पानीका फोकाहरू
बुद्धमणि ढकाल
केन्टकी
पानीका फोकाहरू
यो मौसमको झरी
बलेँसीमा पानीका फोका
म देख्छु
फोकामा इन्द्रेणीको सातै रङ
एउटा अर्को बन्दै फुट्दै
थुप्रै अरू
बलेँसीमा बग्दै छन्
मेरो पहाडको/उद्गम ठाउँको
जीवन रङ्ग देख्छु
बलेँसीमा उठ्दै फुट्दै गरेका
क्षणभङ्गुर फोकाहरूमा ।
के अर्थ र झरीको मलाई
जति धानका गाभालाई
र मानेका पातलाई हुन्छ
जहाँ जीवन फल्छ
हाम्रो पहाडको डाँडा खेतमा
बेँसीको टारिखेतमा
फर्सी र इस्कुसको जरामा।
कर्मको फालीले जमिन जोत्ने
ती गाउँका पारखी
पानीका फोकामा
जीवनका रङ देखून
पहाडको ढुङ्गा–माटोमा
उन्नतिको बिउ रोपून
पहाड हाम्रो मूल हो
नबिर्सून
तब यो झरीको
पानीको फोकाको
आत्मिक अर्थ लाग्नेछ –
पश्चिममा हराएका हामीलाई ।