याद आउँछ
रितु बर्देवा
भूटानी शरणार्थी शिविर, बेलडाँगी
देश छाडेर हिँड्दा हिजो
बारीमा लहलह बाली र ढुकुटीमा अन्न
छाडेको याद आउँछ
रात र बिच गाईबस्तु खोली हिँडेको याद आउँछ ।
गोरेटो बाटो नदी र खोला तरेको याद आउँछ
बिहानी पख कराउँदा चरा
देशको याद आउँछ
पुनर्वास भन्दै सारा रुँदै रुँदै जाँदा
यी छाप्राहरूले पनि खादा ओढाई
सबैलाई
एक एक बिदाइ गरेको याद आउँछ।
पलास्टिकको छानो र बासको झुप्रोमा
बस्दा बस्दै आफ्नै परिवार
कोही कहाँ कोही कहाँ
तितरबितर भई जाँदा
यो शिविरमा यति बेला
मेरो मन भक्कानिन्छ ।
र
कहिले अगेनो हेर्छु
आमा सम्झन्छु
कहिले सिकुवा हेर्छु
बाबालाई सम्झन्छु
त कहिले आँगन हेर्छु
दाजुभाइ खेलेको याद आउँछ ।
सक्छौ भने भगवान्
म यही विनति गर्छु
हाम्रो परिवार एकै ठाउँ गराइ देऊ
पुनर्वास अघि झैँ बनाइ देऊ ।
सम्झेर ल्याउँदा यी सारा कुरा
परिवार याद आउँछ ।