भुईँमान्छेको कविता

तुम्बेहाङ लिम्बू
बेलडाँगी, नेपाल

 

जब कविले
एक हरफ कविता लेख्छ
कसैको दिमागमा
आठ रेक्टर स्केलको भूकम्प जानुपर्छ
त्यो कविता
साँचो अर्थमा भुईँमान्छेको कविता हुन्छ
साँचो अर्थमा भुईँमान्छेको कथा हुन्छ
ऐरेगैरे कविता त
सोख पुरा गर्न वा
कवि हुने रहर मेटाउन लेखिएको हुन्छ ।

शासक रिझाउने कविता
प्रेमिका फकाउने कविता
यस्ता कविता
अघाएका कविका कविता हुन्,
भोकाएका कविका कविता त
कतै आगो जस्तो हुन्छ
कतै काउछो जस्तो हुन्छ
कतै तेजाब जस्तो हुन्छ
जुन देखेर सत्ता हरदम डराउँछ
जुन पढेर सिंहासन हरदम डगमगाउँछ
र रातैपिच्छे ऐठन परेर चिच्याउँछ ।

यहाँ म
भुईँमान्छेको कविताको कुरा गर्दैछु
किनारीकृतहरुको कविताको कुरा गर्दैछु
जुन कविताले युगचेत बोकेर आउँछ
जुन पङ्क्तिले दबाइएको आवाज लिएर आउँछ
जुन सर्गले जनमानसमा आगो सल्काएर जान्छ
वास्तवमा त्यस्तो कविताले
मान्छेको मथिङ्गलमा
आठ रेक्टर स्केलको भूकम्प पैदा गर्छ
अनि दुई दिनसम्म दिमाग हल्लाएर जान्छ ।

त्यस्तो कविता पो
साँचो अर्थमा युगले मागेको कविता हो
समयले मागेको कविता हो
समाजले मागेको कविता हो
ऐरेगैरे कविता त
सोख पुरा गर्न वा
कवि हुने रहर मेटाउन लेखिएको हुन्छ ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *