शरणार्थी-जीवनः एक पराधीन अस्तित्व
शिवलाल दाहाल
केन्टकी, अमेरिका
शरणार्थी भनेको एउटा देशबाट निस्कासित भएर अर्को देशमा शरण लिने मान्छे हो, सोझो अर्थमा । यो परका मान्छेले देख्ने र भन्ने कुरा हो । शरणार्थी भन्ने कुरा यति मात्रै होइन रहेछ । त्यो भोगाइबाट मैले चाल पाएको छु ।
मैले बुझेको शरणार्थी भनेको परिचयहीनको विम्ब हो, पराधीनताको प्रतीक हो, लिलिपुटको लघुमानवत्त्व हो । सामान्य अर्थमा भन्ने हो भने त्यो भोक हो, तिर्खा हो । अलिकति प्रेम र अलिक बढ्ता घृणा हो, कलिकति सहानुभूति र अलिक बढ्ता तिरस्कार हो । तर जब आइलाग्छ त्यो भोग्नुपर्दो रहेछ, मैले भोगेको छु, भोग्दै छु ।
हुन त मानिस शरणार्थी हुने क्रम आदिकालदेखि नै चलिआएको हो, चलिरहेछ र कहिलेसम्म यो क्रम चलिरहने हो थाहा छैन । सायद त्यो क्रम चलिरहँदो हो, संसारमा सिमानाहरू रहेसम्म, मानवजाति रहेसम्म । शरणार्थीयताको प्रमाण हामी महाभारतमा भेट्छौं, बाइबलमा पनि पाउँछौँ । हाम्रै छिमेकी तिब्बतीहरू छ दशकदेखि निर्वासित औ प्रताडित भएर सङ्घर्षका अनेक शृङ्खलाहरू चलाउँदै भारत तथा विश्वका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन् । विश्वका अनेकौँ मुलुकहरू शरणार्थीका रूग्ण अनुहार र भग्न तस्बिर बोकेर मानवीय सहायता र सहयोगको याचना गरिरहेका छन् ।
हाम्रो परिवार शरणार्थीका रूपमा सन् १९९३ को मार्च २१ मा नेपाल प्रवेश गरेको थियो । त्यसपछि बेलडाँगी शरणार्थी क्याम्प हुँदै खुदुनाबारीको शरणार्थी शिविरमा पुग्दासम्मका केही घटनाहरू मैले अघिल्लो एक अध्यायमा उल्लेख गरिसकेको छु । समग्रमा त्यसपछिको शरणार्थी-जीवन भोगाइका बारेमा यहाँ उल्लेख गर्दै छु ।
अब हाम्रो पाउने सुविधाका बारेमा कुरा गरौं । पन्ध्रदिनका लागि दिइने प्रतिव्यक्ति छ केजी चामल, ३५० ग्राम तेल र चिनी, ५० ग्राम नुन, अनि हप्ता दिनका लागि दिइने ३०० ग्राम सब्जी (कोपी, फर्सी, मुला, केरा कुनै एक) र ३०० ग्राम आलु अनि परिवारका लागि बस्ने एउटा छाप्रो, ट्वाइलेट र सामान्य औषधिउपचार मोटामोटी शरणार्थीले पाउने राहत हो यो । यसका अतिरिक्त प्रत्येक छाप्रालाई खाना पकाउने झिरीकुटी (भाँडाकुँडा र जर्किन), मट्टीतेल, दुई चारवटा काला कुकुर कम्बल, एक-दुई वर्षको अन्तरमा एउटा-एउटा कपडा (त्यो पनि कहिले त जेबीका थोत्रे जडाउरी), बालबच्चाका लागि औपचारिक १० कक्षासम्मको शिक्षा र प्रौढहरूका लागि अनौपचारिक शिक्षा । शरणार्थी- जीवनका प्रारम्भिक दिनहरूमा पाइएको सुविधाको मोटामोटी विवरण यही नै हो । अहिले त यी कति कुराहरू कटौती भइसकेका छन् ।
हेर्दाखेरि यो विवरण त्यत्रा शरणार्थीलाई सानो छैन । तर जसले यसको उपभोग गर्दै छ, उसलाई थाहा छ यो सामान्यभन्दा सामान्य जीवन बाँच्नका लागि कति पर्याप्त छ भन्ने कुरा । तर यति धेरै जुटाइदिने दाताका लागि यो पक्कै सानो कुरा थिएन, छैन ।
भुटानी शरणार्थीहरू सुरूमा खेदिएर आएका अनि दुःख पाएका मानिसका रूपमा चिनिए, नेपाली समाजमा । जसले माईबगरको दारूण चित्र देखे, उनीहरूले मन थाम्न सकेनन् र शरणार्थीलाई भरपुर सहयोग गरे । ती विपत्तिका दिनमा झापाली जनता, व्यापारी, बुद्धिजिवी, राजनीतिकर्मी आदिले देखाएको सहानुभूति र पुऱ्याएको सहायताको गुण जति गाए पनि पुग्दैन ।
हुन त झापाली समाज बर्मेली शरणार्थीहरू आएदेखि नै शरणार्थीका सम्बन्धमा जानकार थियो । शरणार्थी शिविर बनेर राहत बाँड्न थालेपछि स्थानीय कतिपय मानिसहरूको शरणार्थीलाई हेर्ने दृष्टिकोण अलिक फरक हुन थाल्यो । कोहीकोही बेला सुन्नमा आउँथ्यो उनीहरूको भनाइ, ‘खान नपाएर आएका भोटाङेहरू ।’ यसरी राहत दिनु पनि ईर्ष्या र जलनको विषय बनेछ क्यार ।
उनीहरू सोझै भन्छन्- ‘तपाइँहरूलाई संस्थाले दिएकै छ, बस्यो खायो, के को दुःख ?’ यो ‘बस्यो खायो’ भित्रको पीडा उनीहरू बुझ्नै सक्तैनन् । मानिसको जीवनको अभीष्ट के बस्नु र खानु मात्रै हो कि त्यसभन्दा बाहिरको महाभिनिष्क्रमण ? हामी मानिस पो शरणार्थी भयौं; हाम्रो मन, भावना र चाहना कहिल्यै शरणार्थी हुन सकेन, हुन मानेन; सन् १९९१ को १४ जुनबाट नेपाल रेडक्रस सोसाइटीमार्फत राहत सामग्री र छाप्राको व्यवस्था गर्दै युएनएचसीआरले भुटानी शरणार्थीको रेखदेख गर्न थाल्यो । युएनएचसीआरको छत्रछायामा धेरै कुरा व्यवस्थित भए; आवास, खाद्यान्न, पानी, शौचालयदेखि शिक्षा र स्वास्थ्यसेवासम्म । संस्थाले क्याम्पको व्यवस्थापन गर्न थालेपछि कम से कम माईबगरको विकराल जीवनबाट मानिसहरूले उन्मुक्तिको श्वास फेर्न पाए । यो अत्यन्तै ठूलो मानवीय सहायता थियो । उता देश छोडेर भाग्ने क्रम रोकिएको थिएन । सबैभन्दा बढी शरणार्थीको नेपाल आगमन १९९२ मा भयो ।
शरणार्थी क्याम्प स्थापनाको प्रारम्भिक समयमा मानिसहरू प्रायः क्याम्प छोडेर बाहिर जाँदैनथे । बिनाअनुमति क्याम्पबाहिर जानेहरूको रासन काटिन्थ्यो । पढेलेखेका प्रबुद्ध व्यक्तिहरू पनि क्याम्पमै रहेर कोही समाज सेवामा, कोही शिक्षण सेवामा, कोही स्वस्थ्य सेवामा र कोही सामाजिक, राजनीतिक सङ्घसंस्थामा आबद्ध भएर काम गर्दथे । बौद्धिक जमात क्याम्पभित्रै थियो, सबैका आआफ्नै पिरव्यथाहरू थिए कति जनासँग भुटानमा भोगेको यातनाको घाउ आलै थियो, कति परिवारका सदस्य भुटानमै जेलजीवन बिताइरहेका थिए, कतिका आफन्त र परिवारजनका सदस्यहरू मारिएका थिए, कतिका नाबालक छोराछोरी माईको बगरमा रोग र भोकले मृत्युको मुखमा परेका थिए । त्यसभन्दा माथि पुस्तौँ-पुस्ता बसोबास गरेको घर, गाउँ र देश सबै छोड्दाको दुर्दान्त पीडा तीर भएर गाडिएको थियो, सबैका मनमा । उसबखत मानिसहरूका अनुहारमा निराशा, पीडा र चिन्ता छाएको सजिलै पढ्न सकिन्थ्यो ।
एउटा १८x१२ फिटको सानो छाप्रो, एकदेखि आठ जनासम्मको परिवार बस्ने घर । आठ जनाभन्दा ठूलो परिवार भएमा त्यसको ठीक दोब्बर लम्बाइको घर उपलब्ध हुन्छ । त्यहीँ एक छेउमा हुन्छ, किचन । त्यहीँ बस्ने, सुत्ने, खाने, केटाकेटी खेल्ने ठाउँ पुऱ्याउनुपर्छ । त्यहीँ जीवन प्रक्रियाका अन्य कार्य हुन्छन् । त्यहीँ एउटा छोराले बुहारी ल्याउँछ, ऊ त्यहीँ सुत्केरी हुन्छे । त्यहीँ बालबच्चा हुर्किनुपर्छ । छाप्राको तीनचार फिट पर ट्वाइलेट हुन्छ, मलमूत्रको गन्ध हवास्स कोठाभित्र छिर्छ । हामी शरणार्थी बस्ने घरको वर्णन हो यो । हुन त माईबगरको महादुःखबाट उन्मुक्त भएर अब बाँचिने रहेछ भन्ने अवस्थाको घर हो, यो छाप्रो ।
अहम् र घमन्ड गर्न छोडेन । जसले गर्दा हामी पिरोलिरह्यौं, बिरोलिरह्यौं । मानिस अनन्त चाहना र अभीष्टको विम्ब हो, पुञ्ज हो । ऊ कर्म गर्छ र प्राप्ति खोज्छ । त्यसैले भोक टार्नु र आङ ढाक्नु हाम्रा लागि पर्याप्त थिएन । कर्म गर्ने ठाउँ चाहिएको थियो । क्याम्पभित्रको उकुसमुकुस र निसासिँदो वातावरणबाट बाहिर निस्किने बाटो चाहिएको थियो ।
नेपालको रहनसहन, वातावरण एवम् परिस्थिति बुझ्न शरणार्थीलाई खासै समय लागेन । एउटै भाषा, एउटै संस्कृति र एउटै सभ्यता भएकाले यस कार्यमा धेरै सहज भयो । बिस्तारै पीडाका घाउहरू थाक्तै जान थाले । शरणार्थी र स्थानीयबीच सम्पर्क, सम्बन्ध र अन्तरनिर्भरता बढ्न थाल्यो । स्थानीयहरूका लागि शरणार्थी क्याम्प सब्जी, फलफूल र दही-दूध बेचबिखन गर्ने ठाउँ बन्यो, बजार बन्यो । शरणार्थी शिविरचाहिँ स्थानीय बासीका लागि सस्तो श्रमबजार बन्यो, जो शरणार्थीहरूका लागि भने दुई पैसा देख्ने माध्यम हुन्थ्यो ।
शिविरको प्रशासनले सुरूका दिनमा शरणार्थीलाई बाहिर काम गर्न जान नदिन निकै प्रयत्न गर्यो तर लामो समयसम्म त्यसरी रोकिराख्न सम्भव भएन । बिस्तारो मानिसहरू क्याम्प बाहिर निस्किन थाले, रोजगारी खोज्न, दुईचार पैसा कमाउने बाटो खोज्न । शिक्षित मानिसहरू नेपालका विभिन्न जिल्लामा निजी विद्यालयको शिक्षकका रूपमा काम गर्न थाले । स्थानीयहरूको विरोधका कारण झापा-मोरङका विद्यालयबाट बेलाबेला तिनीहरूलाई पक्राउ गरी क्याम्पमा ल्याएर छोडिने गरेको पनि थियो ।
नेपालमा भरखरै अङ्ग्रेजी बोर्डिङ स्कुलहरू खोलिँदै गरेको समय परेकाले धेरै शिक्षित भुटानीहरू बोर्डिङमा खपत भए । अङ्ग्रेजी चबाउने जिब्राको करामत थियो त्यो भनौं । नेपालका मजदुरहरूको पनि शरणार्थीप्रति तीव्र रोष थियो, आफ्नो जागिर खोसिएकामा, सस्तोमा काम गरी ज्याला न्यून भएकामा ।
बिस्तारै शरणार्थीहरूको काम गर्ने गन्तव्य स्थानीय गाउँ बस्तीभन्दा पनि धेरै पैसा कमाउने सोचमा भारतको जम्बुकश्मिर, आसाम, मेघालय, हिमाञ्चल प्रदेश, सिक्किम, दार्जिलिङ, कर्नाटक अनि पूर्वी नेपालको इलाम, पश्चिमी नेपालका पोखरा, बागलुङ, स्याङ्जा हुन थाले । धान रोप्ने, धान काट्ने, बाटो खन्ने, घर बनाउने, आरा (काठ) काट्ने, अलैँची टिप्ने, कुचो रोप्ने, कोइला खन्ने (कोइला खानीबाट कोइला निकाल्ने), कम्पनीको सुरक्षा (गार्ड) गर्ने सम्मका विभिन्न काममा जताततै शरणार्थीहरू पुगेका थिए । काम गर्न जानेहरू कोही केही कमाएर, कोही लुटिएर, कोही कुटिएर घर आइपुग्थे । कोहीको जीवन उतै समाप्त हुन्थ्यो, घरमा खबर मात्रै आइपुग्थ्यो ।
सधैँ मानिस पीडाभित्र रूमलिएर मात्रै रहिरहन सक्तैन, ऊ त्यस्ता पीडाहरू बिर्सिन चाहन्छ र जीवनका उज्याला पाटाहरू पनि खोज्न चाहन्छ । शरणार्थी क्याम्पमा अनेक पीडाहरूका माझ पनि जीवन अवरुद्ध भएन, गतिशील भएर बगि नै रहयो । सामान्य जीवनमा बाँच्ने मान्छेको दैनिकीमा जस्तै यहाँ जीवन प्रक्रियाका सबै खाले गतिविधिहरू भइ नै रहे । जन्म र मृत्यु प्रकृतिका नियम हुन्, ती भइ नै रहे ।
सुरुका केही वर्ष शरणार्थी क्याम्पमा खासै चाडबाड आएन तर त्यसपछिका वर्षहरू स्वाभाविक रूपमा चाडबाड लिएर आए । दसैँ- तिहार डाकेर आए, विवाह, उपनयन, पूजाआजा सबै थोकको भारी बोकेर आए । टाढा-टाढा काम गर्न गएकाहरू पनि दसैं-तिहारमा क्याम्प फर्किआउँथे । ती चाडपर्वहरूमा पारिवारिक जमघट हुने, रमाइलो गर्ने र दुःखलाई बिर्सिने कार्य हुन थाल्यो । विशेष गरेर तिहारमा देउसी- भैलो खेल्ने, नाचगान गर्ने र केही क्षण भए पनि मनका पिरव्यथा भुलेर रमाइलो गर्ने रीति (चलन) ले क्याम्पमा व्यापकता पायो ।
शरणार्थी क्याम्पको बसाइ शिक्षा, चेतना र ज्ञान अभिवृद्धिका दृष्टिले निकै महत्त्वपूर्ण रहन गयो । हुन त शरणार्थीलाई औपचारिक रूपमा दस कक्षासम्म मात्रै क्याम्पमा शिक्षा लिने अवसर प्राप्त थियो । यद्यपि नेपालको खुला वातावरण, नेपाल सरकारको शरणार्थीप्रतिको उद्धार प्राशासनिक नीति र स्थानीय शैक्षिक प्रतिष्ठानको सहयोग उच्चशिक्षा हासिल गर्न निकै सहयोगी रहयो । यसका अतिरिक्त, सुरुका केही वर्ष कतिपय विद्यार्थीले डाँफे-छात्रवृत्ति तथा युएनएचसीआर-छात्रवृत्ति पाएका थिए भने पछिल्ला केही वर्ष क्यारितास नेपालले उच्चमाध्यमिक शिक्षाका लागि आर्थिक सहायता प्रदान गरेको थियो । निरक्षरहरूलाई साक्षर बनाउने काममा अक्सफामको भूमिका पनि अतिविशिष्ट रह्यो भने नेपाली भाषा विस्तार एवम् नेपाली साहित्यको विकासमा नेपाली भाषा परिषद्, भुटान (हाल भुटान साहित्य परिषद्) ले गरेको योगदान पनि उत्तिकै मूल्यवान् र विशिष्ट छ ।
शरणार्थी क्याम्पको बसाइले शरणार्थीहरूमा निकै नै भाषिक, साहित्यिक र सांस्कृतिक जागरण ल्यायो । शरणार्थी क्याम्पमा जातीय चेतानको हावी भएपछि त्यसले केही विभाजन ल्याउन खोज्यो, खोजिरहेको छ । एक समय युएनएचसीआरका तत्कालीन फिल्ड अधिकृत रोबर्ट कुपरसमेत जातीय राजनीति काण्डमा बदनाम भएका थिए । शरणार्थीको दयनीय अवस्थाको फाइदा उठाउँदै आर्थिक प्रलोभन देखाई विदेशीहरूले शरणार्थी क्याम्पलाई धर्मप्रचार गर्ने थलो बनाए । तेस्रो मुलुकको पुनर्वास कार्यक्रमले धार्मिक रूपान्तरण हवात्तै बडाएको छ ।
शरणार्थी क्याम्पमा विविध धार्मिक अनुष्ठान, ज्ञानयज्ञ, सांस्कृतिक- साङ्गीतिक, साहित्यिक तथा सामाजित चेतनालक कार्यक्रम र समय समयमा खेलकुदहरूको पनि आयोजना भइरह्यो, हुँदै छन् । यस्ता कार्यक्रमले एकातिर चेतना र ज्ञानको अभिवृद्धि गर्न सघाए भने अर्कातिर मनोरञ्जन प्रदान गरेर शरणार्थीहरूमा व्याप्त चिन्ता, निराशा र वितृष्णा कम गर्ने कार्यमा सहायक बने ।
सुरूका दिनमा शरणार्थीहरूमा भुटानी आन्दोलनप्रतिको जुन किसिमको उत्साह थियो त्यो बिस्तारै घट्दै गयो । नेपालमा शरणार्थी क्याम्प स्थापना भएपछि आन्दोलन गर्ने सन्दर्भमा अनेक सङ्गठनहरू उदाए, अस्ताए; परिणाममुखी कुनै कामै हुन सकेन । राजनीतिक दलहरूबीचको खिचातानी, तानातान र अन्तर्सङ्घर्षले गर्दा आन्दोलनले दिशाबोध गर्न सकेन । स्वदेश फिर्तीको एउटै मूल मुद्दामा पनि उनीहरू सहमत हुन नसक्नु लाजमर्दो कुरा हो । यदाकदा मिल्न खोज्ने फेरि आ-आफ्नै ढोल पिटेर हिँड्ने प्रवृत्तिले उनीहरूबीच एकता हुन सकेन । उनीहरूमा दूरदर्शिताभन्दा पनि अहम् बढ्ता थियो । वास्तवमा भन्ने हो उनीहरूमा आन्दोलनप्रतिको प्रतिबद्धता साह्रै कम थियो, नेतृत्व क्षमता र आत्मविश्वासको अभाव थियो, जनताप्रतिको दाहित्ववोध थिएन, छैन ।
नेपालले यी भुटानी नेतालाई केही स्थान दिएको देखिन्छ तर भारतले कहिल्यै पत्याएन, गन्ती गरेन । यस्ता कुराले गर्दा जनतालाई निराश पारिरह्यो, हतोत्साही बनाइरह्यो । उता नेपालको कूटनीतिक पहलमा भएका १५ वटा नेपाल-भुटान वार्ताले पनि कुनै निष्कर्ष दिन सकेन । यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा होस् या भारतको संलग्नताका लागि औपचारिक प्रस्ताव लाने सवालमा होस्, नेपालले ठोस कुरा अघाडि बढाउने काम गर्न सकेन । नेपाल नराम्रोसँग आन्तरिक द्वन्द्वमा फसेको थियो । माओवादीले सशस्त्र विद्रोह छाडेर शान्ति प्रक्रियामा आए पनि द्वन्द्व व्यवस्थापन गर्ने, सङ्क्रमणकालीन अवस्थालाई सम्हाल्ने र लोकतान्त्रिक संविधानको निर्माण गर्नेजस्ता अनेक चुनौतीहरू नेपालसामु रहेका थिए, छन् ।
अन्तमा आफ्नो कूटनीतिक असफलताको ढाकछोप गर्दै भुटानीहरूलाई तेस्रो देश लैजाने काममा नेपालले सहमति गन्यो, उसले देखेको शरणार्थी मामिलाको सहज निकास पनि यही थियो डेढदशकभन्दा बढी शरणार्थी क्याम्पको उराठलाग्दो वातावरणमा दिन • बिताएका शरणार्थीहरूमाझ विरक्तिको, निराशाको, छटछटीको भावनाले शिथिल पारिरहेको सन्दर्भमा यो प्रस्ताव धेरैलाई के खोज्छस् कानो, आँखो भइदियो ।
आन्दोलनलाई अघाडि बढाउने कुनै बाटो नदेखेर आत्मपराजित भएका नेतृत्ववर्गका लागि यो सेफल्यान्डिङको बाटो थियो, आफ्नो अकर्मण्यता ढाकछोप गर्न सहज माध्यम थियो, पलायनको सरल उपाय थियो । युवा र शिक्षित वर्गका लागि सम्भ्रान्तीय सपनाको सुगन्धित फूल थियो । बूढापकाहरूका लागि धर्म-संस्कृति र परम्पराको अवसानको अघोषित यात्रा थियो ।
नेपाल बसाइका क्रममा हामीले प्रेम, घृणा र सहानुभूति तीन चीज पाएका छौं । यी कुरा शरणार्थीलाई हेर्ने, मूल्याङ्कन गर्ने र अनुभूत गर्ने कुराले गर्दा फरकफरक ठाउँमा भिन्न-भिन्न रूपमा देखा परे । यहाँ एकथरी मान्छे छन्, जो भुटानीहरूलाई एक समय नेपालबाट गएका हाम्रा पिता-पुर्खाकै सन्तान हुन्, अहिले प्रकारान्तले एउटा देशको निरङ्कुश शासन व्यवस्थाको अन्याय, शोषण र दमनमा परेर उही पितृभूमि फर्किएका छन् भन्ने सम्झिन्छन् । तिनीहरू शरणार्थीलाई बन्धुत्व, सद्भाव र स्नेहले हेर्छन् । अर्काथरी मान्छे छन्, जो शोषण, दमनभन्दा पनि गरिबीको मारमा परेका भुटानीहरू, शरणार्थी क्याम्पमा सित्तैमा खान दिएको देखेर आएका हुन् भनी ठान्दछन् । त्यसपछि अर्को थरी मान्छे छन्, जो शरणार्थी जुनसुकै कारणले आए पनि यहाँ उनीहरूको आगमनको कारण वनविनाश भएको, वातावरणमा प्रतिकूल असर पारेको, सामाजिक विकृतिहरू भित्र्याएको, स्थानीय मजदुरहरूको रोजगारी खोसिदिएको भन्ने कुरा अघि सार्छन् अनि शरणार्थीलाई नकारात्मक आँखाले हेर्छन् । तिनको शरणार्थीप्रति सहानुभूति छैन । अझ अर्को थरी मान्छे छन्, शरणार्थीसँग सम्बद्ध कर्मचारी र असम्बद्ध केही स्थानीय जानेबुझेका तर दरिद्र चिन्तन बोकका । उनीहरू कुनै पनि बेला शरणार्थीलाई तिरस्कार गर्न, अवमूल्यन गर्न पछि पर्दैनन् ।
तर यी सबैमाझ यस्ता पनि मान्छे छन् नेपालमा, जसले शरणार्थी समस्या र त्यसको संवेदनशीलतालाई राम्ररी बुझेका छन्, जो मानवीय पीडालाई अनुभूत गर्न सक्छन् र भुटानीहरूको न्याय र स्वतन्त्रता प्राप्तिको लडाँइमा साथ, सहयोग र समर्थन गर्न चाहन्छन् ।
