मनको आकाश र परेवाहरू 

रमेश गौतम 
नर्वे

धेरै दिन अघिदेखि
म आफ्नै निस्तब्ध हत्केलाहरूले
एक जोडी सेता परेवाहरू
उडाउन चाहन्थेँ
आफ्नै मनको निर्बन्ध आकाशमा।
साँच्चै एक दिन
सुयोग मिल्यो
परेवाहरू उडाउन;
वातावरण  बनिसकेको थियो।
आफूले
कैयन दिनका एक गाँस काटेर
परेवाको जोहो गरेँ।
शीघ्रातिशीघ्र
अथाह चाहनाहरूको
अकल्पनीय मनोकाङ्क्षा हरूको
निर्मम गला दबाउन नसकेर
परेवाहरू उडाएँ
बादल नफैलिएको
मनको निर्मल आकाशमा।
सेता परेवाहरू
दूर उड्न चाहन्थे
कुनै सन्देश बोकेर अपरिहार्य !
म अतृप्त आँखाहरूले
नियालिरहेथेँ परेवाहरूको गति !!
छोटो समयमा नै
दिशाहीन उडेको एउटा बाजले
मेरा कोमल परेवाहरूलाई
नङ्ग्र्याउँदै थियो / चिथोर्दै थियो
रक्ताम्मे मेरा परेवाहरू
छटपटाउँदै थिए / मुक्ति खोज्दै थिए।
म अगणितीय आहत थिएँ
मनको निर्मल आकाशमा पनि
बाज
मेरा कोमल परेवाहरूलाई
नङ्ग्र्याउँदै थियो / चिथोर्दै थियो।
३१ अगस्त २००२ 
हात्तीसार, धरान  

Don't have a Facebook account? Please, use the form below with other options!