सन्तुष्टि गुमाएको मान्छे
खगेन्द्र गौतम
क्यानडा
म देश अनि भेष हराएको मान्छे
अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा
टाउकाभरिको केश हराएको मान्छे!
म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर,
थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य
हराएको मान्छे!
म पढ्दा-पढ्दै किताबका पानाहरु नै सकिएर
लेख्दा लेख्दै कलमको मसी नै सिध्दिएर
बोल्दा बेल्दै शब्द नै नपुगेर
शून्यतामा आफूलाई नै हराएको मान्छे!
म आफू-आफैँमा हराएको मान्छे!
कुन-कुन देशमा खोजौँ आफूलाई?
कुन-कुन भेषमा खोजौँ आफूलाई?
कुन-कुन भाषामा खोजौँ आफूलाई?
म यिनै अनुत्तरित प्रश्नहरूको सागरमा हराएको मान्छे!
सत्य त आखिर एउटै रैछ!
देश भन्नु नै त केवल माटो रैछ
भेष भन्नु नै त केवल वस्त्र रैछ
भाषा भन्नु नै केवल शब्द त रैछ
धर्म भन्नु नै सेवा मात्र रैछ।
यी सब त जहाँ पनि मिल्छ!
कस्तो ‘म’ ?
सब थोक पाएर पनि सन्तुष्टि
गुमाएको मान्छे!!