तिनीहरूको स्नेह नै शरणार्थीका लागि बाँच्ने एक प्रेरणा बनेको छ । शरणार्थी शिविरमा जति बसाइ लम्बिँदै गयो उति विकृतिहरू भित्रिँदै गए । शरणार्थी शिविरमा यौनदुराचार बढ्यो, लागूपदार्थ भित्रियो, जाँडरक्सी खाने र तासजुवा खेल्ने प्रवृत्तिमा बढोत्तरी भयो । सामाजिक विकृति, असुरक्षा तथा अन्य अवाञ्छित गतिविधिहरू भए । यी गतिविधि सबैले गरेनन् तर नाम बिक्यो सबै शरणार्थीको । यसले गर्दा शरणार्थी शिविरको छवि धुमिल बन्यो, सर्वत्र आलोचनाको घेरामा पर्न थाल्यो शरणार्थी समाज । यो लामो समयको शरणार्थी क्याम्पको खचाखच र पट्यारलाग्दो बसाइ, निकासहीनता, आर्थिक कठिनाइ, मानिसक पीडा र चिन्ता, असन्तुलित मनस्थिति र अन्योलग्रस्त परिस्थिति तथा व्यक्तिगत असंवेदनशीलताको परिणति हो । यसले गर्दा शरणार्थीलाई हेर्ने दृष्टि नकरात्मक बन्यो, बन्दैछ ।
हुन त हजारवटा राम्रा कुरा भए, तर एउटा नराम्रो भयो भने त्यही एउटा नराम्रो कुराले बढ्ता चर्चा पाउँदछ । शरणार्थी भनेर हेप्ने, होच्याउने, घृणा र तिरस्कार गर्ने, लाञ्छित र अपमानित गर्ने काम धेरै भयो हामीमाथि, नेपालका माथि उल्लिखित केही वर्गका मान्छेहरूबाट । पहिलो नम्बरमा शरणार्थीहरूलाई हेप्ने, अपमानित गर्ने अनि घृणा र तिरस्कारको नजरले हेर्ने मानिस भनेका शरणार्थीसँग सम्बद्ध रहेर विभिन्न सङ्घसंस्थामा काम गर्ने कर्मचारी हुन् । यी कर्मचारीमा पनि सबै पर्दैनन् । त्यसपछि स्थानीय केही सामन्ती र दरिद्र चिन्तन बोकेका मानिस । उनीहरूका नजरमा शरणार्थीहरू तुच्छ र निम्न दर्जाका मानिस हुन्, पशुसरह हुन् । उनीहरूका दृष्टिमा शरणार्थीहरू असभ्य छन्, उनीहरू केही जान्दैनन् । जतिसुकै पढेलेखेका भए पनि शरणार्थीहरूले उनीहरूको इसारामा चल्नुपर्ने, उनीहरूको हप्कीदप्कीमा हिँड्नुपर्ने । एउटै तहमा काम गर्ने नेपाली कर्मचारीको तलब-भत्ता शरणार्थी कर्मचारीको भन्दा दसदेखि बीस गुणा बढी दिने युएनएचसीआरको नीति पनि शरणार्थीहरूलाई हेप्ने, होच्याउन राम्रो औजार बन्यो धेरै ठाउँ ।
हेल्थपोस्टमा गयो सीएमएले थर्काउँछ, एम्बुलेन्समा चड्यो खलासीले सातो टक्टकाउँछ, चामल थाप्न गयो डिस्ट्रिब्युसनका कर्मचारीले गाली दिन्छ, आरसीयुकामा गयो नाङघुत्ते शब्दमा बोलाएर सोध्छ । शरणार्थी भएपछि सबै कुरामा मौनस्वीकृति हुनुपर्दो रहेछ । विनातलबभत्ता समाजसेवामा खटिएका कति शरणार्थी कर्मचारी पनि कम नापिएका छैनन् । कतिपय यिनीहरूमा भुटानको निरङ्कुशताको छाप अझै पनि गएको छैन यिनीहरू नेपाली कर्मचारीले टाउको हल्लाइदिए भने सारमा सार मिलाउदै पुच्छर हल्लाएर तिनको जयजयकार गर्दै फुरुङ्ङ हुन्छन् ।
नेपालको भ्रष्टाचारको रोग शरणार्थी क्याम्पमा पनि सरेको छ । जुनसुकै क्षेत्रमा पनि भ्रष्टाचार गर्नेलाई ठाउँ मिल्दो रहेछ । अहिले शरणार्थीहरूको तेस्रो देश पुनर्स्थापना कार्य अघि पढेपछि त झन् नेपाली कर्मचारीले शरणार्थीसँग राम्रैसँग सौदाबाजी गर्न थालेका छन् । वर्तमान स्थितिमा शरणार्थी क्याम्पको शिक्षा डामाडोल भएको छ, स्वास्थ्यसेवामा हुने गरेको लापरवाही, ढिलासुस्ती र उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले मानिसहरूलाई नराम्रो गरी पीडामाथि पीडा दिएको छ । अहिले पढेलेखा र बौद्धिकवर्ग जति पुनर्स्थापनामा गइसकेको सन्दर्भमा रहल शरणार्थीहरू झन् आवाजविहीन बनेका छन्, आफूले पाउने राहत-सुविधाका बारेमा पनि कुरा उठाउन नसक्ने अवस्थामा पुगेका छन् ।
पुनर्स्थापना कार्यक्रमका विविध आयाम छन् । तिनको विस्तृत विशलेषण गर्नतिर नलागौं । यस प्रक्रियाको थालनी भएपछि शरणार्थीहरूलाई अघि होच्याएर हेर्ने प्रवृत्ति र मानसिकतामा व्यापक परिवर्तन आएको देखिन्छ । हिजोसम्म अवमूल्यन गर्ने मानिसहरू अहिले- ‘अहो, तपाईंहरू त कति भाग्यमानी, अमेरिककाजस्तो देशमा जान पाउनुभयो ।’ भन्न थालेका छन् । उनीहरूको बोलीमा सम्मानको भाव छ । हिजो उनीहरूले जहाँ काँडा देखे, त्यहाँ आज गुलाफ फुलेको देख्न थालेका छन् । मान्छेको मनोविज्ञानले व्यावहारमा कति फरक पार्दो रहेछ !
