड़ धोकेर आउँछ । अंशमा परेको जग्गा पनि वेचेर खाइसक्यो । पुस्तैनी भागीमा परेको यो कारबारी पद वर्षौं सम्हालेपछि छ्योग्पा बनेको धने । सरकारले अलिकति चटाउँछ महिनामा, त्यतिकै लागि महिनाभरि उसले सयौं आफ्ना मान्छेहरूको शत्रु बनेर जीवन ब्योहोर्नुपर्छ ! उसलाई पनि कता कता मनमा लाग्दो हो, एक दिन त मेरो पनि गति यही हो, अहिले यो निरंकुश सरकारले म र मजस्ताहरूलाई प्रयोग गर्दैछ ।
धने कार्यालय पुग्दा विष्ट बाबु-छोरा अघि भित्र पसिसकेका रहेछन् । राउण्ड टेबलको वरपरि जोङ्दा, ड्रूङ्पा र अरुहरू सबै छन्, एकापटि विजयका बाबु-छोरा र धने पनि उभिन पुगेको छ । यतिकैमा जोङ्दाको मुखबाट रुखो आवाज निस्कियोः-विष्ट, अब तिमीलाई ठूलो केश लाग्छ है । ठीक कुरा गर लो । ‘भएको कुरा भन्छु हजूर, नभएको कुरा के भन्नु र ?’ ‘ल ल ठीक भन आबो । तिमी जेल जाने कि देश छोड्ने, एकै कुरा भन् है ।’ बातविवाद झै वार्तालाप शुरु भो यसरी । विष्ट बाजे विस्तारै राँकिन थाले, ‘म जेल जानुपर्ने के अपराध गरें मैले, फेरि मैले पुस्तौं-पुस्ता बिताएको मेरो मातृभूमि छोड़े म कहाँ जानु हजूर? मलाई यो अत्याचार गर्ने कारण के हो ?’
तिमीलाई कारण चाहिन्छ ? कानामाकुरामा कर्मचारीहरूलाई अपहरण गरेर फरेष्ट अफिसको माल-सामान, हतियार यो विजयले लुट्यो ! लुट्यो कि लुटेन, भन धने ? धनेले परबाट निन्याउरो अनुहार पारेर भन्यो-‘लगेकै हो हजूर, मलगायत गाउँका अरुले पनि देखेकै हो । तल लगेर मेचेलाई बेचेको भन्छ ।’ ‘ऊ देख्यो कारण, हाम्रो ड्रूङ्पा छिमी दोर्जी मारेको पनि तिमीले हो । आबो भन छिटो छिटो ।’
हे भगवान्, यो कस्तो विडम्बना, कस्तो अभियोग लाग्यो । शत्रुलाई पनि नपरोस् यस्तो । बर्ररर…आँसु झार्दै बर्बराए साइँला बाजे । धनेको क्रियाकलापदेखेर पनि दंग परे साइँला बाजे, आफ्नो मान्छे रे यो धने ! कस्तो अचम्म ! धने नातामा मामा पर्ने गाउँकै मान्छे भए पनि आक्रमण गरेर धुजा धुजा पारौं झैं लाग्यो विजयलाई । एकपटक झम्ट्यो पनि । तर साइँला बाजेले सम्झाइ-बुझाइ गरेर थामे । बाजेले सहन सकेनन् । यत्रो मेहनत गरें, आफ्नो अस्तित्वसँगै शरीरका अंगसमेत मेरै देश सम्झिएर चढ़ाएँ, अर्पिएँ, तर, धिक्कार ! आज यो कोसेली पाइयो । बरु जान्छु, मेरो जीवन रहेसम्म देशबाहिर रहेर पनि यो तानाशाहीतन्त्र र धने कारबारीजस्ता षड़्यन्त्रकारीहरूको नाश गरेर समाजको उद्दार गर्ने प्रण गर्छु-साइँला बाजेले मनमनै गमे । हाम्रो पीड़ा पनि संसारले बुझ्ला निः कसैले सहायताको हात बढाउला, अवश्य ! यही कुराको अठोट सोचेर उनी फेरि भित्र पसेः-एई दैंत्य, भन के भन्नु छ तेरो, म जान्छु, अब यो नर्कमा बस्दिनँ-एकै सासमा भने साइँला बाजेले । ‘वाह! वाह! हो यस्तो हुन्छ सत्य कुरा भनेको’, यति भन्दै दुई कोर्रा बजायो जोङ्दाले । यो देखेर विजयको मन-मष्तिष्क पाक्न लाग्यो । भित्र-भित्रै जलेर उम्लिन लाग्यो । चिच्याउँदै उफ्रियो विजय जोङ्दाको गर्धन ताकेर । तर यतिकैमा प्रहरीहरूले समातेर विजयलाई हातकड़ी लगाइसकेका रहेछन् । त्यतिबेला त साइँला बाजे छोरालाई चुपचाप त्यतिकै छोड़ेर घरतिर लागे ।
सधैं साँझ पर्दा उज्यालो हुने त्यो घर, आज अन्धकार छ । घरपति आमई छोरोलाई पुलिसले लग्यो रे भनेको सुन्नेबित्तिकैदेखि चेतनाशून्य अवस्थामा छिन् । घरभरि रुवावासी चल्यो कंकला शब्द गरे । खानपीनको कुरै भएन । आमईको अवस्था गम्भीर हुँदै गयो, एउटा छोरो आफूले यसो हात पनि नउचाली हुर्काएको, आज अर्काले, निरंकुश प्रशासनका पशुसमान पुलिसहरूले कति पिटे । वेहोशीमा आमईको 6 घण्टा बितिसकेर पनि होश फर्किएन । तर अकस्मात नानी…नानी भन्ने आवाज आयो । बाजे श्रीमती निहुरिएर आमईको छेउमा पुगे । के भो भन्न…टाउको समातिदिँदै बाजेले भने । ‘विजय खोई, के भो यस्तो, जतिसुकै पैसा लागोस् कि जेसुकै सम्झौता गर्नु परोस्, जुनसुकै कबुल गर्नुपरे पनि गएर लिएर आउनुस मेरो बालालाई’, यति भनिन् र लामो सास तानिन् आमईले । क्रमशः