साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

कवि
कवि

दुर्गाप्रसाद रिमाल
अल्बेरी, अस्ट्रेलिया

देश भनेको भूगोल हो कि
देश भनेको माटो हो कि
देश भनेको क्षेत्रफल हो कि
देश भनेको पर्खाल हो कि
देश भनेको के हो .. ?

मेरा हजुरबाले एउटा देशमा राजाको चाकडी गरे
मेरा बा’ले अर्को देशमा शरणार्थीको उपमा पाए
म तेस्रो देशमा आप्रवासी भएर बाँचिरहेको छु
जीवनले धेरै बुझायो तर एउटा कुरा कहिल्यै बुझ्न सकिनँ
साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

देशको अस्तित्व कति हुन्छ ?
भूगोलको क्षेत्रफल कति हुन्छ ?
माटोको माया कति हुन्छ ?
समयको पर्खाई कति हुन्छ ?
जातिको आयु कति हुन्छ ?

म जहाँ जन्में, त्यहाँ पनि देश थियो
जहाँ शरणार्थी भएँ, त्यहाँ पनि देश थियो
आज जहाँ बाँचिरहेको छु, त्यहाँ पनि देश छ
तर पनि एउटा कुरा मैंले कहिल्यै बुझ्न सकिनँ
साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

मैंले तीनवटा जीवन तीनवटै देशमा बाँचेको छु
लाग्छ, मेरो आयु अरूकोभन्दा तेब्बर हुनु पर्ने हो
लाग्छ, मेरो देश एउटाभन्दा धेरै हुनु पर्ने हो
तर यो सम्भव भएन र अझै पनि बुझ्न सकिनँ
साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

Don't have a Facebook account? Please, use the form below with other options!