शरणार्थी-जीवनका अनेक पाटा छन् । ती जतिजति खोतल्दै गयो, उतिउति उनँदै जान्छन् । शरणार्थी-जीवनको कथा भनेको पीडा र जलनको कथा हो, भोक, तिर्खा र अतृप्तिको कथा हो, असन्तुष्टि र अप्राप्तिको कथा हो ।
जब म हाई स्कुलको विद्यार्थी थिए, ती छाप्राहरूमा कैद भएर बस् मलाई पटक्कै मन पर्दैनथ्यो । कहीँ कतै जाऊँ र यो क्याम्पको कोलाहल, दरिद्रता र अभावबाट मुक्त होऊँ भन्ने लाग्थ्यो । त्यहाँ भन्ने नसकिने उकुस मुकुस, गुम्स्याहट र बन्धन थियो । सधैँ अर्काले नापेर दिएको निश्चित राहतमा बाँच्नुपर्दाको पीडा, पराधीनता र हीनताबोधको भावनाले म भित्र-भित्रै पिरोल्लिरहेको थिएँ ।
म एसएलसी सकेपछि त बाहिर निस्किन पाइन्छ भन्ने थियो तर एसएलसी सिध्याएर पनि अर्थ अभावको कारणले बाहिर जान नसकेको कुरा अघिल्लो अध्यायमा मैले उल्लेख गरिसकेको छु । उसबेला शरणार्थी-जीवनमा पीडा र घाउहरू बाहेक केही देख्तिनर्थं । युवा अवस्थामा हुने भावना, आकाङ्क्षा र चाहनाको चुली थियो, त्यसबखत मसँग । यद्यपि त्यहाँ त्यसको कुनै अर्थ थिएन । मेरो संसार भत्केको थियो, जलेको थियो । जतिजति पढ्दै र बुझ्दै गयो उतिउति मन फाटेर आउँथ्यो । यस्तो घोर निराशा, अन्योल र छटपटी भएको बेला मन बहलाउन मैले साहित्यको सहारा लिएँ । त्यसभित्र अलिक भिन्न संसार पाएँ । प्रेरणादायी संसार पाएँ । उज्यालो संसार पाएँ । वास्तवमा तिनै कुराले मलाई जिजीविषाको मोह सिकायो, सिर्जनाको नयाँ बाटो हिँड्न लगायो ।
जब म शरणार्थी क्याम्पभन्दा बाहिर गएर काम गर्न थालेँ, तब घर, गाउँ र देश नहुनुको वास्तविकताले अझ धेरै पिरोल्न थाल्यो । जहाँ गए पनि, जोसँग भेट भए पनि उही कुराबाट परिचय थालिन्छ, ‘तपाईँको घर कहाँ हो, पहाड कता हो ? यही कुराले मलाई बडो सङ्कटमा पार्थ्यो । घर कहाँ देखाउने, पुख्यौली थलो कहाँ देखाउने ? भरिसक्के परिचय ढाँटेर म भाग्न जोज्यँ । कहिले कुन ठाउँ देखायो, कहिले कुन । अरूअरू कुरा झिकेर उम्किन खोज्यो, बेलाबेला त चेपुवामा परिहालिन्थ्यो । क्याम्पभित्र बस्ता एक किसिमको पीडा हुने, बाहिर बस्ता अर्कै किसिमको । कहिलेकाहीँ त कति ढाँट्नु, सत्य बोल्ने दिन कहिल्यै आउँदैन कि भन्ने लाथ्यो ।
ढाँट्ने कला मसँग छैन । आकाश-पाताल जोडेर म कुरा गर्न सक्तिनँ । नेपालमा बस्तै लाँदा यहाँको इतिहास, भूगोल, संस्कृति, राजनीति, साहित्य धेरै कुराको जानकारी भयो मलाई । जुनसुकै कोणबाट कुरा गरे पनि त्यसको सामना गर्न सजिलै सक्थेँ । म भरसक व्यक्तिगत कुरा गर्न चाहन्नथें ।
नेपाल बसाइका क्रममा मैले धेरैवटा स्कुलमा काम गरेँ । ती स्कुलमा काम गर्दा त्यहाँका सञ्चालकहरूलाई कहिल्यै ढाँटिनँ । आफू भुटानी भएको वास्तविकतालाई लुकाइनें । त्यो लुकाउन सम्भव पनि थिएन किनकि विभिन्न कामका लागि समय-समयमा क्याम्प जानै पर्ने हुन्थ्यो, बिदा त माग्नुपन्यो नि । फेरि झापाभन्दा बाहिर काम गर्न पनि गइनँ अर्थात् शरणार्थी प्रभावित क्षेत्रभन्दा बाहिर गइनँ ।
विद्यार्थीहरूलाई सोझो रूपमा मैले आफ्नो भुटानी परिचय कहिल्यै दिइनँ । भरसक मैले मेरो बाल्यकाल, स्कुले जीवन र अन्य व्यक्तिगत
कुराकानी निकालिनँ म जति कुरा गर्थे, बाहिरी ज्ञान र पाठ्यक्रमका बारेमा मात्र कुरा हुन्थ्यो । कति विद्यार्थीले वास्तविकता थाहा पाउँथे, तर सोझै भन्न सक्तैनथे । कतिले थाहा पाएर पनि चुपचाप बस्थे । सायद उनीहरू मेरो मनोविज्ञान थाहा पाउँथे, त्यस कुराले मलाई पीडा हुन्छ भन्ने उनीहरूलाई जानकारी थियो । हामी भुटानी शिक्षकलाई पहिचान गर्न सजिलो माध्यम हुन्थ्यो, हाम्रो अङ्ग्रेजी । किन हो किन उनीहरू हामीले अङ्ग्रेजी बोलेको सहजै पहिचान गरिहाल्थे ।
प्रायः झापाबाहिर काम गर्नेहरू भने स्कुलमा परिचय ढाँटेरै पस्थे र जागिर खान्थे । यसरी ढाँट्नुपर्ने कारण हो, पहिलो स्थानीय बेरोजगार शिक्षकहरूको विरोधको सामना गर्नुपर्ने । दोस्रो शरणार्थीलाई कम तलबमा काम गर्न लगाउने मालिकहरूको चाल । तेस्रो शरणार्थी भनेपछि केही न केही नजरअन्दाज गर्ने, होच्याएर हेर्ने स्थानीयहरूको, अझ भनौँ आममानिसहरूको प्रवृत्ति । चौथो कतिपय विद्यार्थीहरूले शरणार्थी भनेर हिस्याउने, गिल्ला गर्ने र अटेरी गर्ने प्रवृत्ति देखिनाले पनि परिचय ढाँट्नु हाम्रो बाध्यता थियो । उनीहरू हाम्रो पीडाको आत्मसात गर्न सक्तैनन् । मेरो (हाम्रो) बुझाइ यही थियो, छ ।
यसै प्रसङ्गमा एउटा कुरा कोट्याउन मन लाग्यो । म अमेरिका जाने प्रक्रियामा संलग्न हुँदा बिर्तामोडको एउटा अङ्ग्रेजी बोर्डिङ्ग स्कुलमा कार्यरत थिएँ । त्यस स्कुलमा काम गरेको पनि सात वर्ष पुग्न लागेको थियो । मैले मालिकहरूलाई आफ्नो प्रक्रिया अघि बढिरहेको कुरा बताएको थिएँ । मेरो अमेरिका जाने समय आउन निकै बाँकी थियो । २०६९ सालको शैक्षिक सत्र अन्त भएपछि त्यस स्कुलका थपना मात्रका प्रिन्सिपलले बोलाएर अर्को सत्रभरि भ्याउनुहुन्छ भने काम गर्नुहोस्, नत्र हामी विकल्प खोज्छौं भने । वास्तवमा त्यो भनाइ उनको नभएर त्यसै विद्यालयका एकजना सैनिक स्वभाव र दरिद्र चिन्तन बोकेका मालिकको थियो । उनी शिक्षकलाई दाससमान व्यवहार गर्थे । त्यो व्यवहारको मैले खुलेरै धेरैचोटि भर्त्सना गरेको थिएँ ।
मैले त्यही स्कुलमा काम गर्दा दर्जनौं नेपाली शिक्षक आए, गए। उनीहरूलाई सर्त लागेन, सर्तले छेकेन । कोहीले त हप्ता/महिना पनि पुऱ्याएनन् । जब उनीहरूले अन्त अवसर प्राप्त गर्थे आजको भोलि निस्किएर जान्थे । त्यो सर्त त म शरणार्थी भएकै कारणले लागेको थियो, सत्य भनेकै कारणले लागेको थियो । त्यहाँ काम गर्दा हामी धेरै शरणार्थीले त्यही नियति भोग्नुप-यो । उनीहरूको हामीलाई हे दृष्टिकोण नेपाली शिक्षकलाईभन्दा भिन्न थियो । हामीलाई हेपाहा व्यवहार गर्थे । चुपचाप सहनुभन्दा हाम्रो विकल्प थिएन । अन्ततः मैले स्कुल छाडिदिएँ ।
हामीले पुर्खाको भूमिमै परायापनको अनुभूति गर्नुपर्यो । वनको बाघले खान थालेपछि मनको बाघले झन् बढ्ता कोपर्दो रहेछ । एक हिसाबले आफ्नै अस्तित्व अस्वीकार गर्न बाध्य थियाँ हामी । वास्तविक कुरा लुकाएर बस्नु जति गाह्रो दुनियाँमा केही हुँदैन । कहिलेकाहीँ त ढाँट्ता-ढाँट्ता वाक्क लाग्ने । कहिले क्याम्प फर्किएर जानुजस्तो लाग्थ्यो । क्याम्पमा पुगेपछि निर्धक्क लाग्ने । त्यहाँ कोही परिचय सोध्न आउँदैनथ्यो । सबैको उही पीडा, उही व्यथा । छुट्टै संसारमा पुगे लाग्ने, आफ्नै दुनियाँमा रमेझैँ लाग्ने । धेरै बसेपछि त जति कष्ट भए पनि त्यो ठाउँको माया स्वतः जाग्दो रहेछ । कताकता तिनै झुपडीको माया लाग्थ्यो । घर भन्ने कुरा झुपडी वा महल होइन, त्यसभित्रको पारिवारिक माया, प्रेम र सद्भाव रहेछ । क्याम्पबाहिर धेरै दिन बसेर घर फर्किंदा यस्तै अनुभूति हुन्थ्यो ।
तथापि शरणार्थी क्याम्पको बसाइ साँच्चै नै टीठ लाग्दो थियो, छ । बाक्लो बसाइ विभिन्न किसिमका रोग लाग्ने डर, आगलागी र हुरी- बतासको त्रास अनि पानीझरीको पिरलो उस्तै । धुँवा, धुलो, हिलो, मैलो । यी सबै बेहोरियो । शरणार्थी क्याम्पमा आगलागीको डरलाग्दो घटना गोलधापले बेहोरेको छ, त्यो पनि एकपटक होइन दुई-दुईपटक ।
सन् २००८ को मार्च १ को बेलुकी फेरि एकपटक भुटानी शरणार्थीको इतिहासमा विपत्ति, त्रास र पीडा दैत्यरूप लिएर देखा पन्यो । आगलागीको त्यो महासङ्ग्राम १३०४ वटा छाप्रालाई खरानी पारेर अलप भयो । अघिल्लो दिनसम्म ड्याम्म छाप्राले ढाकेको ठाउँ, टाढाका स्थानसम्म पनि त्यसको खरानी छरिएर पुगेको थियो । म बिर्तामोडमै बसे पनि त्यस रात त्यहाँ जान सकिनँ । भोलिपल्ट त्यहाँ पुग्दा एकैसाथ आगाले खाएको बीभत्स दृश्य अनि आँसु र रोदनमा मुछिएका अनुहारहरूको कारूणिक चित्र उपस्थित भयो । एउटा विपत्ति बेहोरिरहेका मानिसमाथि अर्को महाविपत्ति थपियो, प्रकृति पनि खरानी पल्टाउँदै कतै केही भाँडा कुँडा, गरगहना आदिको शेष पो कति निष्ठुरी, नियति पनि कति निर्दयी । आगो सेलाउँदै गएपछि भेटिन्छ कि भनेर खोज्दै गरेको दृश्य पनि देखिन्थ्यो । कोहीले त यति गहिरो गरेर खोजिरहेका थिए कि त्यही खरानीभित्र कतै आफ्नो भाग्य हराएको छ जस्तो ।
त्यो अकल्पनीय घटनाले उनीहरूको भएभरको झिटीमिटी र अमूल्य कागजातहरू सबै नष्ट पारी नङ्ग्याएर छाडिदियो । यो आगलागीमा पीडितलाई सहयोग गर्न स्थानीयवासी, स्कुल, कलेज, सामाजिक सङ्घसंस्था, व्यापारी, राजनीतिकर्मी सबै जुटेका थिए । अरू बेला जेजस्तो नजरले हेरे पनि विपत्तिको घडीमा हात बाँधेर बस्तैन नेपाली समाज भन्ने कुराको यो ज्वलन्त उदाहरण थियो । फेरि अर्कोपटक पनि गोलधापमा आगलागी काण्ड दोहोरियो, दुईवर्ष पछि । त्यसले एउटा प्रश्न उठ्यो आगो लाग्छ कि लगाइन्छ, शरणार्थी क्याम्पमा ? जे भए पनि उनीहरू तीनचोटि शरणार्थी हुन पुगे परिस्थितिले ।
शिरणार्थी-जीवनले धेरै कुरा खोसेर लग्यो, सुखसुविधा र सम्पन्नता अनि मानप्रतिष्ठा र प्राप्ति । फेरि शरणार्थी-जीवनले धेरै कुरा सिकाएको पनि छ । शरणार्थी-जीवनले अनिकालमा दुमो बाँच्न सिकायो । थोरैभित्र धेरै खोज्न सिकायो । दुःख, दर्द र घाउमा मलमपट्टी गर्ने तरिका सिकायो । तिरस्कार, अपमान र अपहेलना सहने बानी लगायो । सानो ठाउँमा कसरी पुऱ्याएर बस्न सकिन्छ भन्ने व्यवस्थापन विधि पढायो । नागरिक र अनागरिकबीचको अन्तर सिकायो । देश र झन्डा नहुनुको पाठ पढायो । सङ्घर्ष गर्ने सङ्कल्प सिकायो । यो शरणार्थी-जीवनको गन्धन गरीसाध्य छैन । यी यस्तै समस्या, आपत्-विपद् र दुःख-कष्ट झेल्दै शरणार्थी क्याम्पको रथ अघि बढिरह्यो, बढिरहेछ ।
अब यो लेखनको आखिरीमा आइपुगेको छु । यहाँ हामीलाई विपत्तिमा बास र सहारा दिने नेपाललाई नसम्झनु कति निठुयाइँ हो । नेपाल हाम्रो पुर्खाको भूमि । यही भूमिको कुनै डाँडाखोल्सामा भेटिएला कन्दरामा भेटिएला उनीहरूको अस्थिरपञ्जरका अवशेषहरू खोजी हाम्रा पितापुर्खाको सालनाल गाडिएको डोब्किला । यही भूमिको कुनै नियाल्दा । यही भूमिको कुनै उकाली-ओरालीमा भेटिएला उनीहरूले इतिहासमा छोडेका पदचापहरू, समयले बिरानो पारेका अस्पष्ट आकृतिहरू । त्यही पुख्यौली नाताले होला, आज शरणार्थीले पाउनेभन्दा बढ्तै माया दिएको छ नेपालले हामीलाई । विपत्तिमा बास दिने धन्य छ सगरमाथा, धन्य छ लुम्बिनी, धन्य छ मेची-काली ।