ब्ल्याक् एण्ड वाइट्
विद्यापति मिश्र
काठमाडौं
लामो प्रयास पछि आदरणीय शिक्षक गंगाराम लामिटारेको सम्पर्क नम्बर फेला प–यो । हर्षले मन खुखी भयो । तर लगातारको विद्युत कटौतीले गर्दा लामिटारे सरसंग तत्कालै सम्पर्क गर्ने सम्भावना रहेन । एउटा विहिबारको दिन जसरी पनि सम्पर्क गर्दछु भनेर अठोट गरें । विदाको दिन भएकाले, त्यो सम्भव हुन्छ भनेर म विश्वस्त थिएँ । लामो प्रतीक्षापछि विद्युत आपूर्ति भयो र तत्कालै ल्याप्टप खोलेर इन्टरनेट जोडेँ र स्काइपमा लगइन गरेँ ।
मैले तुरुन्तै लामिटारे सरको नम्बर दबाएँ । एउटा नराम्रो सन्देश आयो – दिस नम्बर क्यान्ट एक्सेप्ट कलस् फ्रम एन् अन्नोन् नम्बर । अपरिचित नम्बरबाट आएको कल नलिने भनेपछि म चकित भएँ । त्यसपछि नर्वेमा बस्ने रमेश भाइलाई सम्पर्क गरी नम्बर सुनिश्चित गरें । नम्बर सही नै रहेछ । पुनः प्रयास गर्दा सोही सन्देश लगातार आयो । त्यस पछि नर्थ क्यारोलिनामा रहेको भाइलाई एक पटक लामिटारे सरलाई सम्पर्क गर्न लगाएँ तर भाइले पनि सम्पर्क हुनसकेन भन्यो ।
पछि, सिकागोबाट एक जना बहिनी अन्लाइन थिइन् र उनलाई सम्पर्क गर्न भनेँ । त्यसपछि फोन त लाग्यो तर उनको मोबाइलबाट कल ट्रास्फर वा कन्फ्रेन्स गर्न मिलेन । उनले मेरालागि अर्को नम्बर मागिदिइन् र मैले सरलाई फोन लगाएँ । सरले मेरो फोन खुसी भएर उठाउनु भयो । म पनि अति नै दंग भएर प्रस्तुत भएँ ।
सबैभन्दा पहिला त मेरो पुनर्वाश प्रक्रियाको बारेमा कुरा भयो । मैले सबै कुरा खुलस्तरुपले सरलाई बयान गरेँ । त्यसपछि, “अनि, विवाह गरियो कि छैन ?” भनेर मलाई उहाँले सोध्नुभयो । मैले अविवाहित नै रहेको कुरा तथा निकट भविष्यको योजनाका बारेमा कुरा गरेँ । सरले स्नाकोत्तरमा तयार पारेको थेसिस मलाई चाहिएको थियो । यस विषयमा पनि मैले जानकारी लिएँ । अनि, मेलै सरको हालखर सोधें । सबै कुरा ठीकै रहेको थाहा पाएपछि भाषा, साहित्य र परम्पराको कुरा सुरु भयो ।ँ
पुनर्वाश प्रक्रियासंगै फस्टाउँदै गरेको भूटानी साहित्यले उहाँलाई निकै हर्षित बनाएको रहेछ । भाषा र साहित्यमा दुई दशकदेखि लगातार लागिपर्नु भएका सरमा त्यसप्रकारको भावनाले बास गर्नु स्वाभाविकै थियो । नेपाली भाषा परिषद भूटान, भूटनिस लिटिरेचर, गजल मञ्चलगायतका बारेमा पनि छोटो समयमा कुरा चल्यो । भूटनिस लिटिरेचरको गतिविधिदेखि सर निकै दंग हुनुहुँदो रहेछ । “यूवा नै छन् भाइहरु तर भाषा र साहित्यमा धेरै काम गरेका छन्¬,” लामिटारे सरले भन्नु भयो । त्यसैको वार्षिकीका लागि मैले यो लेख तयार पर्ने अठोट गरेको हुँ ।
तर पनि पुनर्वाशमा पुगेका नानीहरुले नेपाली भाषा बिर्सँदै गएकोमा उहाँले अलिक दु:ख व्यक्त गर्नुभयो । नानीहरुले वर्णहरु पनि बिर्सन थालेको कुरा उहाँले उठाउनु भयो । भाषा र साहित्यको विकाशका लागि काम भइरहेता पनि नयाँ पुस्तालाई नेपाली भाषाको ज्ञान कसरी बाँड्ने भन्ने कुरा महत्वपूर्ण हो । अंग्रेजहरुको देश त्यसमा पनि कम्पूटरको जमानामा नानीहरु प्रविधितिर लम्कने भएकाले भाषा बिर्सँदै गएको तर्क उहाँले उठाउनु भयो । सायद्, त्यहो कुरा सत्य नै होला । अविभावकले मात्र साहित्यको विकाश गरेर पुग्दैन । नयाँ पुस्ताका भाइ–बहिनालाई मातृभाषा, साहित्य र रितीरिवाज सिकाउनु छरिएको भूटानी समुदायको दाहित्व पनि हुन आउँछ ।
अनि, भाषा र साहित्यको बारेमा “मै हुँ” भन्ने अग्रह वा युवा सबैले शुद्धता, सरलता र मीठासमा हेक्का राख्न पनि आवश्य नै हुन्छ जस्तो लाग्छ । कथा त सबैले लेख्न सक्छन् । प्रेममा विछोड भएको तल्लो गाउँको धने वा माथिल्लो गाउँका नेपाली शिक्षक सबैको कविता, कविता नै हो । तर, ती सृजनामा अवश्य केही न केही अन्तर हुन्छ । त्यसैले, नेपाली शिक्षकले लेखेको कविता नै उत्कृष्ट हुन्छ भन्ने छैन । तर, भाषिक शुद्धता, विषय वस्तुको प्रस्तुतिकरण, आदि भने गाउँ घरका ठिटी जिस्काउँदै हिँड्ने धनेको भन्दा नेपाली शिक्षकको स्तरीय हुन्छ । यो कुरा सबैले बुझ्न जसरी छ । नत्र, साहित्यको नाममा मनपरीतत्रले स्थान पाउन सक्छ ।
सरसंग कुरा चलिरहेको समयमा मेरो इमेलको इन्बक्समा एउटा साहित्य सर्जकको अमेरिकाबाट इमेल आयो । “दुईटा कबिता” शीर्षक भएको उक्त इमेलको ताजा चर्चा पनि मैले सरसंग गरेँ । उहाँ मरिमरि हाँस्नु भयो । शीर्षकमा लेखिएका दुई शब्दमध्ये एउटा अशुद्ध थियो । त्यसमा “कविता” हुनु पर्नेमा भूँडी चिरेको “ब” को प्रयोग गरिएको थियो । विचरा सर्जकले “कविता” लेख्नु पर्ने “कबिता” लेख्नु भएछ । यहाँ उठाइएको प्रसंग ती भूटानी साहित्य सर्जकको कम्जोरीलाई उदाङ्गो पार्नुभन्दा पनि उनको साहित्यप्रतिको रुचिलाई उदाहरणको रुपमा प्रस्तुत गरिएको मात्र हो । भाषा र साहित्यको उत्थानका लागि काम गर्न चहाने कुनै पनि सर्जक सबै हिसाबले परिपक्व बन्नु त अति राम्रो कुरा हो तर त्यसलाई मापदण्डको रुपमा लिएर त्यो स्तरभन्दा तलका अथवा “कबिता” लेख्ने कविहरुलाई हतोत्साही बनाउनु राम्ररो कुरा चाहि पक्कै होइन ।
साहित्यले कविता वा थोरै शब्द हुने अन्य विधा अथवा धेरै लेख्नुपर्ने पद्य वा गद्य सबैलाई समेटेको हुन्छ । त्यसैले गजल लेख्न सजिलो र निबन्ध लेख्नलाई गाह्रो हुन्छ भन्ने हैन । सबै विधा उत्तिकै रुपमा कठिन हुन सक्छन् तर कुन सर्जकले कस्ता श्रृजना तयार पारेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर, निबन्द लेख्न लगाउदा शरीरभरी परिसा कात्ने गजलकारले “म गजल विधामा राम्रो छु तर निवन्ध लेख्न सक्तिन,” भन्ने कुरा स्वीकार्न सक्नुपर्छ ।
त्यसप्रकारका सर्जकलाई छुट दिने हो भने भोलि साहित्य र भाषाको विकाशभन्दा पनि विनाश हुन्छ । त्यसप्रति साहित्यप्रेमी तपाईँ–हामी सबै सचेत हुनु आवश्यक छ । यहाँ, मेरो मनसाय के हो भने हामीले “कवि” का सृजनाहरुलाई माया गर्न सिक्नु पर्छ तर “कबि” बनेर “भाषा–साहित्यमा मै हुँ” भन्नेहरुलाई नियमित रुपमा आफूलाई दक्ष्य बनाउन खबरदारी गर्नुपर्ने हुन्छ । त्यसता कबिहरुले निकै सिक्नु छ, जीवनमा लामो यात्रा हिँड्नु छ । नत्र हाम्रो साहित्यले भोलि एउटा विचित्र किसिमको रुप घारण गर्नेछ । यो सबैमा चेतना भया ।
vidhyapati@gmail.com
Fantastic presentation Mishra ji. Keep it up!