इमानदारीको मौन पतन

साना सहुलियतहरू कसरी नैतिक सम्झौतामा बदलिन्छन्


डोना आचार्य
पेनसिल्भेनिया, अमेरिका

हामीमध्ये धेरैलाई लाग्छ, जीवनमा कहिल्यै हाम्रो इमानदारीको ठूलो परीक्षा आयो भने हामीले त्यो क्षण तुरुन्तै चिन्न सक्छौँ। कसैले झूट बोल्न भन्यो, चोरी गर्न भन्यो, कागजातमा गलत विवरण राख्न भन्यो वा आफ्नो पद अथवा पेशागत अधिकारको दुरुपयोग गर्न भन्यो भने हामी स्पष्ट रूपमा “हुँदैन” भन्न सक्छौँ भन्ने विश्वास हुन्छ। तर जीवनका धेरै नैतिक परीक्षा त्यति स्पष्ट भएर आउँदैनन्। कहिलेकाहीँ तिनको सुरुवात एउटा सामान्य अनुरोधबाट हुन्छ।

“यसपालि मात्रै गरिदिनुस् न।”

“चिनेकै मान्छे त हो।”

“यति सानो कुराले के फरक पर्छ र?”

“कसैलाई केही नोक्सान हुने होइन।”

“अहिलेको चलन नै यस्तै छ ।”

“सबैले यस्तै गर्छन्।”

पहिलो पटक साँच्चिकै केही नराम्रो नहुन पनि सक्छ। कसैले थाहा पाउँदैन पनि होला । तत्काल कसैलाई हानि भएको देखिँदैन। उल्टै आफूले कसैलाई सहयोग गरेको अनुभूति हुन पनि सक्ला । तर पछिल्ला केही वर्षका अनुभव, पढाइ र साहित्यसँगको संगतले मलाई बारम्बार एउटा प्रश्न गर्न बाध्य बनाएका छन् – इमानदारी आखिर कमजोर कसरी हुन्छ?

मलाई लाग्न थालेको छ इमानदारी प्रायः एकैपटक हराउँदैन। यसको क्षय बिस्तारै हुन्छ। भनिन्छ, “थोपा–थोपा मिलेर घैँटो भरिन्छ।” हामी यो उक्ति प्रायः बचत, मेहनत वा राम्रो कामको संचय बुझाउन प्रयोग गर्छौँ। तर यसको अर्को पाटो पनि छ। साना बहाना, साना अपवाद र साना नैतिक सम्झौता पनि थोपा–थोपा गरेर जम्मा हुन सक्छन्। एक दिन आफू पहिले उभिएको ठाउँबाट कति पर आइपुगियो भन्ने थाहै नहुन सक्छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत म यस्तो द्वन्द्व कहिलेकाहीँ राम्ररी अनुभव गर्छु । कसैले आफ्ना साथी वा चिनजानका व्यक्तिका लागि उचित मूल्याङ्कनबिनै औषधि लेखिदिन अनुरोध गर्न सक्छ। विशेष गरी एन्टिबायोटिकको कुरा हुँदा यस्तो आग्रह सामान्य सहयोगजस्तो सुनिन सक्छ—मान्छेलाई गाह्रो भइरहेको छ, स्वास्थकर्मीसंग तत्काल अपोइन्टमेन्ट पाउन समय लाग्छ, तपाईंले त सजिलै लेखिदिन सक्नुहुन्छ।

तर औषधि लेख्नु भनेको केवल कम्प्युटरमा केही क्लिक गर्नु मात्र होइन। वास्तविक समस्या के हो? एन्टिबायोटिक चाहिने अवस्था हो कि होइन? अर्को गम्भीर समस्या छुटिरहेको त छैन? एलर्जी, औषधिको रिएक्सन , प्रतिरोध वा फलोअपको आवश्यकता के छ? यी सबै उपचारकै विधि हुन्। त्यस्तो अनुरोध गर्ने व्यक्तिले प्रायः “आफ्नो पेशागत नैतिकता छोडिदिनुस्” भन्दैन। कुरा सहयोग, मित्रता, दया वा सुविधाको भाषामा आउँछ। अनि सीमा कायम राख्ने व्यक्ति नै कठोर वा असहयोगी देखिन सक्छ। त्यसैले कहिलेकाहीँ प्रश्न “म सहयोग गरूँ कि नगरूँ?” मात्र हुँदैन। अझ महत्वपूर्ण प्रश्न हुन्छ—सहयोगको नाममा मलाई कुन सिद्धान्तलाई अपवाद बनाउन भनिँदैछ?

यो स्वास्थ्य सेवामा मात्र लागू हुँदैन। कार्यालयको खर्च अलिकति बढाएर लेख्नु, साथीका लागि संस्थाको सुविधा प्रयोग गर्नु, काममा हाँजिर नभएको व्यक्तिलाई कागजमा भने उपस्थित देखाइदिनु, आफूले चिनेको मानिसका लागि अरूले नपाउने छुट दिनु आदि। यी कुनै पनि कुरा सुरुमा ठूलो नैतिक संकटजस्ता देखिँदैनन्। तर नैतिक सीमा सधैँ ठूलो छलाङ मारेर पार हुँदैन। कहिलेकाहीँ हामी त्यतातिर स-साना पाइला चालिरहेका हुन्छौँ। व्यवहारगत नैतिकता अध्ययन गर्ने एन टेनब्रन्सेल र डेभिड मेसिकले निर्णयको नैतिक पक्ष बिस्तारै हाम्रो दृष्टिबाट हराउँदै जाने प्रक्रियालाई नैतिक धुमिलीकरण (ethical fading) भनेका छन्। उनीहरूले आत्मछल, भाषाको पुनःपरिभाषा र क्रमिक निर्णयले कुनै कामको नैतिक पक्षलाई चेतनाबाट ओझेल पार्न सक्ने चर्चा गरेका छन्। सरल भाषामा भन्नुपर्दा, “यो सही हो कि गलत?” भन्ने प्रश्न पृष्ठभूमिमा जान्छ र त्यसको ठाउँ सुविधा, नतिजा, सम्बन्ध वा स्वार्थले लिन थाल्छ।

पहिले हाम्रो प्रश्न हुन्छ—“यो सही हो?”

पछि कहिलेकाहीँ प्रश्न फेरिन्छ—“यसलाई सही भनेर कसरी बुझाउन सकिन्छ?”

यी दुई कुरा उस्तै होइनन्। पहिलो प्रश्न सिद्धान्तबाट सुरु हुन्छ। दोस्रो कहिलेकाहीँ हामीले पहिल्यै चाहेको नतिजाबाट सुरु हुन्छ र त्यसलाई जायज देखाउने कारण पछि खोज्छ। त्यो अवस्थामा हामी आफैँलाई सम्झाउन निकै सिपालु हुन्छौँ—यसपालि मात्रै हो; कसैलाई हानि भएन; नियम नै व्यावहारिक थिएन; मैले त सहयोग गरेको हुँ; अरूले पनि यस्तै गर्थे। हामीकहाँ “नाच्न नजान्ने आँगन टेढो” भन्ने उखान पनि छ। कहिलेकाहीँ आफ्नै निर्णयलाई जाँच्नुभन्दा परिस्थिति, नियम वा अर्को व्यक्तिमाथि दोष सारेर आफूलाई बुझाउन सजिलो हुन्छ।

अर्को परिचित उखान छ—“सिधा औँलाले घिउ निस्कँदैन।”

व्यावहारिक जीवनमा यसमा बुद्धि पनि छ। एउटै उपायले काम नगरे अर्को बाटो सोच्नुपर्छ। हरेक समस्या एउटै विधिले समाधान हुँदैन। तर यही भनाइलाई नैतिक निर्णयमा जस्ताको तस्तै उतार्दा समस्या आउन सक्छ। सीधा र पारदर्शी बाटोबाट आफूले चाहेको नतिजा नआएपछि नियम घुमाउनु, केही तथ्य लुकाउनु वा अर्को व्यक्तिको अधिकार प्रयोग गर्नुलाई “अलिकति चलाखी” भनेर बुझाउन सजिलो हुन्छ। त्यसो त हरेक बाङ्गो औँला बुद्धिमानी हुँदैन। कहिलेकाहीँ त्यो आफ्नो मनमा निर्दोष बनाइएको पहिलो सानो सम्झौता पनि हुन सक्छ।

ड्यान अरेलीको द (अनेस्ट) ट्रुथ अबाउट डिस् अनेस्टी पढ्दा यही मानव प्रवृत्तिलाई बुझ्ने अर्को दृष्टिकोण भेटिन्छ। पुस्तकको एउटा मूल विचार के हो भने मानिसले केही अनुचित फाइदा लिँदै गर्दा पनि आफूलाई आधारभूत रूपमा इमानदार व्यक्ति ठानिरहन सक्छ। यही कारणले मलाई एउटा कुरा विशेष महत्वपूर्ण लाग्छ—हाम्रो व्यवहार हाम्रो आफ्नै नजरमा रहेको चरित्रको छविभन्दा छिटो बदलिन सक्छ।

हामी आफूलाई उही व्यक्ति ठानिरहेका हुन्छौँ, तर आफ्नो व्यवहारको सीमा भने अलि–अलि सर्दै गएको हुन सक्छ। आफूले भविष्यमा कस्तो व्यवहार गर्छु भन्ने अनुमान र वास्तविक निर्णयको क्षणमा गर्ने व्यवहारबीच फरक पर्न सक्ने कुरालाई टेनब्रुसल र सहकर्मीहरूले ethical mirage को अवधारणामार्फत पनि छलफल गरेका छन्।

साहित्यमा देखिने यही संस्कार 

हालै अलेक्जान्द्र ड्युमाको द काउन्ट अफ मोन्टे क्रिस्टो नामक श्रव्य पुस्तक सुन्दा बारम्बार यही कुरा सोचिरहेँ। यस पुस्तकमा प्रयुक्त एक पत्र एडमन्ड डान्टेसको जीवन एउटै व्यक्तिको एउटै ठूलो दुष्कर्मले मात्र ध्वस्त हुँदैन। धेरै मानिसले फरक–फरक कारणले आफ्नो नैतिकताको एउटा अंश छोड्छन्। त्यस्तै डाङ्लारलाई ईर्ष्याले चलाउँछ। फर्नान्डलाई आफ्नो इच्छा पूरा गर्नुछ। कादरुसलाई गलत भइरहेको थाहा हुन्छ, तर रोक्ने साहस हुँदैन। भिलफोर्टसँग अन्याय रोक्ने अधिकार र अवस्था बुझ्ने क्षमता दुवै हुन्छन्, तर आफ्नो भविष्य, प्रतिष्ठा र पारिवारिक स्वार्थ जोगाउनु निर्दोष व्यक्तिलाई न्याय दिनुभन्दा ठूलो बन्न पुग्छ।

उनीहरू सबै एउटै कारणले गलत बाटो लिँदैनन्। कसैलाई महत्वाकांक्षाले चलाउँछ, कसैलाई लोभले, कसैलाई डरले। कसैलाई केवल मौन बस्नु सजिलो लाग्छ। र प्रत्येकसँग आफूलाई बुझाउने एउटा कथा हुन्छ—मैले सुरु गरेको होइन; मसँग विकल्प थिएन; म आफ्नो भविष्य जोगाउँदै थिएँ; त्यो मेरो जिम्मेवारी थिएन; मैले त केही गरेको नै छैन। इमानदारी हामीले गरेको कामबाट मात्र कमजोर हुँदैन; हामीले बारम्बार नदेखेजस्तो गरेको कुराबाट पनि कमजोर हुन सक्छ।

तर द काउन्ट अफ मोन्टे क्रिस्टो को नैतिक गहिराइ अरू पात्रको कमजोरीमा मात्र छैन। ड्युमा ले अन्ततः डान्टेस लाई पनि प्रश्नको घेराभित्र ल्याउँछन्। डान्टेसमाथि भयंकर अन्याय भएको थियो। उसको रिस जायज थियो। उसलाई नष्ट गर्ने मानिसहरू जवाफदेही हुनुपर्ने कारण थिए। तर शक्ति, सम्पत्ति र असाधारण योजना बनाउने क्षमता पाएपछि उसले अरूको जीवनलाई आफ्नो बदलाको योजनाको साधन बनाउन थाल्छ। न्याय र प्रतिशोधबीचको सीमा धमिलो हुन्छ। पाठकका रूपमा हामीलाई पनि केही समय त्यो बदला रमाइलो लाग्छ। हामी उसले जितोस् भन्ने चाहन्छौँ। त्यसैले ड्युमा ले उठाएको प्रश्न अझ असहज हुन्छ—आफू अन्यायको सिकार भएको तथ्यले पछि आफूले गर्ने हरेक कामलाई स्वतः न्यायपूर्ण बनाउँछ त?

सधैँ बनाउँदैन। इमानदारी लोभ र डरले मात्र क्षीण हुँदैन। कहिलेकाहीँ “म नै सही छु” भन्ने पूर्ण विश्वासले पनि विवेकलाई साँघुरो बनाउन सक्छ। नाथानियल हथर्न को द स्कार्लेट लेटर मा रोजर चिलिङवर्थको यात्रा पनि मलाई यही कारणले रोचक लाग्छ। उसलाई वास्तविक चोट पुगेको हुन्छ, तर बिस्तारै त्यो चोटको प्रतिक्रिया बदला बन्छ र बदला उसको जीवनको उद्देश्य मात्र नभई चरित्रकै हिस्सा बन्न पुग्छ। पीडा वास्तविक हुन सक्छ। अन्याय पनि वास्तविक हुन सक्छ। तर त्यसको जवाफ हामी कसरी दिन्छौँ भन्ने नैतिक प्रश्न छुट्टै रहन्छ।

देख्नेहरूको भूमिका

केही समयअघि एउटा सामुदायिक कार्यक्रमका लागि हल बुक गर्ने क्रममा त्यहाँकी एक महिलाले अघिल्लो कार्यक्रमको एउटा घटना सुनाइन्। कार्यक्रममा आएका एक जना वयस्क व्यक्तिले बियरका क्यानहरू गोजीमा लुकाएर लगेछन्। सामान व्यवस्थापकले सातवटा क्यान हराएको भनेपछि सीसीटीभी फुटेज हेरिएको रहेछ। आर्थिक क्षति ठूलो नभएकाले उनीहरू प्रहरीमा जान चाहँदैन थिए। त्यो त बुझ्न सक्ने कुरै हो नि कतिपय अवस्थामा आर्थिक क्षतिको मूल्याङ्कन गरेर मात्र प्रहरीको रिपोर्ट पनि बन्ने हुँदो हो। तर मलाई रोचक लागेको कुरा त अर्कै थियो। उनीहरू ती व्यक्तिलाई व्यक्तिगत रूपमा सम्झाउन वा कुरा गर्नसमेत हिचकिचाइरहेका थिए।

सार्वजनिक रूपमा बेइज्जत गर्ने वा ठूलो सजाय दिने आवश्यकता थिएन। सामान लगेको देखिइसकेको छ, यस्तो व्यवहार स्वीकार्य छैन र फेरि दोहोरिए परिणाम राम्रो हुनेछैन भन्ने एउटा भद्र तर स्पष्ट सन्देश नै काफी हुन सक्थ्यो। तर त्यति भन्न पनि उनीहरू हिचकिचाइरहेका थिए। त्यस घटनाले मलाई सोच्न बाध्य बनायो —कुनै सीमा मिचियो र कसैले त्यसलाई सीमा मिचिएको भनेर नाम नै दिएन भने, त्यो सीमा कति समयसम्म सीमा रहन्छ? मौनता सधैँ समर्थन होइन। कहिलेकाहीँ मानिसहरू झगडा चाहँदैनन्। कहिलेकाहीँ असहज हुन्छन्। कहिलेकाहीँ दया गर्छन्। तर मौनताले पनि एउटा सन्देश दिन सक्छ—देखियो, तर सहियो। जवाफदेहिता सधैँ सजाय होइन। कहिलेकाहीँ “हामीले के भयो देख्यौँ, यो स्वीकार्य थिएन, फेरि नहोस्” भन्नु नै पर्याप्त हुन सक्छ। सानो समस्यालाई बेलैमा सम्बोधन नगरी ठूलो भएपछि मात्र उपाय खोज्नु त “आगो लागेपछि कुवा खन्नु” जस्तै हुन सक्छ।

यही प्रश्न धेरै सामान्य निर्णयमा पनि आउँछ। केही समय अघि परिवारसँग नेपाल र भारत यात्रा गर्ने तयारीका क्रममा खर्च कम गर्ने विभिन्न उपायबारे कुरा भइरहेको थियो। यात्रामा बचत गर्न खोज्नु स्वाभाविक हो। होटल, सवारी, खाना—जहाँ उचित रूपमा पैसा जोगाउन सकिन्छ, त्यहाँ किन नजोगाउने? यही क्रममा स्थानीय चालक वा चिनजानको व्यक्तिमार्फत बसोबासको व्यवस्था गर्दा सस्तो पर्न सक्छ भन्ने सुझाव आयो।

सुझाव आफैँमा गलत थिएन। तर मलाई अर्को कुरा पनि सोच्न मन लाग्यो—व्यवस्था कसरी भइरहेको छ? कसको नाम वा ठेगाना प्रयोग हुन्छ? राहदानी वा व्यक्तिगत विवरण कसले राख्छ? यदि स्थानीय र विदेशी पाहुनाका लागि फरक दर्ता वा शुल्क छन् भने ती नियम पालना भइरहेका छन् कि छैनन्? हाम्रो जानकारी प्रयोग गरेर हामीलाई थाहा नभएको अर्को फाइदा लिइँदै त छैन? पछि विवाद आयो भने जिम्मेवारी कसले लिन्छ?

यी सबै प्रश्नको उत्तर पूर्ण रूपमा ठीक हुन सक्छ। महत्वपूर्ण कुरा उत्तर गलत होला भन्ने अनुमान होइन। महत्वपूर्ण कुरा प्रश्न गर्न नछोड्नु हो। खर्च जोगाउने उत्साहले पारदर्शिता, सुरक्षा र जिम्मेवारीबारे सोच्ने क्षमता ओझेल पार्नु समस्या हुन सक्छ। सावधानी र अविश्वास एउटै कुरा होइनन्। व्यवस्था सही र पारदर्शी छ भने त्यसलाई खुला रूपमा बुझ्न र बताउन सकिनुपर्छ। कुनै व्यवस्था कसरी गरिएको हो भनेर होटल, अधिकारी वा आफूले सम्मान गर्ने व्यक्तिलाई खुलस्त भन्नै असहज हुन्छ भने सस्तो हुनु मात्रै त्यसलाई उचित ठहर्‍याउन पर्याप्त कारण नहुन सक्छ।

अपवाद र संस्कार 

व्यक्तिमा हुने यही प्रक्रिया संस्थामा पनि देखिन्छ। समाजशास्त्री Diane Vaughan ले NASA को Challenger दुर्घटनाको अध्ययन गर्दा पछि व्यापक रूपमा normalization of deviance भनेर चिनिएको प्रक्रिया विश्लेषण गरिन्। उनको अध्ययनको महत्वपूर्ण पक्ष के थियो भने दुर्घटनालाई केवल केही खराब मानिसले जानीजानी सुरक्षा नियम बेवास्ता गरे भन्ने कुराले समेट्दैन। समस्याजनक संकेतहरू दोहोरिँदै जाँदा र तत्काल विनाशकारी परिणाम नआउँदा ती असामान्य अवस्थालाई बिस्तारै स्वीकार्य ठान्ने संस्थागत प्रक्रिया विकसित भएको थियो।

सामान्य कार्यस्थलमा यसको रूप धेरै सानो हुन सक्छ। एउटा छोटो बाटो लिइयो। काम चल्यो। फेरि लिइयो। केही भएन। कसैले प्रश्न उठायो। उसलाई भनियो—“धेरै सोच्नुभयो।”केही समयपछि अपवाद परिचित बन्छ। परिचित कुरा सामान्य बन्छ। अन्ततः “हामीले यो गर्नु हुँदैन” भन्ने व्यक्ति नै समस्या जस्तो देखिन थाल्छ। भनिन्छ “जस्तो संगत, उस्तै रंगत।” यो साथीभाइमा मात्र लागू हुँदैन। संस्था र समुदायमा पनि लागू हुन्छ। जहाँ नियम मिच्नु सामान्य छ, त्यहाँ नयाँ आउने व्यक्तिले पनि बिस्तारै त्यसैलाई काम गर्ने सामान्य तरिका ठान्न सक्छ। Max Bazerman र Ann Tenbrunsel ले Blind Spots मा पनि व्यक्ति र संस्थाले आफूलाई नैतिक ठानिरहँदा व्यवहार भने आफ्नै घोषित मूल्यसँग नमिल्न सक्ने समस्यामाथि चर्चा गरेका छन्।

भित्तामा Integrity, Respect, Transparency लेख्नु सजिलो छ। संस्थाको वास्तविक मूल्य भने उसले व्यवहारमा के सहन्छ भन्ने कुराले देखाउँछ। गल्ती गर्ने व्यक्ति सुरक्षित हुन्छ कि प्रश्न उठाउने व्यक्ति? साथीका लागि नियम मोडिन्छ कि सबैका लागि एउटै मापदण्ड हुन्छ? गल्ती स्वीकार गर्न प्रोत्साहन गरिन्छ कि लुकाउन? संस्कृति घोषणापत्रले मात्र बन्दैन। दिनहुँ दोहोरिने व्यवहारले बन्छ। तर नैतिक क्षयबारे सोच्दा एउटा खतरा पनि छ। सबैभन्दा सजिलो काम अरू मानिसलाई सम्झनु हो—सीमा नमान्ने सहकर्मी, अनुपयुक्त अनुरोध गर्ने साथी, गलत कुरा देखेर मौन बस्ने नेता, आफ्नो फाइदाका लागि नियम मोड्ने व्यक्ति।

सायद ती सम्झना सही पनि हुन्। तर ऐना सधैँ अरूतिर मात्र फर्काइयो भने यस्तो चिन्तनको खास उपयोग हुँदैन। कठिन प्रश्न हो—मैले आफैँ कहिले यस्तो गरेको छु? कहिले सजिलो भएकाले कुनै कुरा नदेखेजस्तो गरेँ? कहिले समूहबाट अलग देखिन नचाहेर मौन बसेँ? कहिले आफूले चाहेको परिणाम पाउन नियमलाई आफ्नो पक्षमा व्याख्या गरेँ? कहिले “मेरो उद्देश्य राम्रो छ” भनेर आफ्नो तरिका जाँच्न छोडेँ? कहिले आफूलाई अन्याय भएको कारणले आफ्नो प्रतिक्रिया स्वतः उचित ठानेँ? हरेक सहुलियत गलत हुँदैन। हरेक नियम पनि राम्रो हुँदैन। दया, विवेक र लचकता नै नैतिक जीवनका आवश्यक अङ्ग हुन्। त्यसैले हरेक अपवादलाई अपराध ठान्नु समाधान होइन। तर कुनै निर्णयले मनमा हल्का असहजता ल्यायो भने केही प्रश्न उपयोगी हुन सक्छन्। मैले नचिनेको वा मन नपर्ने व्यक्तिका लागि पनि यही अपवाद बनाउँथेँ?मैले गरिरहेको काम आफूले धेरै सम्मान गर्ने व्यक्तिलाई पूर्ण रूपमा बताएँ भने सहज महसुस गर्थेँ?

यदि सबै मानिसले सधैँ यही काम गरे भने पनि मलाई यो उचित लाग्थ्यो? म सिद्धान्तबारे सोचिरहेको छु, कि आफूले चाहेको निर्णयलाई सही देखाउने कारण खोजिरहेको छु? र सायद सबैभन्दा महत्वपूर्ण प्रश्न— पहिले मलाई असहज बनाउने कुनै कुरा अहिले सामान्य लाग्न थालेको त छैन? सायद नैतिक क्षयको प्रारम्भिक चेतावनी यही हो। हामी चरित्रको ठूलो परीक्षालाई कुनै नाटकीय क्षणका रूपमा कल्पना गर्छौँ। तर त्यस्तो क्षण कहिल्यै नआउन पनि सक्छ। त्यसको सट्टा एउटा सानो सहयोग आउँछ। एउटा सुविधाजनक मौनता। एउटा अपवाद। एउटा बहाना। एउटा “यसपालि मात्रै।”

फेरि त्यही पुरानो उक्ति सम्झिन्छु—थोपा–थोपा मिलेर घैँटो भरिन्छ। प्रत्येक निर्णय एक्लै हेर्दा सानो हुन सक्छ। तर तिनले हामीलाई कुन दिशामा लैजाँदै छन् भन्ने कुरा सानो हुँदैन। इमानदारी एकपटक प्राप्त गरेपछि सधैँ सुरक्षित रहने वस्तु होइन। यो अभ्यास हो—सजिलो हुँदा पनि “हुँदैन” भन्न सक्ने अभ्यास; सबै जना अगाडि बढ्न चाहँदा असहज प्रश्न सोध्ने अभ्यास; सहयोग गर्नु र गलत व्यवहारलाई सहज बनाइदिनुबीचको भिन्नता छुट्याउने अभ्यास; कुनै व्यक्तिप्रतिको वफादारीले आफ्नो सिद्धान्तप्रतिको वफादारी त्याग्न मागिरहेको क्षण चिन्न सक्ने अभ्यास।

र अरूको व्यवहार जाँचेजस्तै आफ्नै व्यवहार पनि जाँच्ने अभ्यास। सायद हाम्रो इमानदारी जाँच्ने सही समय ठूलो नैतिक दुर्घटना भइसकेपछि होइन। त्यो समय धेरै पहिले आउँछ—जब सम्झौता अझै यति सानो हुन्छ कि निर्दोषजस्तो देखिन्छ; जब पहिले असहज बनाउने कुरा सामान्य लाग्न थाल्छ; जब हामीलाई आफ्नो ठाउँबाट धेरै टाढा जान भनिएको हुँदैन।

अन्ततः इमानदारी भनेको हामीले बारम्बार आफू केमा विश्वास गर्छौँ भनेर घोषणा गर्नु मात्र होइन। सायद यसको वास्तविक परीक्षा त्यो क्षणमा हुन्छ, जब मानिस, परिस्थिति वा हाम्रो आफ्नै मनले हामीलाई हामी उभिएको ठाउँबाट अलिकति सर्न भन्छ। र हामी त्यो सानो कदमले कहाँ पुर्‍याउन सक्छ भन्ने बुझेर— नसर्ने निर्णय गर्छौँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *