म्याराथन दौडभित्रको जिन्दगी

कवि
कवि

सञ्चमान खालिङ
पीए / अमेरिका


भाटीको तालमा दम फेर्छ छाती
एक पछि अर्को गोरेंटो हुँदै
कहाँ छुट्यो कहाँ
देउराली र छोर्तेनहरु
त्यो क्षितिजलाई सोध
उसले देखेको छ
मैले त कता भुलें कता-


मैंले कसैलाई जित्न
यो म्याराथन दौडेको होइन
म यति थाकिसकें
पैतला  क्षिया-क्षिया भैसक्यो
काँडाहरुको कोराई कति हो कति
कहिले कुदियो भिरैभिर
कहिले कुदियो तिरैतिर
काकाकुल तिर्खा कति बाँचियो कति
त्यो घाउको डोबहरू
आकाशलाई सोध, उसले देखेको छ
मैंले आफूलाई फर्केर हेर्नै भ्याएको छैन !


जब थेग्न नसकेर ढलेको हुन्छु
मथिङ्गलमा आउँछ, एउटा परिकल्पना :
जिन्दगी यस्तो हुनुपर्ने हो,लेखिहिँड्छु जंगली पातहरुमा
त्यो परिक्षण गर्न नपाई
फेरि म्याराथन दौड सुरु हुन्छ
एक पछि अर्को
जिन्दगी “यस्तो होला/ हुनुपर्ने हो” को परिकल्पना
कति चोटि कोरियो, कहाँ कता छोडियो
त्यो बतासलाई सोध
ऊसंगै दौडेको छु, उसले देखेको हुनुपर्छ
हत्केलाले छाती थिच्दै दौडिरहेको छु
म्याराथन
बस ! म्याराथन ।

रचित: सन ३/२८/२०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *