हाम्रो एउटै बन्दना

१
नीलो आकाशसरी कान्ति छ हाम्रो,
परहितकारी शान्ति भावना राम्रो।
प्रभातमा हरियो पल्लव फर्फराउँदै,
शशि–सूर्य कान्तिमा नयन बढाउँदै।
२
माता–पितामा भक्तिभाव राखौँ,
गुरु–लामा ,ङोपा, श्रद्धाभाव राखौँ।
शिक्षा–ज्ञानले चेतना जगाऔँ,
भाषा–विरासतको गौरव गाऔँ।
३
संसार हाम्रो घरबार हो यही,
दस देशमा शाखा–परिवार त्यही।
आफ्नो पहिचान सधैँ जगाऔँ,
नेपाली भाषामा रचना बसाऔँ।
४
भाषा हाम्रो पुर्खाको नासो हो,
संस्कृतिको अमूल्य आभास हो।
पुस्तौँ–पुस्तासम्म ज्योति सारौँ,
नेपाली वाणीले संसार उज्यालो पारौँ।
५
बन्धुत्वको भाव हृदयमा राखौँ,
सनातन संस्कार जीवनमा राखौँ।
विश्वलाई आफ्नो परिवार मानौँ,
कल्याणकारी कर्ममा जीवन जानौँ।
६
भूटानदेखि दस देश फैलिएका,
प्रेम–सेवाको मार्ग लिएका।
भाषा–संस्कृति जोगाउँदै जाऔँ,
विश्व–परिवारमा एकता बचाऔँ।
७
जहाँ–जहाँ शाखा, त्यहाँ हाम्रो नाता,
मानवता बनोस् प्रेमको छाता।
सत्य–शान्तिको सन्देश सुनाऔँ,
सद्भाव बोकी संसार सजाऔँ।
८
शिक्षाको ज्योति घर–घर बालौँ,
ज्ञान–विवेकले जीवन उचालौँ।
बाल–युवामा संस्कार भरौँ,
असल होस् कर्मको बाटो धरौँ।
९
पशु–प्राणीप्रति करुणा जगाऔँ,
वन–वनस्पतिको संरक्षण गराऔँ।
प्रकृतिको काख हराभरा पारौँ,
बुद्धिमानी सदाचार अपनाऔँ।
१०
हाम्रो बन्दना विश्वभरि गुञ्जियोस्,
सत्कर्मको सुगन्ध चारैतिर फैलियोस्।
दस देश जोड्ने एउटै भावना रमाओस्,
विश्व–परिवारमा सुख–शान्ति छाओस्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *