यी पाइतालाहरु

कवि

गोपाल घिमिरे
एडिलेड, अष्ट्रेलिया

चिरपरिचित आँगनको चौकसभित्र
वर्षौ रमाएर अटाएका पाइतालाहरु
चहाना बेगरको पट्यारलाग्दो यात्रा
धर्तीको एक कुनादेखि
अर्को कुनासम्मको
एक, दुई, तीन, चार धेरै धेरै पाइतालाहरु
हिँड्ने बाध्यताभित्र
हिँडिरहे हिँडिरहे
उनीहरु पनि  उस्तै हुन नि
तिमी जस्तै पाइतालहरु
तिमी चिनिए जस्तै
युगौदेखि परिचित पाइतालाहरु
विरानै भए पनि तिमी पाइतालासँग
लाम लागेर
हिँडिरहेका थिए हिँडिरहेका थिए ।

बढ्दो यात्रा संगसंगै
त्यहाँ धेरै धेरै पाइतालाहरु
हिँडेका डामहरु बढ्दै थिए
पुरिँदै थिए
तर अफसोस पाइतालाहरुको
यात्रा सधैं सधैं
दोसाँधसम्म
दु:ख र सुखको दोसाँधसम्म
हर्ष र विस्मतको दोसाँधसम्म
जीवन र मरणको दोसाँधसम्म
तर पनि……डटेर पाइतालाहरु
सधैं सधैं संगै हिँडिरहे हिँडिरहे

योबाट ऊ क्षितिजसम्मको यात्रामा
ताँतीका ताँती उत्साहका डोली बोकी
आकांक्षाका जन्ति भई हिँडिदिने
हजार हजार पाइलाहरुमा
यिनी उनी तिनी तिमी सबै पाइतालाहरु
जुटेका थिए।
साझा लक्ष्यसम्म हिँडने र बिसाउने
अनि बिसाउने र हिँडनेको क्रमभित्र
धेरै धेरै थिए पाइतालाहरुका भीडमा
हट्ने र बढनेको भीडमा
जुट्ने र फुट्नेको भीडमा
उत्साह र निरत्साहको भीडमा
तर पनि- तर पनि हिँडने बाध्यता थियो
पाइतालाहरुलाई
त्यसैले हिँडिरहे हिँडिरहे।

अन्तत: अन्योलको लास बोकी
धेरै धेरै पाइतालाहरुले
हिँडिरहने क्रम जारी राखे
दोसाँधको चक्रव्युह चिरेर हिँडिरहे हिँडिरहे
रोगग्रस्त इच्छाहरुलाई
स्वर्णिम सपनाको उपचार दिएर
पाइतालाहरु हिँडिरहे हिँडिरहे अनि आज
अनि आज दोसाँध नाघेर पाइतालाहरु
गन्तव्य नजिक हिँडिरहेछन्
नयाँ भोलिभरि हिँडन आतुर पाइतालाहारु
लक्ष्यतिर हिँडिरहेछन् लक्ष्यतिरै हिँडिरहेछन्
निरन्तर हिँडिरहेछन्, हिँडिरहेछन् ।

[अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एडिलेड र दक्षिण अष्ट्रेलियाको भूटानी संगठन (बासा) द्वारा एडिलेडमा आयोजित भानु जयन्ति समारोहमा वाचित कविता- सं.]

3 Replies to “यी पाइतालाहरु”

  1. Tek Bir Chhetri

    हिड्डी राय पैलाहरु इच्चाशाक्तिलाई जानेर ,
    हिडी रहे पैलाहरु कर्ताबेनै ठानेर ,
    बढ्नु थियो, हिडिरहे लक्ष्य अदिश्य रहे पनि,
    जुन तारा संघ हिडे, हिडनेय्छु सुर्येसंघ पनि,
    नपुगिन्जेल गन्तब्य ,न अहिन्जेल मन्तब्य ,
    जनता जनार्दन भएको………….

    यो माथिको पंक्तिहरूले गोपालजीलाई हिडीरहन आह्वान र सुभकामना ब्यक्त गरेको

  2. Lakshmi Prasad Dhakal

    गोपाल सर,
    पुरानु कलम, पुरानु कथा, अनि पुरानु दिशा निर्देशान सहित्यको शृंगार हुदो रहेछ.
    याहाको लेख बिशाल छ, अनि सार्थक.

    लक्ष्मी प्रसाद ढकाल
    आम्सटरडाम

  3. Sushil Pokhrel

    दाइ ?
    कवितामा भुटानी शरणार्थी हरुको जीवन यात्राको वास्तविक चरित्र चित्रण गर्नु भएको छ | सिलसिलेवार हरप हरुमा शब्द संयोजन चिटिक्क पारिएका छन् | अनि बशाई सर्ने, थन्किने र स्थाई हुने क्रमको पनि त अन्त भएको छईन | कविता सानदर्भिक् छ |
    सुशील पोख्रेल

Don't have a Facebook account? Please, use the form below with other options!