देश खोज्दै जाँदा

जगेन गौतम
पिए, अमेरिका Jagen Gautam

तिमीलाई के थाहा ?
मातृभूमि भुलेझैं गरेर
विदेश पलायन हुनुको पीडा,

के थाहा तिमीलाई ?
निरंकुशतामा तिम्रो दाजुलाई
जिउँदै आगो लगाएर
भत्भत पोलेको-

तिमीलाई यो पनि थाहा छैन कि,
‘देश खोज्दै जाँदा’
विस्तारवादीहरुले सिमाना पारि,
‘जेरो पोइन्ट’ बाट वारीपट्टि
गोली बर्साउँदा तिम्रो आफ्नै
दाजु ढलेको-

भो !
तिमीले यी सबै बिर्सेछौ
सम्झ पनि कसरी ?
विदेशी ह्विश्कीले तिम्रो
देश खोज्ने बाध्यतालाई
बिर्साई दियो-

अनि तिमी,
अन्धधुन्द अर्काको देशमा
पसिना बगाउन व्यस्त छौ,
तिमीलाई आफ्नो देश भनेको
एउटा पंक्षीको नाम झैं लाग्छ-

तर एकदिन,
तिमीले खोज्नेछौ आफ्नो देश
अफ्सोच,
त्यतिबेला ढिलो भइसकेको हुनेछ-
अनि तिमी पागल हुन्छौ,
मुर्मुरिन्छौ र अन्तमा
तिम्रो मृत्यु हुनेछ,
‘देश खोज्दै जादा…।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *