बलडाँगी

बलडाँगी

दिल भूटानी
बेलडाँगी, नेपाल

एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ
छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर
बेलडाँगी मुस्कुराउँछ।

सायद डोकोमा अड्किएन भाग्य र
देश नभएको गाउँमा बेवारिस बसेिरहेको छ।

जति गरिब देखिन्छ बेलडाँगी
वास्तवमा त्यति गरिब छैन बेलडाँगी।
बेलडाँगी जति अभावमा बाँचेको छ
त्यति नै अरूलाई बचाएको छ।

बेलडाँगीको आयतन ठूलो छ
यहाँका मानिसको हृदय विशाल छ।

साग आयो साग आयो भन्नेको
मुठ्ठा मुठ्ठा साग किनिदिन्थ्यो।
गुन्द्रुक गुन्द्रुक भन्नेको एक पोका गुन्द्रुक किन्थ्यो।
एक मुठ्ठा फर्सीको मुन्टा किन्थ्यो।
दाउरा दाउरा भन्नेको दाउरा किन्थ्यो।
दूध दही किन्थ्यो।

घाम उदाउँदादेखि घाम अस्ताउँदासम्म
बेलडाँगी किनिरहन्थ्यो।
सायद बेलडाँगी एउटा व्यापारिक केन्द्र थियो।

अहिले खाएर भरे के खाऊँ भन्थ्यो बेलडाँगी
अनि आफू जस्तै अहिले खाएर भरे के खाऊँ भन्नेहरूलाई पनि
बेलडाँगी आफैँ बचाउँथ्यो।
यसरी बेलडाँगी सबैको जीविका चलाउँथ्यो।
बाँससँग मट्टितेल साट्थ्यो।
सातुसँग गोबर साट्थ्यो।
श्रमसँग पैसा साटेर जीवन चलाउँथ्यो।
यसरी बेलडाँगी बाँचेको थियो।

बेलडाँगीले
गरिबलाई गाँस दियो।
धनीलाई अझ धन दियो।
व्यापारीलाई व्यापार दियो।

बेलडाँगीले दिने जति सबै दिएर
यसो टाउको उचाल्छ
ऊसँग ठन्डीमा लगाउने कपडा हुँदैन।
तुसारो/उस्सोसँगै चिसिन्छ।
हात कठ्याङ्ग्रिन्छन् अगेनोमा सेकाएर रात कटाउँछ।

न ऊसँग गर्मीमा लगाउने एउटा पङ्खा छ।
साँघुरो कोठामा नाङ्गै भुइँमा एता उता पल्टिन्छ।
पसिना गम्छाले पुछ्छ र यसो निदाउँछ।
कहिले निदाउन नपाई उज्यालो हुन्छ।
यसो झ्यालबाट चियाउँछ र आँखा मिच्दै उठ्छ।

जतिबेला खचाखच थियो शिविर
बेलडाँगी चराहरूसँगै उठ्थ्यो।
चराहरूसँगै आफ्ना बच्चाहरूलाई चारो खोज्न निस्किन्थ्यो।
अनि चराहरूसँगै सुत्थ्यो।

बर्खा लाग्छ बेलडाँगी पानीको सङ्गीतमा सुत्छ।
कहिले बोटुको थाप्छ, कहिले थाल थाप्छ र
यस्तै धुनमा निदाउँछ, निद्रामै कानमा पानी चुहिन्छ।
बेलडाँगी पानीको धुनमा सुत्छ।

अन्याय र हिंसाको सिलौटोमा पिसिएर
समयसँगै दौडिरहेको बेलडाँगीलाई
हरेक साँझ-बिहान भुकरीको धुवाँले
भुँडीलाई भोक लागेको सूचना बजाउँथ्यो।

बेलडाँगी घामसँगै मुस्काउँथ्यो।
ताराहरूसँगै सुत्थ्यो।
झरीसँगै रुझ्थ्यो।
यसरी बाँचेको हो बेलडाँगी।

अहिले चाउरी परेका छन् छाप्राहरू।
कुर्दा कुर्दै बुढा भएका छन् वैँसहरू।
तर पनि बेलडाँगी उभिरहेको छ।

बेलडाँगी पर्खनेहरूको बस्ती हो।
यहाँ के लेख्नु पर्खनेहरूका पीडा।
पर्खिँदा पर्खिँदा घाम अस्ताउने समय भयो
तर भएन अहिलेसम्म बेलडाँगीलाई कुनै न्याय।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *